coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

नियमित गर्भ जाँच गराउने गर्मवतीसँग ‘कोसेली भेट’

स्तरोन्नती गरिएको धितुङस्थित बर्थिङ सेन्टर उद्घाटन गर्दै मेयर इवन राई र उपमेयर बिमला राई। तस्बिर : नागरिक

खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नियमित गर्भ जाँच गराएका गर्मवती महिलासँग ‘कोसेली भेट’ कार्यक्रम गरेको छ। स्वास्थ्यकर्र्मीको सल्लाह अनुशार नियमित चार पटक गर्भ जाँच गराएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ६० जना गर्भवती महिलासँग नगरपालिकाले ‘कोसेली भेट’ कार्यक्रम गरेको हो।

बहुक्षेत्रीय पोषण कार्यक्रम र वडा कार्यालय धितुङसँगको सहकार्यमा नगर स्वास्थ्य शाखाले मंगलबार'कोसेली भेटु कार्यक्रम अन्तरगत धितुङका गर्भवती महिलालाई अण्डा, आयोडिन नुन, सरसफाईका लागि सावुन, रुमाल लगायतका कोसेली प्रदान गरेको छ। नियमित गर्भ जाँच गराउने गर्भवती महिलालाई सम्मान गर्दै अन्य गर्भवती महिलालाई पनि नियमित गर्भजाँच गर्न प्रोत्साहित गर्नका लागि नगरपालिकामा गर्भवती महिलासँग 'कोसेली भेटु कार्यक्रम सुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। 'गर्भमा रहेको बच्चा र आमाको स्वस्थता र जीवन रक्षाका लागि कोसेली भेट कार्यक्रम गरिएको हो,' मेयर राईले भने,'गर्भवती महिलालाई नियमित स्वास्थ्य गर्भ जाँच गर्ने वातावरण बनाउनका लागि प्रोत्साहनका कार्यक्रम राखिएको हो।' नियमित गर्भ जाँच गराउने गर्भवती महिलालाई मेयर राई, उपमेयर बिमला राईले'कोसेली भेटु कार्यक्रम अन्तरगतका सामग्री हस्तान्तरण गरेका छन्।

केही पटक बाहेक नियमित गर्भ जाँच नगराउने वा गर्भ जाँच नै नगराउने चलनको अन्त्याका लागि नगरमा गर्भवती महिलासँग कोसेली भेट कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। चेतना अभावमा गाउँघरमा अझै पनि स्वास्थ्य संस्थामा गएर गर्भ जाँच गराउने प्रचलन बिकास हुन सकेको छैन। नगरपालिकाले केही समयअघि हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका गर्भवती महिलासँग'कोसेली भेटु कार्यक्रम राखेको थियो।
बर्थिङ सेन्टर स्तरोन्नती

हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित बर्थिङ सेन्टर स्तरोन्नती गरिएको छ। वन हर्ट वल्डवाईडको १४ लाख र हलेसी तुवाचुङ नगरपालिकाको ५ लाखको खर्चमा धितुङमा स्थापित बर्थिङ सेन्टर मर्मत सम्भार गरेर स्तरोन्नती गरिएको हो। हालसम्म दुःखसुख काम चलाउनकारुपमा सञ्चालन हुँदैआएको बर्थिङ सेन्टरलाई सजावट र उपकरणका हिसावले सुविधायुक्त बनाइएको मेयर इवन राईले बताए। ढुंगा माटोले बनाइएको स्वास्थ्यचौकीको कोठामा स्थापना गरिएको बर्थिङ सेन्टरलाई टायल हालेर, रंगरोगन, वायरिङ, प्लाम्बिङ गरेर आधुनिक औजार–उपकरण व्यवस्था गरेर सुबिधा सम्पन्न बनाइएको नगरपालिकाले जनाएको छ।

नेपाल सरकारकै मातृ–शिशु स्वास्थ्य सम्वन्धी कार्यक्रमलाई सहयोग पु¥याउँदै आएको वन हर्ट वल्डवाईडसँगको सहकार्यमा बर्थिङ सेन्टरको गर्भ जाँच गर्ने, सुत्केरी गराउने र सुत्केरी भएपछि स्याहार गर्ने कक्षामा टायल हालेर, रंगरोगन, वायरिङ, प्लाम्बिङका काम गरेर उपकरणयुक्त आकर्षक बनाइएको छ। बर्थिङ सेन्टरमा सुत्केरी गराउन आवश्यक उपकरण व्यवस्थाका साथै बर्थिङ सेन्टरमा कार्यरत अनमीलाई दक्ष प्रसुती सम्बन्धी दुई महिने तालिम दिलाउन सहयोग गरिएको वन हर्ट वल्डवाईडले जनाएको छ। स्वास्थ्यचौकीको बाहिरी आवरण समेत रंगरोगन गरिएको छ। स्तरोन्नती गरिएको बर्थिङ सेन्टर मेयर इवन राई र उपमेयर बिमला राईले उद्घाटन गरेका छन्।

प्रकाशित: ७ चैत्र २०७५ ०४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App