coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजनीतिक छहारीमा पूर्वप्रहरी अधिकृतहरू

काठमाडौं – प्रहरीका उच्च अधिकारीहरु सेवाबाट अवकाशलगत्तै राजनीतिक दलमा प्रवेश गर्ने क्रम विगतदेखि चल्दै आएको छ। त्यही मेलो पछिल्लोपटक नेपाल प्रहरीकी पूर्वडीआईजी पार्वती थापाले पनि पछ्याएकी छिन्। थापा सोमबार मात्रै उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेकी छिन्।

विभिन्न क्षेत्रमा क्रियशील व्यक्तिहरू जस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतहरु पनि सेवाबाट अवकाश पाएलगत्तै राजनीतिमा प्रवेश गरेका छन्। अवकाशपछि कहिले नेपाल त कहिले विदेश बस्दै आएकी थापाले फोरममा प्रवेश गरेर सक्रिय राजनीति गर्ने संकेत गरेकी छिन्।

थापाअघि पूर्वप्रहरी महानिरीक्षकहरू डिबी (दिलबहादुर) लामा, धु्रवबहादुर प्रधान, प्रदीपशमशेर राणा, नेपाल प्रहरीका पूर्वएआइजी गणेशराज राई, सशस्त्र प्रहरीका पूर्वएआजीद्वय रिषभदेव भट्टराई र कृष्ण तामाङ, नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवाललगायत राजनीतिक दलहरूको छहारीमा ओत लागिसकेका छन्।

लामा नेपाली कांग्रेसमा प्रवेश गरी सहायक मन्त्रीसमेत भए। भूपू प्रहरी संघका अध्यक्ष लामा ५० को दशकदेखि कांग्रेस राजनीतिमा लागेका थिए। २०५६ सालमा कांग्रेसको टिकटमा रसुवाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई लामा २०५८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामान्य प्रशासन सहायकमन्त्री भएका थिए। त्यसैगरी प्रधान अवकाशलगत्तै राप्रपामा प्रवेश गरेका थिए। राप्रपाको महामन्त्रीसमेत भएका उनी राजनीतिमै सक्रिय छन्। एक वर्षअघि पूर्वडिआइजी सिलवाल तत्कालीन एमालेमा प्रवेश गरेका थिए। उनी ललितपुर क्षेत्र १ बाट निर्वाचित भई प्रतिनिधिसभा सदस्य बनेका छन्। देउवा नेतृत्वको तत्कालीन सरकारले प्रहरी महानिरीक्षकमा नियुक्त नगरेपछि उनी राजीनामा दिएर एमालेमा पसेका थिए।

पूर्वप्रहरी महानिरीक्षक राणा शरदसिंह भण्डारीले नेतृत्व गरेको तत्कालीन राष्ट्रिय मधेस सामाजवादी पार्टीमा प्रवेश गरेका थिए। उनी सोही पार्टीबाट २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा रौतहटबाट उम्मेदवार भए पनि सन्तोषजनक मत प्राप्त भएन। त्यसयता उनी राजनीतिमा मौन छन्। पूर्वएआइजीद्वय राई र भट्टराई पूर्वप्रधानमन्त्री रहेका बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीमा प्रवेश गरेका थिए। सो पार्टीका केन्द्रीय सदस्य एवं सुरक्षा तथा अनुसन्धान विभाग प्रमुखसमेत भएका राईले दुई वर्षपछि पार्टीको साधारण सदस्यता त्यागेका छन्। १० माघ २०७२ मा एआइजीबाट अवकाश पाएको केही दिनमै नयाँ शक्तिमा आबद्ध भएका राई राजनीति त्यागेको घोषणासहित चुपचाप बसेका छन्। तामाङ पनि संघीय समाजवादी फोरममा लागेका छन्।

पूर्वप्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहलाई तत्कालीन माओवादीले सामानुपातिक कोटाअन्तर्गत संविधानसभाको सदस्य बनाएको थियो। दोस्रो संविधानसभा सदस्य रहेका शाहलाई एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपामा कुनै पनि जिम्मेवारी दिइएको छैन। सामाजिक सञ्जालमा शाहले सरकारका कामकारबाहीप्रति टिप्पणी गरिरहेको पाइन्छ। पूर्वएसएसपी लव बिष्ट विकेकशील नेपाली पार्टीमा सक्रिय छन्।

त्यसैगरी नेपाल प्रहरीको एउटा समूहले पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी नै गठन गरेको थियो। पूर्वडिएसपी चुडाबहादुर लामा अध्यक्ष र पूर्वएआइजी विनोद सिंह, पूर्व एसएसपी वसन्त कुँवर सल्लाहकार रहेको सो पार्टी तत्कालीन एमालेमा विलय भएको थियो। तत्कालीन एमालेले लामालाई समानुपातिक सांसदका लागि उम्मेदवारको सूचीमा राखे पनि उनको सांसद बन्ने पालो आएन। पूर्वएआइजी विजयलाल कायस्थ राजनीतिक नियुक्तिमा छन्। उनी २ नं. प्रदेश सरकारको सुरक्षा सल्लाहकार छन्।

पूर्वप्रहरीको एउटा समूह पार्टी खोलेर तत्कालीन एमालेमा विलय भएपछि पूर्वप्रहरीकै अर्को समूहले नयाँ संस्था स्थापना गरेको छ। पूर्वएआइजी भीष्म प्रसाईंको संयोजकत्वमा ‘नेपाल पूर्व प्रहरी अधिकृत क्लब’ गठन गरिएको छ। क्लबको सहसंयोजक पूर्वएआइजी रणबहादुर चन्द छन्। त्यस्तै पूर्वएसएसपी यादवराज खनाल सदस्यसचिव, पूर्वएसएसपी घनानन्द भट्ट र पूर्वडिएसपी नारायण गिरी सदस्य छन्। यो तदर्थ समिति भएको र छिट्टै काठमाडौंमा भेला बोलाउन लागिएको उनीहरु बताउँन्। अवकाशप्राप्त पूर्व प्रहरी अधिकृतलाई गोलबद्ध गर्न र देश, समाज तथा पूर्वप्रहरीको हितमा काम गर्न क्लब गठन गरिएको बताइए पनि उनीहरुले कस्ताकस्ता गतिविधि गरिरहेका छन् भन्नेबारे केही जानकारी गराइएको छैन। अवकाश प्राप्त प्रहरीकै अर्को संगठन पनि क्रियाशील छ। पूर्वएसएसपी वसन्त कुँवरले पूर्वप्रहरी संगठनको नेतृत्व गरिरहेका छन्।

अवकाश पाएलगतै नेपाल प्रहरीका उच्च अधिकारीहरू किन राजनीतिक छहारी खोज्छन् ? पूर्वप्रहरी अधिकृत तीनवटा कारणले राजनीतिमा प्रवेश गरेको देखिन्छ। पूर्वगृहसचिव गोविन्द कुसुमका अनुसार शक्तिप्रतिको आशक्ति, अवकाशपछि के गर्ने भन्ने योजना नहुनु र सरकारले दक्षता उपयोग नगर्दा केही पूर्वप्रहरी अधिकृत राजनीतिमा प्रवेश गरेको देखिन्छ। उनले भने, ‘माथिल्लो पदमा रहँदा शक्ति र सुविधाको अभ्यास प्रशस्तै हुन्छ। सेवानिवृत्त भइसकेपछि त्यसमा कमी आउँछ। पदमा रहँदा उनीहरू शक्तिको दुरुपयोग र सदुपयोगको साक्षी हुन्छन्। अवकाशपछि पनि उनीहरूमा पदमा रहँदाजस्तै शक्ति र सुविधा उपभोग गर्ने चाहना जागृत हुन्छ। अवकाशपछि व्यवस्थित योजना बनाउन नसक्दा र आफूसँग भएको दक्षता सरकारले पनि उपयोग नगर्दा कतिपय सक्रिय जीवन बिताउन राजनीतिमा लागेका हुन्छन्। यसै कारण केही पूर्वप्रहरी अधिकृत पनि राजनीतितर्फ आकर्षित भएका छन्।’

प्रकाशित: ६ चैत्र २०७५ ००:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App