७ वैशाख २०८१ शुक्रबार
समाज

भरतपुर मर्करीमुक्त घोषित देशकै पहिलो स्थानीय तह

भरतपुर महानगरपालिकालाई मर्करीमुक्त महानगर घोषणा कार्यक्रममा हस्ताक्षर गर्दै प्रदेश ३ का स्वास्थ्य प्रमुख कामेश्वर चौरसिया।    तस्बिरः सविता/नागरिक

चितवन – भरतपुर महानगरपालिकालाई मंगलबारदेखि मर्करी (पारो)मुक्त महानगर घोषणा गरिएको छ। महानगरपालिकामा रहेका स्वास्थ्य संस्था तथा डेन्टल क्लिनिकमा मर्करीको प्रयोग हटाएर महानगरपालिकालाई मर्करीमुक्त महानगर घोषणा गरिएको हो। भरतपुर महानगरमा स्वास्थ्य तथा दन्त चिकित्सा सेवा मर्करीमुन जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले सन् २०१७ को जनवरीबाट महानगर क्षेत्रमा काम गर्दै आएको छ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिवस्तरबाट २०६९ फागुन २१ मा आर्थिक वर्ष २०७०–०७१ देखि नेपाल सरकारले मर्करीयुक्त उपकरणहरू आयात, खरिद र उपयोग बन्द गर्ने र निजी क्षेत्रलाई पनि सो निर्णय पालना गराउने निर्णय गरेको थियो। भरतपुरलाई मर्करीमुक्त घोषणा गर्न विशेष कार्यक्रम आयोजना गरिएको थियो।

प्रदेश नम्बर ३ का स्वास्थ्य प्रमुख कामेश्वर चौरसियाका अनुसार सरकारले पाँच वर्षअघि नै गरेको निर्णयलाई पालना गर्दै देशमै पहिलो स्थानीय तहको रूपमा भरतपुर महानगरपालिका मर्करीमुक्त घोषित भएको हो।

मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने मर्करी स्वास्थ्य क्षेत्रमा मात्र नभई कुनै पनि क्षेत्रमा प्रयोग हुन नहुने उल्लेख गर्दै चौरसिया भन्छन्, ‘मर्करी मानिसको शरीरमा प्रवेश गरेपछि स्मरण–शक्ति र सुन्ने–शक्तिमा ह्रास आउँछ भने बच्चाको विकासमा अवरोध हुनुका साथै फोक्सो, मृगौलालगायत अंगमा प्रत्यक्ष प्रभाव पार्छ।’

स्वास्थ्य क्षेत्रमा मर्करी रसायन, मर्करीयुक्त उपकरणहरू प्रयोग गरिने प्रचलन रहेको स्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र साह बताउँछन्। स्वास्थ्य संस्थामा प्रयोग गरिने मर्करीयुक्त तापक्रम नाप्ने थर्ममिटर, रक्तचाप नाप्ने ब्लड–प्रेसर मिटरको प्र्रयोग गर्ने क्रममा उचित व्यवस्थापन नहुँदा स्वास्थ्यकर्मी, बिरामी र बिरामीका कुरुवालाई असर पर्ने उनले बताए।

यस्तै, दन्त चिकित्सा सेवामा दाँत भर्नको लागि मर्करीयुक्त अमल गमको प्रयोग हुँदै आएको छ। नेपालमा स्वास्थ्य संस्थामा सबैभन्दा बढी मर्करीको प्रयोग गरेको। त्यसैले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर मर्करीमुक्त बनाउने काम गरिएको निर्देशक साहले बताए। यसबाहेक लाइट्स, मेकअपका सामग्री, खेलौना, रङलगायत मर्करीको प्रयोग हुने गरेको छ।

नेपालमा पनि पछिल्लो १० वर्षको अवधिमा मर्करीबाट ‘पोइजनिङ’ भएर दुई सय मानिसको मृत्यु भएको तथ्यांक छ। माझी समुदायका मानिस, अस्पतालमा काम गर्ने डेन्टल डाक्टर, नर्स, मूर्तिमा सुनको जलप लगाउने काम गर्ने कालीगढमा मर्करीको मात्रा बढी पाइएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार मानव स्वास्थ्य र वातावरणमा असर पार्ने १० प्रमुख रसायनमा मर्करी पनि एक हो। मर्करी मानिसको शरीरमा एक पटक प्रवेश गरेपछि हराउँदैन भने नयाँ पुस्तामा पनि वंशाणुगत रूपमा प्रभाव प्रसार हुँदै जान्छ।

वन तथा वातावरण मन्त्रालयले सन् २०१३ को अक्टोबर १० मा संयुक्त राष्ट्र संघीय मर्करी महासन्धिमा समेत हस्ताक्षर गरेको छ। महासन्धिले २०१७ को अगस्ट २६ बाट अन्तर्राष्ट्रिय कानुनको मान्यता पाएको छ। एक सय तीन देशले अनुमोदन गरिसकेको सो महासन्धि नेपाल सरकारले तयारी गरिरहेको छ।

नेपाल डेन्टल एसोसिएसन चितवनकी अध्यक्ष डा. विष्णुमाया खरेल एसोसिएसनले गत फागुन १८ गतेबाट लागू हुनेगरी मर्करीमुक्त दन्त चिकित्सा सेवा बनाएर वातावरण र जनस्वास्थ्य मैत्री निर्णय गरेको बताउँछिन्। झरेर जाने दुधे दाँतमा १५ वर्ष मुनिका बालबालिकाको दाँतमा र गर्भवती महिला वा शिशुलाई दुध खुवाउँदै गरेका महिलाहको दाँतको उपचारमा मर्करीयुक्त डेन्टल अमल गमको प्रयोग पूर्णतया बन्द गरिएको उनले बताइन्।

एसोसिएसनले विश्वविद्यालय, कलेज एवं पाठ्यक्रम विकास बोर्डसँग सहकार्य गरी अन्तर्राष्ट्रिय अभ्याससँग मेल खाने गरी दन्त चिकित्सा शिक्षाको पाठ्यक्रममा सुधार गर्न पहल पनि गरिएको छ। पछिल्लो तीन वर्षको प्रयासपछि निजी अस्पताललाई मर्करीमुक्त बनाउन सकिएको निजी अस्पताल समन्वय समिति, चितवनका सचिव विक्रम अधिकारी बताउँछन्। ‘अघिल्लो वर्षबाटै अस्पतालमा मर्करीको प्रयोग गरिएको छैन,’ उनले भने, ‘आगामी दिनमा पनि निजी अस्पतालमा मर्करीको प्रयोग नहुने प्रतिबद्धता व्यक्त गर्छु।’

प्रकाशित: ६ चैत्र २०७५ ०२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App