coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

आयोडिन र थाइराइडको सम्बन्ध

डा. सुनिल पोखरेल

सरकारले दुई दशकअघि देखि नै आयोडिनको कमीबाट हुने रोग उन्मूलन गर्न दुई बालबालिकाको चिह्न भएको आयोडिनयुक्त नुन प्रयोग गर्न सबैलाई सल्लाह दिँदै आएको छ र हरेक वर्ष फेब्रुअरीलाई राष्ट्रिय आयोडिन महिनाका रूपमा मनाउँदै आएको छ। 

थाइराइड रोग भन्नाले गलगाँड (थाइराइड ग्रन्थी ठूलो हुने), हाइपोथाइराइडिजम (थाइराइड हर्मोन कम बन्ने तथा बढी बन्ने) र थाइराइड क्यान्सर भन्ने जनाउँछ। यीमध्ये सबैभन्दा बढी देखिने रोग हाइपोथाइराइडिजम नै हो। सामान्यतया जनमानसमा थाइराइड रोग भन्नाले हाइपोथाइराइडिजम नै भनेर बुझ्ने गरिएको छ। 

आयोडिन एक यस्तो खनिज पर्दाथ हो जुन थाइराइड हर्माेन बन्न चाहिन्छ र हाम्रो शरीर आफैंले आयोडिन बनाउन नसक्ने हुनाले यो हामीले यसको सेवनबाट नै पूर्ति गर्नुपर्ने हुन्छ। आयोडिन प्राकृतिक रूपमा समुद्र र माटोमा पाइन्छ तर हाम्रो देशमा समुद्र छैन र हरेक वर्ष बर्खा याममा बाढीले माटोमा रहेको आयोडिन बगाएर लग्ने हुनाले हामीले खानाबाट यसको पूर्ति गर्न सक्दैनौं। त्यसैले नेपालमा केही दशकअघि आयोडिनको कमीबाट हुने रोगको प्रकोप विकराल नै थियो। 

हाम्रो शरीरलाई दैनिक १ सय ५० माइक्रो ग्राम आयोडिन आवश्कता पर्छ। यदि हाम्रो शरीमा आयोडिन कमी भयो भने थाइराइड ग्रन्थी ठूलो भई गलगाँड आउने, थाइराइड हर्मोन कम बन्न गई हाइपोथाइराइडिजम हुने तथा गर्भावस्थामा आयोडिन कमी भएमा सुस्त मनस्थितिको शिशु जन्मनेजस्ता रोग निम्तिन्छन्। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार सन् १९७९ मा नेपालको जनसंख्यामध्ये करिब आधा जनामा गलगाँड समस्या थियो। 

विश्व स्वास्थ्य संगठनले सामान्यतया कुनै पनि देश वा स्थानको आयोडिनको पोषण स्थिति थाहा पाउन सम्बन्धित क्षेत्रका स्कुल जाने उमेरका बालबालिकाहरूकोे पिसाब जाँच गर्छ। जसअनुसार आयोडिनको मात्रा प्रतिलिटर माइक्रो ग्राम सयभन्दा मुनि भएमा कमी, सयदेखि १ सय ९९ सयसम्म भएमा पर्याप्त, दुई सयदेखि २ सय ९९ सम्म भएमा अलि बढी र तीन सय माइक्रो ग्रामभन्दा माथि भएमा आयोडिन अत्यधिक भएको मानिन्छ। सन् १९९८ को सरकारको तथ्यांकअनुसार नेपालमा विद्यालय जाने उमेरका बालबालिकाहरूको पिसाब जाँच गर्दा ४०.५५ प्रतिशत जनामा गलगाँड र ३५.१५ प्रतिशत बालबालिकामा आयोडिनको कमी देखिएको थियो।   

सरकारले यो अवस्थालाई मनन गरी २०५५ सालमा देशभर दुई बालबालिका चिह्न भएको आयोडिनयुक्त नुनमात्र प्रयोग गर्ने निर्णय गरेको थियो। यो निर्णय कार्यान्वयन भएपछि सन् २००७ को सरकारी तथ्यांकले नेपालमा बालबालिकाहरूको पिसाबमा आयोडिनको मात्रा २०२ माइक्रो ग्राम प्रतिलिटर भएको देखायो जुन विश्व स्वास्थ्य संगठनको मूल्यांकनबमोजिम अलि धेरै हो। 

सन् २०११ मा नेपाल सरकारले गरेको अर्को अध्ययनमा ९५ प्रतिशतभन्दा बढी घरमा आयोडिनयुक्त नुन प्रयोग भएको पाइयो। त्यसैगरी सन् २०१६ को तथ्यांकअनुसार तत्कालीन मध्यमाञ्चल विकास क्षेत्रका ६ देखि ९ वर्षसम्मका बालबालिकाहरूको पिसाबमा आयोडिनको मात्रा ३८७.९ माइक्रो ग्राम प्रतिलिटर देखियो भने देशभरका ६ देखि ९ वर्षका बालबालिकामा यो मात्रा ३१४.१ देखियो। यसैगरी  गर्भवतीहरूमा यो मात्रा २४१.३ देखियो भने १५ देखि ४९ वर्षसम्मका महिलामा यो २८६.२ ५ देखियो। जुन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार अलि बढी हो। 

दुई–तीन दशकअघिको आयोडिनको कमी भएको देशबाट अहिले हामी यसको मात्रा अलि बढी वा अत्यधिक भएको देशमा त पुग्यौं तर, कुनै आधिकारिक तथ्यांक नभए पनि नेपालमा थाइराइड रोगका बिरामी घटेको देखिँदैन, बरु बढिरहेको पाइएको छ। जुन सोच्नुपर्ने विषय हो। 

विश्वका अन्य देशमा गरिएका विभिन्न अध्ययन अनुसन्धानले के देखाएको छ भने विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पिसाबमा आयोडिनको मात्रा सय माइक्रो ग्राम प्रतिलिटर हाराहारी हुँदा त्यस मुलुकमा थाइराइड रोगको प्रकोप सबैभन्दा कम देखिन्छ। त्यसैले हरेक देशले ३ देखि ५ वर्षको अवधिमा आफ्नो नागरिकको आयोडिनको मात्रा जाँच गरी त्यसैअनुसार आफ्नो नीति परिवर्तन गर्छ। 

चीन सरकारले सन् १९९४ मा आयोडिनयुक्त नुनमात्र प्रयोग गर्ने नीति लागू गर्दा एक किलो नुनमा आयोडिनको मात्रा ५० मिलिग्राम प्रयोग गरेको थियो भने पछि गएर पिसाबमा आयोडिनको मात्राअनुसार सन् २००० मा घटाएर ३० देखि ५०मिलिग्रामसम्म राख्ने गरेको थियो। फेरि सन् २०१० मा यो मात्रा पनि घटाएर २० देखि ३० मिलिग्रामसम्म आयोडिन प्रतिकिलोमा कायम गर्याे। 

ब्राजिल सरकारले पनि आयोडिनयुक्त नुनमात्र प्रयोग गर्ने नीति लागू गर्दा प्रतिकिलो नुनमा ४० देखि ६० मिलिग्रामसम्म आयोडिन हाल्ने गरेको थियो भने पछि गएर देशवासीको पिसाबमा आयोडिनको मात्राअनुसार सन् २००३ र सन् २०१३ मा गरी दुईपटक परिवर्तन गरी हाल १५ देखि ४५मिलिग्रामसम्म आयोडिनको मात्रा राख्ने गरेको छ। 

नेपाल सरकारले पनि २०५५ सालमा आयोडिनयुक्त नुनमात्र प्रयोग गर्ने नीति लागू गर्दा के मान्यता राखेको थियो भने एक किलो नुनमा आयोडिनको मात्रा ५० मिलिग्राम राख्दा त्यो नुन पसलसम्म पुर्याउँदा घटेर ३० मिलिग्राम तथा घरघरमा पुग्दा १५ मिलिग्राम बाँकी रहन्छ र त्यस बेला नागरिकले प्रत्येक दिन करिब  १० ग्राम नुन सेवन गर्ने हिसाबले १५० मिलिग्राम आयोडिनको मात्रा पुग्छ। 

तर सन् २०१६ को सरकारी तथ्यांकअनुसार आयोडिनको कमी कुनै पनि क्षेत्रमा छैन र त्यही अध्ययनलाई आधार मान्ने हो भने नेपालमा ६ देखि ९ वर्षसम्मका् बालबालिकाहरूमा आयोडिनको मात्रा अत्यधिक छ र गर्भवतीहरूमा पनि आयोडिनको मात्रा अलि बढी छ। यही अध्ययनअनुसार घरमा पुग्ने नुनमा आयोडिनको मात्रा जाँच गर्दा ४४.२ मिलिग्राम प्रतिकिलो नुनमा देखियो। 

त्यसैले नेपाल सरकारले पनि यो दुई दशक पुरानो नीतिलाई पुनर्मूल्यांकन गर्नुपर्ने हो कि ? दैनिक सेवन गर्ने आयोडिनयुक्त नुनको मात्रा कम गरी पाँच ग्राममा सीमित गरी थाइराइड रोगको प्रकोप बाट बच्ने कि ?
(मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ पोखरेल अल्का अस्पतालमा कार्यरत छन्।) 

प्रकाशित: ६ चैत्र २०७५ ०२:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App