coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

अमेरिकी क्रेताको रोजाइमा नेपाली गार्मेन्ट

काठमाडौं – नेपाली तयारी पोसाकको प्रमुख बजार अमेरिकाका आयातकर्ताबाट प्राप्त प्रतिक्रियाले स्वदेशी गार्मेन्ट उद्योगीहरु निकै उत्साहित भएका छन्। अमेरिकी क्रेताले नेपाली तयारी पोसाकलाई आफूहरुले सधैं प्राथमिकतामा राखेको र भविष्यमा पनि राख्ने आश्वासन पाएपछि व्यवसायीहरु यो उद्योगलाई पुनर्जीवन दिन सकिनेमा निकै आशावादी देखिएका हुन्। 

संयुक्त राज्य अमेरिकाको लस भेगासमा आयोजित ट्रेड फेयरमा रहेको नेपाली तयारी पोसाकको स्टल अवलोकन गर्न आएका त्यहाँका व्यवसायीले नेपाली गार्मेन्टप्रति देखाएको चासोबाट आफूहरु निकै उत्साहित भएको नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष चण्डिप्रसाद अर्यालले बताए। ‘अमेरिकी बायर (क्रेता)हरु नेपाली गार्मेन्टप्रति यति सकारात्मक पाइयो कि फेरि पनि गार्मेन्टलाई मुलुकको एक नम्बर निर्यात वस्तु बनाउन सकिन्छ भन्ने विश्वास बढेको छ,’ अध्यक्ष अर्यालले बुधबार टेलिफोन कुराकानीका क्रममा भने। 

मेलामा सहभागी हिमालय कटन एन्ड फेसन इन्टरनेसनल प्रालिका प्रबन्ध निर्देशक बसन्त अधिकारीले पनि अध्यक्ष अर्यालको भनाइमा सहमति जनाए। अमेरिकी क्रेताबाट अपेक्षा गरेभन्दा राम्रो प्रतिक्रिया पाएको उनको भनाइ छ। ‘विश्वविख्यात रिटेल चेन वालमार्ट पनि नेपाली तयारी पोसाकप्रति निकै सकारात्मक छ,’ संघका कार्यसमिति सदस्य समेत रहेका अधिकारीले भने, ‘तर हामी हाम्रै कारणले पछि परेका छौं। हाम्रो उत्पादन लागत अन्यत्रको तुलनामा चर्को छ।’ अमेरिकी क्रेताले लागत कम गर्न सुझाएको अधिकारीको भनाइ छ। 

श्रमिकको लागत, भाडा, ऋणको ब्याजदर लगायतले नेपाली पोसाक महँगो छ। यसलाई घटाउने र सहुलियत ऋणको अवधि कम्तीमा एक वर्ष गर्ने हो भने अन्तर्राष्ट्रिय बजारमा मार्केटिङ गर्न सजिलो हुन्छ। 

–बसन्त अधिकारी, कार्यसमिति सदस्य, नेपाल तयारी पोसाक उद्योग संघ

अध्यक्ष अर्याल व्यापार, व्यवसाय सहानुभूतिका लागि नभई मुनाफाका लागि गरिने काम भएकोले लागत घटाउनैपर्ने बताउँछन्। अन्य मुलुककै हाराहारी लागतमा उत्पादन गर्न सके नेपाली तयारी पोसाकको लागि बजारको समस्या नहुने उनको बुझाइ छ। ‘जति पनि अमेरिकी व्यवसायी हाम्रो स्टलमा आए ती सबैको सुझाव र प्रतिक्रिया एउटै रह्यो,’  अध्यक्ष अर्याल थप्छन्, ‘लागत घटाउनुस् जति उत्पादन गरे पनि हामी किनिदिन्छौं भनेका छन्।’ 

नेपाली पोसाकको विशिष्टताले गर्दा यसलाई अमेरिकी क्रेताले प्राथमिकतामा राखेको अर्यालको भनाइ छ। नेपाली गार्मेन्टप्रति वालमार्टको रुचि पनि पहिले सरहनै पाइएको अर्यालले जानकारी दिए। 

संघका कार्यसमिति सदस्य अधिकारी गार्मेन्ट उद्योगको पुनर्जीवनका लागि सरकारले सहजीकरण गरिदिनुपर्ने बताउँछन्। श्रमिकको लागत, भाडा, ऋणको ब्याजदर लगायतले नेपाली पोसाक महँगो परेको बताउने अधिकारी सहुलियत ऋणको अवधि कम्तीमा एक वर्ष गर्नुपर्ने ठान्छन्। नेपाली पोसाकको मार्केटिङ पनि गतिलो नभएको उनले बताए। 

लस भेगासको मेलामा स्वदेशी गार्मेन्ट उद्योगहरुलाई सहभागी गराउन व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले खेलेको भूमिकाको प्रशंसा गर्दै अधिकारीले अन्यत्र आयोजना हुने मेलामा पनि गार्मेन्ट उद्योगलाई सहभागी गराउनेतर्फ सरकार लाग्नुपर्ने बताए। यो मेलामा भएको सहभागिताले बजार खोज्न ठूलो मद्दत मिलेको अधिकारीको अनुभव छ। 

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा सरकारले गार्मेन्ट उद्योगलाई माथि उकास्न गर्नुपर्ने जति काम गर्न नसकेको स्वीकार्छन्। सहुलियत ऋण, सहज रुपमा दक्ष श्रमिक आपूर्ति र विश्वका विभिन्न मुलुकमा आयोजना हुने व्यापारिक मेलाहरुमा सहभागिता बढाउन सके गार्मेन्ट उद्योगलाई पुनर्जीवन दिन सकिने उनले बताए। 

गार्मेन्ट उद्योगलाई आवश्यक पर्ने जनशक्ति तयार गर्नुपर्ने आवश्यकता महसुस गरिए पनि बजेट अभावमा सीपमूलक तालिम सञ्चालन गर्न नसकेको उनले सुनाए। ‘सरकारले आधारभूत तालिम दिएर उद्योगमा प्रवेश गर्न सक्ने मात्रै बनाइदिए पनि विशेष तालिम व्यवसायीहरुले नै दिलाउँथे,’ कार्यकारी निर्देशक राणाले भने, ‘तर केन्द्रसँग त्यसका लागि बजेट छैन।’ 

अमेरिकी बजारमा नेपाली गार्मेन्टको प्रवेश राम्रै रहेको भन्दै उनले यो मेलामा आएका भिजिटरले नेपाली गार्मेन्टप्रति चाहना दर्शाएर सन्तोषजनक रुपमा अर्डर दिएको जानकारी गराए। यो मेलामा भएको सहभागिताले नेपाली गार्मेन्ट क्षेत्रलाई पुनर्जीवन दिने आस पलाएको उनले टेलिफोनमा बताए। 

यो वर्ष गार्मेन्ट दोस्रो प्रमुख निर्यात वस्तु बनिसकेको जानकारी गराउँदै कार्यकारी निर्देशक राणाले निर्यात अनुदान वृद्धि र निर्यात प्रवद्र्धन कोषको आवश्यकता पनि औंल्याए। राणाका अनुसार आइतबारदेखि बुधबारसम्म चलेको मेलामा केन्द्रले तीनवटा स्टल लिएर ६ वटा उद्योगलाई सहभागी गराएको छ। 

प्रकाशित: ७ चैत्र २०७५ ०६:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App