७ वैशाख २०८१ शुक्रबार
समाज

सडकमै चालकको स्वास्थ्य जाँच

खोटाङ – खोटाङमा सडकमै सवारी साधनका चालकको स्वास्थ्य जाँच गरिएको छ। अस्थायी जिल्ला ट्राफिक प्रहरी कार्यालय दिक्तेलको आयोजनामा मंगलबार स्वास्थ्यकर्मीलाई सडकमै राखेर ओहोर–दोहोर गर्ने सवारी चालकको स्वास्थ्य जाँच गरिएको हो।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गत चैत्र १ गते सुरु भएको सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी १५ दिने अभियानकै क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको रमितेडाँडामा स्वास्थ्यकर्मी राखेर चालकको स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको हो। 

रमितेडाँडामा स्वास्थ्यचौकी बाम्राङका अहेव प्रकाश घिमिरे र अनमी टिकाकुमारी श्रेष्ठले दिक्तेल भित्रिने र बाहिरिने सवारी साधनका चालकको रक्त चाप जाँच गरेर आवश्यक स्वास्थ्य सल्लाह दिएका छन्।

चालकको स्वास्थ्य अवस्थाले पनि सडक दुर्घटनामा भूमिका खेल्ने भएकाले चालकको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर उपचारका लागि सल्लाह दिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले जानकारी दिए।

स्वास्थ्य जाँचका क्रममा कतिपय चालकको उच्चरक्तचाप भएको पाइएको बताइएको छ। ‘स्वास्थ्य जाँचका क्रममा तत्काल औषधि सेवन गर्नुपर्ने अवस्थाका चालक पनि पाइयो’, घिमिरेले भने, ‘त्यस्ता समस्या भएका चालकलाई तत्काल औषधि सेवनका लागि सुझाव दिएका छौं।’ 

जिल्ला भित्रिने र बाहिरिने बस, ट्रक, जीप र मोटरसाईकल गरी २१ सवारी साधनका चालकको स्वास्थ्य जाँच गरिएको छ। ‘शारीरिक रूपमा स्वस्थ चालक भए सवारी यात्रा सुरक्षित हुन्छ’, डिएसपी केसीले भने, ‘प्रेसरको समस्या भएका चालक जुनसुकैबेला ढल्न सक्छ, चक्कर लाग्न सक्छ, र दुर्घटनाको खतरा हुन्छ। सडक दुर्घटना न्यूनीकरण गरेर मानव सुरक्षा गर्ने स्वास्थ्य जाँचको लक्ष्य हो।’

प्रकाशित: ५ चैत्र २०७५ ११:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App