१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

निगम हतारै गर्दैन कोरिया र जापान उडानमा

काठमाडौं – नेपाल वायुसेवा निगमले लामो गन्तव्यमा उडाउन दुइटा वाइड बडी विमान खरिद गरेको छ। ती विमानलाई दक्षिण कोरिया, जापान, चीन, साउदी अरेबिया लगायत देशमा उडाउने भनिएको छ। तर, विमान खरिद गरिएको १० महिना पुग्दासमेत गन्तव्य नहुँदा न्यारो बडीकै गन्तव्यमा उडिरहेका छन्।

निगम सञ्चालक समितिले वाइड बडी जहाज खरिद प्रक्रियामै रहँदा २०७४ मंसिर २८ को बैठकबाट जापान र कोरियाको लागि सिधा उडान गर्ने प्रक्रिया थाल्ने निर्णय गरेको थियो। सोही अनुसार कोरियामा टेन्डरबाट प्यासिफिक एअर एजेन्सीलाई जिएसए नियुक्त गरियो। जिएसए नियुक्तिबाहेक अन्य काम हुन सकेन।  

जहाज नेपालमा ल्याइसकेपछि जापान उडान गर्न सञ्चालक समितिले प्रक्रिया थाल्न २०७५ भदौ २० गते निगम व्यवस्थापनलाई निर्देशन दिएको थियो। सोही अनुसार जापानको टोकियोस्थित नारिता विमानस्थलमा उडान गर्न वेस्टर्न एसोसिएसनलाई जिएसए छानियो। नारिता विमानस्थलका एभिएसन सेल्स एन्ड मार्केटिङका सुपरभाइजर युटो मियासिटाले निगमलाई इमेलमार्फत पहिलो चरणमा जिएसएसँग सम्झौता गर्न सुझाएका थिए। सोही अनुसार निगम महाप्रबन्धक सुगतरत्न कंसाकारले प्रक्रिया थाल्दै गर्दा भदौ ३१ गते मदन खरेल निगमको कार्यकारी अध्यक्ष बनेर आए।

त्यसपछि खरेलले जिएसएसँग सम्झौता गर्नुको सट्टा नारितामा उडानै नगर्ने निर्णय गरे। जबकि नारिता विमानस्थलबाट निगमलाई प्राप्त इमेलमा जिएसए नियुक्त गरेको दुईदेखि तीन महिनाभित्र उडान हुने बताइएको छ। खरेलले नारिताको सट्टा ओसाका विमानस्थलमा उडान गर्ने निर्णय गरे। स्रोतका अनुसार उडान अनुमति निश्चित जस्तै रहेको विमानस्थल छाडेर ओसाका सार्नुको दुईवटा कारण छन्। 

निगमकै एक अधिकारीका अनुसार हवाई माफियाको दबाब र प्रभावमा परेर खरेलले त्यस्तो निर्णय गरेका हुन्। नारितामा नेपालको हिमालय एअरलाइन्सले उडान गर्ने योजना बनाएको थियो। ओसाकामा नेपाल एअरलाइन्सले उडाएपछि नारितामा हिमालयलाई सहज गराउन त्यसो गरिएको दाबी स्रोतको छ। जबकि अध्ययन र रोजगारीको लागि गएका अधिकांश नेपाली टोकियो आसपास बस्छन्। 

त्यसैगरी, नारिताबाट ओसाका सार्नुको अर्को कारण एनआरएनएका पूर्वअध्यक्ष देवमान हिराचन पनि हुन्। स्रोतका अनुसार हिराचनको कार्यालय ओसाकामा छ। उनैले जिएसए लिने तयारी गरेका छन्। 

निगमका सहप्रवक्ता नवराज कोइरालाका अनुसार हिराचन ओसाकामा निगमको प्रतिनिधिको रुपमा काम गरिरहेका छन्। तर, निगमको जहाज कहिलेसम्म जापान उड्छ, त्यसको टुंगो लागेको छैन। निर्णय परिवर्तन गरेर ओसाकाको लागि उडान थाल्दै तीन महिना बढी ढिला भएको थियो। ओसाका विमानस्थलमा प्रक्रिया थालेसँगै निगमका कार्यकारी अध्यक्ष मदन खरेलले फेब्रुअरी १ मा ओसाकामा उडान गर्ने दाबी गरेका थिए। निगम स्रोतकै अनुसार उनै खरेलको कारणबाट जापानको उडान ढिला हुँदैछ। 

निगमका अनुसार ओसाका विमानस्थल उडान ग्राउन्ड ह्यान्डलिङ नपाउँदा अनिश्चित भएको हो। ‘आवश्यक प्रक्रिया पूरा गर्दै ग्राउन्ड ह्यान्डलिङ लिएको कम्पनीसम्म पुगेका छौं,’ निगमका सहप्रवक्ता कोइरालाले भने, ‘उक्त कम्पनीसँग सकारात्मक वार्ता भइरहेकाले चाँडै ग्राउन्ड ह्यान्डलिङ पाउनेमा आशावादी छौं।’ 

उनका अनुसार ग्राउन्ड ह्यान्डलिङको टुंगो लागेपछि अनुमतिको लागि पहल गरिनेछ। स्रोतको दाबी अनुसार निगमले जसरी काम गर्नुपर्ने हो, त्यसरी गरेको छैन। ‘निगम सक्रिय भएर लाग्ने हो भने यतिबेला जापानको उडान भइसक्थ्यो,’ नेकपा निकट निगमको आधिकारिक ट्रेड युनियनका एक अधिकारीले भने, ‘निगम उडान गर्नमा कुनै हतार देखाउँदैन।’ 
काम गरेको जस्तो मात्रै गर्ने तर, नतिजा देखाउन नसकेको भन्दै ती अधिकारीले आक्रोश पोखे। हवाई माफियाका चंगुलमा फसेर निगमका कार्यकारी अध्यक्ष खरेलले नतिजा ल्याउने गरी भूमिका नखेलेको ती अधिकारीको दाबी छ। ‘अहिलेको कार्यशैलीप्रति निगमभित्रकै पदाधिकारी सन्तुष्ट छैनौं,’ उनले भने, ‘युनियनको तर्फबाट हामी चाँडै ज्ञापनपत्र बुझाउने तयारीमा छौं।’ उनका अनुसार मन्त्रालयको समेत ध्यानाकर्षण गर्न युनियन लागेको छ।

जापान मात्रै होइन्, कोरियामा पनि निगमको कार्यशैलीकै कारण ढिला भएको छ। जापान त निगमले काम गरेको जस्तो देखाएर प्रक्रियामा ढिलाइ गरे पनि कोरियाको लागि कुनै प्रयास नै नगरेको ती अधिकारीले बताए। कोरियामा उडान गर्न जहाज खरिदअघि नै जिएसए नियुक्त गरिएको थियो। २०७४ पुसमै मन्त्रालयले समेत कोरिया उडान गर्न गर्नुपर्ने सबै काम सकेर पत्राचारसमेत गरेको थियो। तर, निगममा कार्यकारी बनेर आएका खरेलले कोरिया उडानको प्रक्रिया थालेनन्। स्रोतका अनुसार हवाई माफियाकै कारण खरेलले कोरियाको उडान प्रक्रिया अगाडि नबढाएका हुन्। मन्त्रालय समेत निगम व्यवस्थापनकै कारणबाट कोरिया उडान ढिलाइ भइरहेको बताउँछ।

हाल कोरियाबाट साताको चारवटा उडान कोरियन एअरले गरिरहेको छ। कोरियन एअरको नेपालस्थित जिएसए सिताराम प्रसाईको युनिभर्सल टुर्स एन्ड ट्राभल्सले लिएको छ। स्रोतका अनुसार खरेल र प्रसाई दुवैजना झापाका हुन्। नेपाल एअरलाइन्सको जहाज कोरियामा उडान गर्दा कोरियन एअरको जिएसए लिएका प्रसाईको व्यवसायमा असर पर्ने भन्दै मिलेमतो गरेर कोरिया उडान प्रक्रिया नथालेको दाबी स्रोतको छ।

निगमका सहप्रवक्ता कोइराला भने केही कागजपत्र संशोधन गर्नुपर्ने भएकाले प्रक्रियामा ढिलाइ भएको दाबी गर्छन्। सन् २०१३ मा इयूले नेपाली जहाजलाई कालोसूचीमा राखेको छ। सोही कारण कोरियाले निगमको अडिट आफैं गरेपछि मात्रै उडान अनुमति दिने जनाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमका अनुसार निगमले आफ्नो काम पूरा गरेपछि मात्रै कोरियाको टोलीलाई सेफ्टी अडिटको निम्ति बोलाइनेछ।

निगमका सहप्रवक्ता कोइरालाका अअनुसार प्राधिकरणको निर्देशन अनुसार कमजोरी सुधारेर डकुमेन्ट संशोधन गर्ने काम भइरहेको छ। त्यसको लागि एक महिनाभन्दा बढी समय लाग्छ। त्यसपछि प्राधिकरणलाई नै फेरि हेर्न लगाइनेछ। प्राधिकरणले सेफ्टी अडिट ठीक छ भनेको खण्डमा कोरियाको टोली नेपाल बोलाएर अडिट गर्न लगाइनेछ। उक्त टोलीले ठीक छ भनेपछि मात्रै कोरियाको प्रक्रिया अगाडि बढाइने कोइरालाले बताए। तर, त्यसको लागि अझै कति समय लाग्छ, त्यसको टुंगो छैन।

जापान कोरिया मात्रै नभएर नेपाली जहाजलाई तीन दर्जनभन्दा बढी मुलुकमा उडाउन सकिन्छ। त्यसको लागि मन्त्रालयले यसअघि नै सम्झौता गरिसकेको छ। तर, सुस्त कार्यशैली र हवाई माफियाको दबाब र प्रभावमा परेर निगमले हाल भारत, मलेसिया, थाइल्यान्ड, हङकङ, दोहा र युएई गरेर ६ वटा देशमा न्यारोबडी दुइटा र वाइड बडी दुइटा गरेर चारवटा जहाज आठवटा सेक्टरमा मात्रै उडाइरहेको छ। 

 

प्रकाशित: ६ चैत्र २०७५ ०४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App