coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अर्काको नाममा परीक्षा दिने गिरोह सक्रिय

काठमाडौं – कोरियन भाषा परीक्षा उत्तीर्ण गरेको सूचीमा नाम समावेश भएपछि इलामका पूर्ण लिम्बू रोजगारीका लागि कोरिया जान पाइनेमा लगभग ढुक्क जस्तै थिए। रोजगारी अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया जान सन् २०१८ मा लिइएको भाषा परीक्षा उत्तीर्ण गरेको सूचीमा नाम समावेश भएपछि उनी सबैतिर भाषा परीक्षा उत्तीर्ण गरेको बताउँदै हिँड्थे पनि। 

भाषा परीक्षा उत्तीर्णपछि बाँकी प्रक्रिया अघि बढाउन लिम्बूले केही दिनअघि रोजगार आवेदन फारम भरे। जब रोजगार आवेदन फारम कोरिया पुग्यो, अनि पत्ता लाग्यो भाषा परीक्षा लिम्बूले दिएका रहेनछन्। भाषा परीक्षाका लागि दरखास्त फारम भर्दा प्रयोग गरिएको र रोजगार आवेदन फारममा टाँसिएको तस्बिर फरक परेको भन्दै उनलाई कोरियाको मानव संशाधन विभागले अस्वीकृत गरिदियो। 

कोरियाबाट फारम अस्वीकृत भएपछि उनले पटकपटक वैदेशिक रोजगार विभागको कोरिया शाखामा पुगेर तथा पहुँचवाला व्यक्तिमार्फत कोरिया जाने व्यवस्था मिलाइदिन शाखाका कर्मचारीसँग हारगुहार गरे। कोरियाले फारम अस्वीकृत गरेर पठाएपछि शाखाका कर्मचारीले सोधखोज गर्दा पत्ता लाग्यो– लिम्बू कोरियन भाषा परीक्षामा सहभागी नै भएका रहेनछन्। ‘कोरियाले फारम अस्वीकृत गरेर पठाएपछि सोधीखोजी गर्दा लिम्बूको भाषा परीक्षा अर्को व्यक्तिले नै दिएको पत्ता लाग्यो,’ शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले भने। 

शाखाका कर्मचारी भन्छन्– जसले बदमासी गर्छन्, त्यस्ता व्यक्ति जिन्दगीभर कोरिया जान पाउँदैनन्र।

उक्त तथ्य खुलेपछि अनलाइन प्रणालीमार्फत निकै व्यवस्थित तरिकाले भाषा परीक्षा सञ्चालन हुने भनिएको इपिएस परीक्षामा समेत बदमासी गर्ने गिरोह सक्रिय रहेको वास्तविकता सार्वजनिक भयो। शाखाका सूचना अधिकारी भण्डारीले भने, ‘परीक्षाको शुद्धताका लागि नेपाली मात्र नभई कोरियन टोलीसमेत आउने गर्छ। तैपनि ठगी गर्ने गिरोह सक्रिय भइरहेको रहेछ।’ 

दुई वर्षयता अनलाइन प्रणालीमार्फत दरखास्त भर्ने क्रम सुरु भए पनि केहीले ठगी धन्दा नरोक्दा कोरियन रोजगारदाताका अगाडि लाजमर्दो अवस्था सिर्जना हुन सक्ने खतरा बढेको कर्मचारीहरू बताउँछन्। भाषा परीक्षाका लागि दरखास्त फारममा टाँसेको तस्बिरका आधारमा भाषा परीक्षा दिन पाइने  र सोही तस्बिरको यकिनपछि मात्र रोजगारदाता आवेदन फारम स्वीकार गर्ने गरिन्छ। आवेदन फारमको आधारमा कोरियन रोजगारदाताले कामदार छनोट गर्छन्।

तर, भाषा परीक्षामा सहभागी हुनेहरूले कोरियन भाषा उत्तीर्ण गर्दैमा रोजगारीका लागि कोरिया जान पाइन्छ भन्ने ठान्दा एकातिर त्यस्ता युवा ठगीमा पर्ने गरेका छन्, भने अर्कोतर्फ बदनामीको दाग लाग्ने गरेको छ।  ‘अनलाइन प्रणाली सुरु भएपछि अर्कालाई परीक्षा दिन लगाएर वा अन्य बदमासी गरेर कोरिया जान पाइँदैन भनेर बुझ्न जरूरी छ,’ भण्डारीले भने, ‘केही समयअघि बदमासी गरेर कोरिया पुगेकी एक युवतीले छक्याएको पाइएपछि तीन महिनामै घर फर्काइएको थियो।’ 

अर्काको नाममा परीक्षा दिएर कोरिया जाने गिरोह सक्रिय भएको ठानिएपछि दुई वर्षअघि अनलाइन प्रणाली सुरु गरिएको थियो। सोही गिरोहले अनलाइन प्रणालीमै समेत बदमासी गर्न थालेपछि अब के गर्ने भन्ने समस्या देखिएको छ। भण्डारी भन्छन्, ‘अनलाइन प्रणाली सुरु भएपछि जो कसैले बदमासी गरेपछि कोरिया जानुअघि र कोरिया पुगेपछि कुनै न कुनै दिन वास्तविकता खुल्छ। अब छक्याएर कसैले कोरिया जान सक्छु भन्यो भने त्यो सम्भव छैन।’ उनले सकभर छक्याउने व्यक्ति कोरिया जान नसक्ने र यदि गइहाल्यो भने कोरियामा सबै तथ्य खेल्ने बताए। कोरियन भाषा परीक्षामा सहभागी हुनेलाई ठगी गर्ने गिरोहको प्रलोभनमा नपर्न भण्डारीले सल्लाह दिए। 

विभिन्न स्रोतका अनुसार भाषा परीक्षामा नक्कली विद्यार्थी सहभागी हुँदा गिरोहले चार÷पाँच लाख रुपैयाँ लिने गर्छन्। ‘ठगी गर्ने गिरोहले अनावश्यक प्रलोभनबारे युवाले नबुझ्ने हो भने समस्या मात्र पाउँछन्, त्यसैले यस्तो प्रयासमा लाग्नु हुँदैन,’ शाखाका सूचना अधिकारी भण्डारीले भने। उनका अनुसार यस्तो बदमासी गर्नेलाई कोरिया सरकारले कालोसूचीमा समेत राख्छ। र, जिन्दगीभर कोरिया जान नपाउन पनि सक्छ।’

गत  वर्ष भाषा परीक्षामा सहभागी हुँदा अर्काको नाममा परीक्षा दिन खोज्ने दुई सय ४४ जनालाई प्रहरीले पक्राउ गरेको थियो। तीमध्ये १७ जनालाई तीन वर्षसम्म परीक्षामा सहभागी हुन नपाइने गरी निष्कासित गरिएको शाखाले जनाएको छ। गत वर्ष भाषा परीक्षामा सहभागी हुन ८२ हजार दुई सय ३५ ले फारम भरेका थिए। जसमध्ये सात हजार नौ सय ९६  भाषा परीक्षामा उत्तीर्ण भएको कोरियाले जानकारी दिएको थियो। 

सन् २०१९ मा कोरियाले उत्पादनमूलक क्षेत्रमा अनुमानित सात हजार ५० र कृषि तथा पशुपालनतर्फ तीन हजारलाई उत्तीर्ण गराउने भण्डारीले जानकारी दिए। मासिक न्यूनतम एक लाख ७० हजार रुपैयाँ पारिश्रमिक तोकिएकाले कोरियाको रोजगारी आकर्षक मानिँदै आएको छ। 

कतिपय युवाले कोरियामा मासिक तीन लाख रुपैयाँसम्म कमाउने गरेको बताइन्छ। राम्रो पारिश्रमिक पाइने गरेका कारण बर्सेनि ठूलो संख्याका युवाले भाषा परीक्षामा प्रतिस्पर्धा गर्ने गरेका छन्। इपिएस सुरु भएयता सन् २००८ देखि हालसम्म ५९ हजार छ सय ९८ युवा कोरिया गइसकेका छन्। यस अवधिमा भाषा परीक्षा उत्तीर्ण गर्नेको संख्या ७० हजार चार सय ६९ छ । 

यस्तो छ कोरिया जाने प्रक्रिया
कोरिया जानका लागि सबभन्दा पहिला कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ। कोरियाको मानव संशाधन विभागले बर्सेनि तय गर्ने कोटामा पर्न भाषा परीक्षा उत्तीर्ण गरेर मात्र पुग्दैन। चर्को प्रतिस्पर्धाबाट तय गरिएको कोटाभित्र पर्न सक्नु पर्छ। 
भाषा परीक्षा उत्तीर्ण गरी स्वास्थ्य परिक्षणमा सफल भएकालाई कोरियन रोजगारदाताले कामको अफर गरेपछि मात्र जान पाउँछन्। ‘त्यसैले हामीले भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा रोजगारीको ग्यारेन्टी होइन भन्दै आएका छौं,’ उनले भने, ‘कोरियन रोजगारदाताले काममा नबोलाएसम्म कोरिया जान पाइन्छ भनेर विश्वास गर्नु हुँदैन।’  

त्यसअघि आवेदकले रोजगार आवेदन फारम भर्नुपर्छ। सोही फारमको आधारमा चित्त बुझेको खण्डमा कोरियन रोजगारदाताले बोलाउँछन्। कोरियामा जान सक्षम युवाको सूची कोरियाको मानव संशाधन विभागको रोस्टरमा प्रकाशित गरेको हुन्छ। भाषा परीक्षा उत्तीर्ण गरेकाले दुई वर्षसम्म पर्खनुपर्ने पनि हुन सक्छ। दुई वर्षसम्म कोरिया जान असफल भएको खण्डमा भने पुनः सुरुदेखिकै प्रक्रियामा सहभागी हुनुपर्छ। रोजगारीका लागि कोरिया पुगेकाले चार वर्ष १० महिना काम गर्न पाउँछन्। कोरियामा राम्रो काम गरेकालाई पुनः रोजगारदाताले बोलाउने क्रम पनि सुरु भएको छ। 

 

प्रकाशित: ७ चैत्र २०७५ ०६:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App