७ वैशाख २०८१ शुक्रबार
विचार

एक पत्र सम्पादकलाई

शंकर लामिछाने
मणि दाजु, 
तपाईंले भन्नुभएको छ समाजको विशेषांकको निमित्त म केही लेख दिउँ – खास गरी पत्रकारिता र त्यो पनि ‘समाज’ – कै समालोचना गरेर ! करीब दुई घण्टादेखि समाजको मसँग भएको संग्रह पल्टाईरहें र सोचिरहें क्यै त लेख्नै प¥यो । तपाईं एक मित्रको रुपमा मबाट चाहनुहुन्छ आफ्नु कला कौशलको समीक्षा। 

त, यो दुई घण्टा म सोचिरहें। र केही पनि सोच्न सकिनन्। कम से कम छाप्ने लायक त केही पनि सोच्न सकिनन्। तपाईं भन्नुहोला छाप्ने लायक छुट्टाउने, अधिकार त सम्पादकमाथि पो छ।

मेरो, यहाँनिर, छाप्ने लायक भन्ने शब्द प्रयोगको अर्थचाहिँ हो, त्यस्तो विषय जो मानिसले पढ्न मन पराउँछ। अब तपाईंकै पत्रिका लिउँन मृत्यु, दुर्घटना, असाधारण कष्ट, पीडा ईत्यादि नै त हुन् जसले त्यसमा प्रमुखता पाएका छन्। किन अर्काको कष्ट, दुर्घटना र मृत्युलाई मानिस पढ्न मन पराउँछ ? (मन नपर्ने भए तपाईंको पत्रिका कहिले नै बन्द भै सक्थ्यो !)

म आजकल अनौठा पुस्तकहरु पढिरहेछु , स्टीफन ज्वाईनको ‘द वल्र्ड अफ यस्टर डे’, अल्वेयर कामूको ‘मीथ अफ सीसीफस, र चित्तरञ्जन नेपालीको ‘भीमसेन थापा र तत्कालीन नेपाल’ । यसैबाट तपाईं बुझ्नु हुनेछ म अलि अध्वययन गर्न खोजिरहेछु मानिसको मृत्युपछिको भावना।

मृत्युको अध्ययन गर्नानिमित्त आरम्भ गर्ने बिन्दु हो जीवन। कारण मृत्युको जन्म जीवनको जन्म साथै भएको हुन्छ । त्यो क्षण जब म जन्में, त्यही क्षण नै मेरो मृत्युको प्रथम क्षण, प्रथम पाइलो थियो, होइन त ? त आज जीवनकै कुरा गरौं र मृत्युलाई चिन्हें प्रयास गरौं। 

म अहिले पसलमा बसिरहेछु। पानी परिरहेछ झमझम। भर्खरै राजदूतहरु र मन्त्रीहरुको मोटरको तांती फक्र्यो – नरप्रताप थापाको शोकसभा थियो रे रञ्जनामा ...।

सडक पारिपट्टि एउटा माग्ने जस्तो मानिस गणेशथानको देवलको चौतारामा बसेर लँगौटीमा अलमलिएको जुम्रा मारिरहेछ । एउटा मानिस, म त्यसलाई चिन्दछु तर नाम जान्दिन, जो दिनभरी त खसी बोका बेची हिंड्दछ, अहिले भजन अलाप्दै गणेशजीकहाँ गइरहेछ , हातमा उसको थाली छ, चन्दन अक्षेता र फूल अबीरले भरेको।

एउटा कुकुर आंग चिलाएकोले पेटीको भित्तामा आंग घस्रिरहेछ । एउटी कैली गाई गइन्, कसैले उनको निधारमा पूजा गरेको छ । केटीहरु छाता ओढेर किताब च्यापी गइरहेछन् । एउटा केटो बर्सात ीओढी स्कूल जान बस पर्खिरहेछ । एउटा मानिस पिउन बूकमा खातका खात चिठ्ठी चयापेर दोबाटोमा कता नै–जाउँ– पहिलेको भावमा अल्मलिरहेछ।

र, मलाई एउटा लेख लेख्नु छ। यस्तो लेख जसले नेपाली साहित्यको उत्थान गरोस्, यस्तो लेख जसले मणि दाजुको ‘समाज’ को स्तर नगिरावोस्, यस्तो लेख जुन पढ्दा नेपाली जनता रमाओस्। तर मणि दाजु, म अल्मिलिरहेछु, मेरो मन स्थिर छैन, सबै कुरा जो आँखा–अगाडि घटिरहेछन् तिनलाई म हेरिरहेछु, र बुझ्न नसक्नेछु।

म बुझ्दिन त्यो जुम्रा जन्मयो नै किन जब उसलाई लंगौटी कै कापमा दुईवटा औंलाका नङदृ पवसिएर मर्नु थियो ? त्यो मानिस किन गणेशको पूजा पनि गर्दछ र खसी बोकाको ज्यान पनि लिन्छ ? त्यो कुकुर लूतो भएर मर्ने नै तर्जुमामा छ भने किन भुकी टोपल्छ ? मानिस गाईलाई पूजा गर्छ भने उसको बाछीको भाग खोसेर किन दूध खान्छ फेरि ? त्यो तरुनी केटी जो अग्रवालको थ्योरी अफ इकोनोमिक्स बोकेर कलेज जाँदैछ, किन त्यो पढ्छे जब उसलाई विधवा हुनुपर्ने छ, सायद पाइल जानुपर्ने छ, शायद वेश्यावृत्ति अपनाउनुपर्ने छ शायद... त्यो बच्चा के को आशामा अरुको छापेको विश्वासहरु बोकेर स्कूल जाँदै छ जब एक दिन उसलाई रानी पोखरीमा डुब्नु नै छ , व्यर्थ बनी बेकार बनी, दुई तीन छोरा छोरीको पिता र एउटी स्वास्नीको पोइ र कैयन्र अरु केटाहरुको प्रतिस्पर्थी बनेर ? त्यो पिउन किन ओसारिरहेछ खामबन्दी चिठ्ठीहरुको, जब उसलाई थाहा छैन पत्रमा के छन् ? कसैको खोसुवा–पूर्जी, कसैको बिबाहको निमन्त्रण, कसैको मृत्युको समाचार ?

बुझ्नु भो मणि दाजु, यी जम्मै चरित्र तपाईंका पत्रिकामा स्थान पाउन सक्ने पात्रका हुन् । ती आज भाद्र ३, २०१९ साल बिहान दस बजे मेरा निमित्त बनेका हेडलाईनहरु हुन् । यिनको महत्व, तर, तपाईंलाई छैन, कारण ती अझै जीवनमा छन्, अहिले अहिले केही गरी ती भाक्लाक भुक्लुक्क सडकमा मरुन्, या रानीपोखरीमा हाम्फालन्, या मोटरले किल्चिउन्, तपाईं भातको गाँस छाडेर प्रेसतिर भाग्नुहुनेछ। तपाईंको कलम कागजमा दौडिनेछ, तपाईंको कम्पोजिटरले आंलामा चल्नेछ, तपाईंको ट्रेडलले काम पाउने छ, पत्रिका छाप्नेछ, र बिक्ने छ पाँच पैसामा ।
ढ्याक्क
ढ्याक्क
ढ्याक्क
ढ्याक्क
प्रत्येकपल्ट एक इम्प्रेशन र छःमृत्यु। यो यत्तिका जनाको–जुम्रा, पुजारी, कुकुर, केटी, केटा र पिउन छः जनाको जीवनको मूल्इ सिर्फ पाँच पैसामा बिक्नेछ ? यिनको मृत्युको समाचार बोकेर अखबारका पानाहरु छापिनेछन्, सड्नेछन्, बिलाउँनेछन् खतम हुनेछन्।

मणि दाजु, के कहिले यस्तो हुन सक्दैन, तपाईं अखबारमा जन्मको मात्र खबर छाप्नुहोस् ? के यस्तो हुन सक्दैन । तपाईं भीमसेन थापाको आत्महत्याको कारण छाप्न सकनुहोस्र ? के यस्तो हुँदैन, कहिले त साँढे र वर्षको सम्पादकीय त्यागेर तपाईं आफ्नो सच कथन भन्न सक्नुहोस् ? के यस्तो हुन सक्दैन, कहिले आफैंलाई चिरेर आफ्नु महत्व छाप्नुहोस् ?

तपाईं आज सोच्नुहुँदो हो – पत्रिका चलाएर तपाईं देश र जनताको सेवा गर्दै हुनुहुन्छ । तपाईं भन्ठान्नुहुँदो हो, नेपाली इतिहासमा तपाईंको स्थान छ, सदा रहिरहनेछ, तपाईंको देन पत्रकारिता जगतले कहिले पनि भूल्न सक्नेछैन होला । मूर्ख दाजु – बेकार हो ! तपाईंको नाम अखबारले त्यहाँ छापेको छ सधैं जहाँ समाचारलाई एक कालो धर्काले तपाईंबाट सीमा रेखा छुट्याएको हुन्छ।

थाहा छ तपाईंलाई, तपाईंको अखबारले रोजै कति कसिंगर र गुहु झ्यालबाट चोकमा मिल्काउँछ ? थाहा छ तपाईंलाई ...? थाहा छ तपाईंलाई ...? थाहा छ तपाईंलाई ? तपाईंलाई केही थाहा छैन।

तपाईंलाई किन साँढेमाथि सम्पादकीय लेखेँ भन्ने पनि थाहा छैन । तपाईंलाई किन भीमसेन थापामाथी सम्पादकीय लेखिन भन्ने पनि थाहा छैन, तपाईंलाई किन सम्पादकीय लेख्छु भन्ने थाहा छैन, तपाईंलाई किन सम्पादकीय लेख्दिन भन्ने पनि थाहा छैन । 

अझ, मणि दाजु, तपाई किन सम्पादक हुनुभयो; त्यो पनि थाहा छैन तपाईंलाई, तपाई सम्पादक नभए के हुनुहुन्थ्यो त्यो पनि थाहा छैन तपाईंलाई। 

तपाईंको पत्रिका त उ त्यो माग्नेको लँगौटी हो, जसका कापमा रोज ट्रेडलका औंलाले जुम्रा मारिरहेछन् । म सायद त्यो लुत्याहा कुकुर हुँ, तपाई सायद निधारमा टीका लाएको त्यो गाई हो । अथवा तपाईं कुकुर हो, म गाई हुँ अथवा म जुम्रा, तपाई नङ्ग्रा अथवा तपाईं पूजारी म बोका अथवा तपाईं पिउन म चिठ्ठी, अथवा तपाईं केटी म केटा । तपाईं जे पनि हो, म जे पनि हुँ।

तपाईं र म जन्मिनुअघि यसो सोचिहेर्नुस् त, कत्ति आशा र विश्वास र हिम्मत संसारमा जन्म्यो। खै, त्यो आज खै ? तपाईं र म जन्मिनुअघि कति शहीद र कति गद्दार जन्मे, खै ती आज खै? अमरसिंहको बारेको सत्य के ? इतिहासको तथ्य खै? सत्य खै, सत्यको सत्य खै ? आज तपाईं भन्न सक्नुहुन्छ, इतिहासमा कहाँनिर कल्पना शुरु भएको छ, कहाँ वास्तविकता हराएको छ? भन्न सक्नुहुन्छ, तपाईंको अखबारमा छपेका आत्महत्याका खबरको वास्तविकता के थियो ? किन रामेचा या कृष्णचा या क खचाले आफूलाई मार्नुअघि छोरा छोरीलाई र स्वास्नीलाई मार्यो ? भन्न सक्नुहुन्छ के त्यस्तो कारण थियो जसले ती मरे ? 

मणि दाजु, बेकार छ। हामी सदा नै आफूलाई छोप्न खोज्छौं। हामी अर्काको मृत्युको समाचारबाट आफ्नु मृत्युको समाचार छोप्न खोज्छौं। हामी अर्काको विश्वास पढेर आफ्नो विश्वास छोप्न खोज्छौं। हामी आफ्नो मनको सत्य कुरा श्रद्धाले छोप्न खोज्छौं ।

म जो ईश्वरको कल्पना गर्छु, त्यसको पूजा गर्छु, म आफ्नु औंलामा लागेको बोकाको रगतको रङ्गलाई अबीरले छोप्न खोज्छु। तपाईं जो साँढेमाथि सम्पादकीय लेख्नुहुन्छ, आफू गाई भएको छोप्न खोज्नुहुन्छ। मणिराज उपाध्यायलाई सम्पादक मणिराज उपाध्यायले छोपिरहेछ। शंकर लामिछानेलाई पतिपिता व्यापारी शंकर लामिछानेले छोपिरहेछ। तपाईं आत्महत्या गर्दै हुनुहुन्छ, म आत्महत्या गर्दैछु । तपाईं र म नमरिकन के खबर लायकका हुँदैनौं ? हाम्रो आत्महत्याको प्रोसेस के यत्ति महत्वहीन छ, हामी स्वयं त्यस बारे सोच्न लेख्न पनि चाहन्नौं? यो सोचाइलाई छोप्नु नै हाम्रो जीवन हो त ? 

मणि दाजु, यस मनोस्थितिमा म कसरी लेख लेख्न सक्छु? कसरी म साहित्यका सृजन गर्न सक्छु, कसरी म नेपाल आमाको सेवा गर्न सक्छु? कसरी म राष्ट्रियताको नारा लगाउन सक्दछु ?-जब मेरो नारा, मेरो भविष्य, मेरो भाग्य, मेरो विश्वास, मेरो खोसुवा पुर्जी, मेरो प्रमोशन, मेरो निमंत्रण, मेरो मृत्यु खामबन्दी छ ? जब एउटा पिउनले त्यसलाई ओसारिरहेछ, एउटा यस्तो पिउन जसलाई खामबन्दी चिठ्ठीको मजबुन थाहा छैन। 

भो, मणि दाजू, विशेषांक निकाल्ने आवश्यकता नै के छ र? तपाईंले विशेषांक निकाल्ने अठोट नै गर्नुभएको छ भने, म के भन्न सक्छु र यत्ति हो (यस पटक म लेख दिन असमर्थ छु। शायद अर्को पटक तपाईंको पत्रिकाको हेडलाइनमा आउनबाट उम्किएँ भने ( शायद अर्को वर्ष। कृपया पत्र पढेर तुरुन्तै च्यातिदिनुहोला।


तपाईंको भाइ, 
शंकर लामिछाने ।
साभार : शंकर लामिछानेको निबन्ध संग्रह ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’बाट ।)

 

प्रकाशित: ५ चैत्र २०७५ ०९:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App