७ वैशाख २०८१ शुक्रबार
राजनीति

सांसदको प्रश्न : हाम्रो मर्यादा क्रम किन तल ?

काठमाडाैं- हामी जनताबाट निर्वाचित भएका हौँ, तर जिल्लाको कार्यक्रममा जाँदा हाम्रो मर्यादाक्रम पूर्वमन्त्रीभन्दा तल राखियो। यसले हामीलाई असजिलो बनाएको छ। यो समस्याको समाधान गर्ने विषयमा सरकारले केही पहल गरेको छैन? यो भनाइ हो प्रतिनिधिसभाका सदस्य झपट रावलको। 

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलवारको बैठकमा सरकारले निर्धारण गरेको मर्यादाक्रमले जननिर्वाचित सांसदलाई अपमान गरेको भन्दै रावलले त्यसलाई सच्याउन गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराए। 

सांसद रावलले भने, “मैलै प्रतिनिधिसभाको निर्वाचनमा एक पूर्वमन्त्रीलाई पराजित गरे, जनताले मलाई जिताए, तर जिल्लाको कार्यक्रममा जाँदा जनताले पराजित गरेका पूर्वमन्त्रीलाई मर्यादामा माथि राखिन्छ यसले राम्रो गरेको छैनजस्तो मलाई लाग्छ, मर्यादाक्रम निर्धारण गर्दा किन यो विषयलाई सम्बोधन गरिएन गृहमन्त्रीज्यू।”  

रावलले प्रतिनिधिसभाको निर्वाचनमा कैलाली क्षेत्र नं २ मा पूर्वमन्त्री मोहनसिंह राठोरलाई पराजित गर्दै निर्वाचित भएका हुन्। यस्तै बैठकमा सांसदहरुले उपसभामुख तथा अन्य केही विशिष्ट व्यक्तिको मर्यादाक्रम नमिलेको भन्दै गृहमन्त्रीलाई समस्या समाधानका लागि आग्रह गरे। सांसदहरुको जिज्ञासापछि गृहमन्त्री थापाले भने, “सांसदहरुको मर्यादाक्रम पूर्वमन्त्रीभन्दा माथि नै हुन्छ।” 

उनले मन्त्रिपरिषद्को बैठकमा मर्यादाक्रमका विषयमा छलफल जारी रहेको र केही समयभित्रै राजपत्रमा पुनः प्रकाशित हुने जानकारी दिए। प्रदेश र स्थानीय तहका पदाधिकारीलाई समेत समेटेर नयाँ मर्यादाक्रम निर्धारण गर्ने विषयमा छलफल जारी रहेको जानकारी दिँदै उनले सङ्घीय संसद्का सांसदहरुको मर्यादाक्रम पूर्वमन्त्रीभन्दा माथि नै रहने व्यवस्था हुने बताए। 

गृहमन्त्री थापाले जनप्रतिनिधिको मर्यादाक्रमलाई माथि नै राख्ने राष्ट्रिय नीति रहेको उल्लेख गर्दै पूर्वमन्त्रीभन्दा सङ्घीय संसद्का सांसदको मर्यादाक्रम माथि नै रहने उल्लेख गरे। उनले भने, “नयाँ मर्यादाक्रम मन्त्रिपरिषद् बैठकबाट पारित गरी छिट्टै राजपत्रमा प्रकाशित गर्ने सरकारको योजना रहेको छ।” उनले नयाँ मर्यादाक्रमका विषयमा सरोकारवाला निकायसँग आवश्यक छलफल भइरहेको पनि समितिलाई जानकारी गराए। सरकारले केही समयपहिले नयाँ मर्यादाक्रम सार्वजनिक गरेको थियो। रासस

प्रकाशित: ५ चैत्र २०७५ १६:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App