coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

डोलीन्द्रको राजीनामा स्वीकृत

काठमाडौं – साझा प्रकाशनका महाप्रबन्धक डोलीन्द्र शर्माको राजीनामा स्वीकृत भएको छ। साझा प्रकाशन सञ्चालक समितिको मंगलबार बसेको बैठकले शर्माको राजीनामा स्वीकृत गरेको हो।

शर्माले संस्थागत हितविपरीत काम गरेको भन्दै सञ्चालक समितिले स्पष्टीकरण सोधेको थियो। फागुन २८ मा सञ्चालक समितिले तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएपछि शर्माले गत शुक्रबार राजीनामा दिएका थिए। मंगलबार बसेको सञ्चालक समिति बैठकले शर्माको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो। साझामा अनियमितता गरेको आरोप लागेका शर्माका क्रियाकलाप सन्तोषजनक नभएको भन्दै उनलाई मन्त्रीस्तरीय निर्णयबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा तान्ने निर्णय फागुन १९ मा भएको थियो।

सञ्चालक समिति बैठकले साझा प्रकाशन कर्मचारी नियमावली २०७३ को नियम ३०.१ को खण्ड ‘ख’ अनुसार आचरण र अनुशासनसम्बन्धी नियम उल्लंघन गरेको र सोही नियमको खण्ड ‘च’ अनुसार पदीय जिम्मेवारीको बेवास्ता गरेको आरोपमा स्पष्टीकरण सोध्ने निर्णय गरिएको थियो। साझा प्रकाशनका अध्यक्ष रघुराम बिष्ट, नवनियुक्त महाप्रबन्धक ऋषिराम पंगेनी, सञ्चालक सदस्यहरु हरिहर खनाल, डिपी अर्याल, मुक्ति सुवेदी तथा विजय सुब्बाको उपस्थितिमा बसेको बैठकले शर्माको राजीनामा स्वीकृत गरेको हो। बैठकले साझाको बजेट पास गर्ने निर्णयसमेत गरेको सञ्चालक सदस्य तथा सांसद विजय सुब्बाले जानकारी दिए।

साझामा हुँदा शर्माले अनियमितता गरेको घटना सार्वजनिक भएपछि उनलाई २०७४ असोजमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले बर्खास्त गरेको थियो। त्यसविरुद्ध शर्मा सर्वाेच्च अदालत गएका थिए। सर्वाेच्चले कारबाही गर्न शिक्षा मन्त्रालय तालुकवाला मन्त्रालय नभएको भन्दै शर्माको पक्षमा अन्तरिम आदेश जारी गरेको थियो। त्यसपछि शर्मा पुनः साझामै फर्किएका थिए। शर्मालाई शिक्षा मन्त्रालयले नै महाप्रबन्धकमा नियुक्त गरेको थियो। सर्वाेच्चको निर्णयपछि शर्मा साझामा फर्किए पनि पूर्वकर्मचारीको आन्दोलनका कारण उनी नियमित रुपमा कार्यालय भने जान पाएका थिएनन्। शर्माले केही समय साझामा अध्यक्षका रुपमा पनि काम गरेका थिए।

शर्मालाई मन्त्रालयमा तानेपछि उनको सट्टामा मन्त्रालयका उपसचिव ऋषिराम पंगेनीलाई नियुक्त गरिएको छ। शर्माले आफूलाई मन्त्रालयमा तान्ने निर्णयविरुद्ध सर्वाेच्चमा रिट हालेका थिए। सर्वाेच्चले सोमबार उनको रिट खारेज गरिदिएको छ। साझाको सञ्चालक समिति बैठकले यसअघि नै नयाँ महाप्रबन्धक र संस्थाका कर्मचारी होम भट्टराईको नाममा संयुक्त बैंक खाता सञ्चालन गर्ने निर्णय गरिसकेको छ।

प्रकाशित: ६ चैत्र २०७५ ०१:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App