८ वैशाख २०८१ शनिबार
खेल

साफ महिला च्याम्पियनसिप : पहिलो सेमिफाइनलमा नेपाल र श्रीलंका भिड्दै

अभ्यास गर्दै नेपाली टोली।    तस्बिर : चुमन बस्नेत/नागरिक

विराटनगर – नेपालमा जारी साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा आयोजक नेपालले पाहुना टोली श्रीलंकालाई आतिथ्य गर्दै उपाधि उचाल्ने लक्ष्यका साथ बुधबार मैदान उत्रनेछ। सम्पन्न सबै संस्करणको उपाधिविजेता भारतले भने बुधबारै दिनको दोस्रो सेमिफाइनलमा बंगलादेशको सामना गर्दै छ। 

सबै खेलमा स्पष्ट जित निकाल्दै उपाधि आँगनमै राख्ने उद्देश्यका साथ केही महिनाअघिबाट अभ्यासमा रहेको नेपाल प्रतियोगिताको तेस्रो खेलमा पनि जितको खोजीमा हुनेछ। समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ३–० ले पराजित गरेको थियो भने लिगको दोस्रो खेलमा बंगलादेशलाई पनि समान ३–० ले नै पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको थियो। 

जारी प्रतियोगिताका सबै खेलमा जित निकाल्दै उच्च मनोबल बटुलेको नेपाली टोली भारतको लगतार जितको यात्रालाई पूर्णविराम लगाउन चाहन्छ। नेपालमा पहिलो पटक आयोजना भएको महिला साफ च्याम्पियनसिपमा नेपाली टोलीका लागि घरेलु मैदान र दर्शक सहयात्री हुनेछन्। अघिल्लो खेलमा सहज जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको नेपाली टोलीका प्रशिक्षक हरि खड्काले आक्रामक खेललाई निरन्तरता दिने बताए। 

‘लिगचरणको खेलमा जस्तै श्रीलंकाविरुद्धको खेलमा पनि निरन्तरता दिनेछौं, हाम्रो रणनीति आक्रामक खेल्दै प्रतिद्वन्द्वीलाई दबाबमा राख्ने नै हो,’ प्रशिक्षक हरि खड्काले भने, ‘हाम्रो मुख्य बलियो पक्ष भनेको फरवार्ड लाइन र डिफेन्स हो। धेरै गोलभन्दा राम्रो खेल देखाएर उपाधि होडमा पुग्ने लक्ष्य रहेको छ। त्यसका लागि हाम्रो रक्षापंक्ति र फरवार्डले मजबुत भूमिका निर्वाह गर्नेछन् भन्नेमा आशावादी छु।’

२०१२ र २०१४ का संस्करणमा सेमिफाइनलसम्मको यात्रा तय गरेको श्रीलंकाविरुद्वको खेलका लागि नेपाल शारीरिक र मानसिक रूपमा तयार रहेको प्रशिक्षक खड्काले थपे। 

‘कुनै पनि प्रतियोगितामा सहभागी प्रतिद्वन्द्वी कमजोर हुँदैन। विपक्षीलार्ई सधैँ एकै नजरले हेर्नु हुँदैन,’ नेपाली पुरुष टोलीका पूर्वकप्तान तथा नेपाली महिला टोलीका मुख्य प्रशिक्षक खड्काले थपे, ‘विपक्षीलाई कमजोर आकलन गर्दैन। हामीले स्वाभाविक खेल देखाउँदै स्पष्ट जित निकाल्ने हो। अहिलेसम्मका खेल हेर्दा हामी बलियो देखिएका छौं। श्रीलंका पनि पछिल्लो समय दक्षिण एसियामा उदाउँदै गरेको शक्ति हो। अभ्यासमा सिकेका कुरालाई मैदानमा कार्यान्वयन गर्नेछाैं।’ 

एन्फा निर्वाचनपछि महिला टोलीको जिम्मेवारी सम्हालेका प्रशिक्षक खड्काले श्रीलंकाविरुद्ध हुने पहिलो सेमिफाइनलमा टोलीको परिवर्तनबारे भने बोल्न चाहेनन्। मुख्य हतियार काउन्टर र डिफेन्स लाइन भएको उनको भनाइ थियोे। त्यस्तै, नेपाली टोलीकी कप्तान निरु थापाले श्रीलंका राम्रो टोली भएकाले आफूहरूले मिहिनेत गरेर खेल्ने बताइन्। 

‘हाम्रो टोलीको आक्रामक रणनीतिलाई श्रीलंकाविरुद्धको खेलमा निरन्तरता दिनेछौं। सँगै हामीले सबैले मिहिनेतलाई पनि निरन्तरता दिनेछौं। रक्षापंक्ति पनि बलियो छ,’ कप्तान थापाले थपिन्, ‘मिडफिल्डले सहयोग गरेमा गोल गर्न सजिलो हुनेछ।’ 

सम्पन्न चार संस्करणमध्ये नेपालले श्रीलंकासँग तीन पटक सामना गरेको छ। जसमा नेपालले तीन खेलमा जित हात पारेको छ। २०१२ मा श्रीलंकामा नै भएको सेमिफाइनल भेटमा नेपालले ३–० को पहिलो जित निकालेको थियो भने पाकिस्तानको भूमिमा २०१४ मा सम्पन्न समूहचरणको खेलमा ३–० कै जित निकालेको थियो। त्यसपछिको २०१६ मा भारतमा आयोजना भएको तेस्रो भेटमा भने १–० को संघर्षपूर्ण जित हात पारेको थियो। उक्त खेलमा नेपाल उपहार गोलबाट विजयी भएको थियो। 

बुधबारै सम्पन्न अर्को खेलमा साबिक विजेता भारतले बंगलादेशको सामना गर्नेछ। भारत अघिल्ला संस्करणमा जस्तै जितलाई निरन्तरता दिने सोचमा हुनेछ भने जारी प्रतियोगिताको लिग खेलमा एकमा जित र एकमा हार बेहोर्दै अन्तिम चारमा स्थान बनाएको बंगलादेश पनि भारतविरुद्ध जित निकाल्दै इतिहास रच्ने दाउमा हुनेछ। 

दक्षिण एसियाका ६ टोलीको सहभागिता रहेको प्रतियोगितामा समूह ‘ए’ बाट भुटान र समूह ‘बी’ बाट माल्दिभ्स लिगका दुवै खेलमा पराजय भोग्दै स्वदेश फर्किएका छन् । प्रतियोगिताको फाइनल खेल शुक्रबार विराटनगरको सहिद रंगशालामा हुनेछ। 

 

प्रकाशित: ६ चैत्र २०७५ ००:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App