७ वैशाख २०८१ शुक्रबार
समाज

सुक्खायामसँगै सिन्धुलीमा आगलागीका घटना बढ्दै

तस्बिर : आगलागीबाट सखाप भएको सिन्धुली गोलञ्जोर गाउँपालिका ५ निगालेका बम बहादुर लुङ्गेलीको घर।

सिन्धुली – यहाँको गोलञ्जोर गाउँपालिका ५ निगालेका बम बहादुर लुङ्गेलीको घर आगलागीले पूर्ण रूपमा नष्ट भयो। सोमबार घरछेउकै झारबुट्टा नष्ट गर्ने क्रममा अचानक आगो लागेको थियो। 

दिउँसो ३ बजेतिर लागेको आगोले उनको घरका सबै सामाज जले। साथै नगद २० हजार पनि जलेर नष्ट भयो। मानवीय क्षति नभए पनि उनको घर र घरभित्र रहेका सम्पूर्ण सामान नष्ट भएको छ। सुक्खायाम बढेसँगै सिन्धुलीका विभिन्न स्थानमा आगलागीका घट्ना बढ्न थालेको छ।

गत शनिबार सिन्धुलीको दुधौली नगरपालिका–५ पोखरेमा आगालागी पनि आगलागी भयो। आगलागीबाट एक जनाको जलेर मृत्यु नै भयो। २ घर जलेर नष्ट भए। 

प्रहरीका अनुसार पछिल्लो एक सातामा मात्र आगलागीबाट १ जनाको ज्यान गएको छ भने १७ घरगोठ जलेर नष्ट भइसकेको छ। पोखरेका स्थानीय शान्तिमाया खवतरीको घरमा आगालागी भएपछि आगो निभाउने क्रममा दुधौली नगरपालिका ५ का ४७ बर्से रेवती अधिकारीको मृत्यु भएको थियो। 

अगालागीबाट ६ लाख बराबरको क्षति भएको स्थानीयले बताए। केही दिनअघि जिल्लाकै तीनपाटन गाउँपालिका ७ झनझनेमा आगालागी हुँदा आठ वटा घरगोठ पूर्ण रुपले जले। ४४ लाख बराबर क्षति भयो। स्थानीय ज्ञानबहादुर सार्कीको घरबाट सल्किएको आगोले घरगोठसहित ८ वटा घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

स्थानीय टीकाबहादुर सार्की, हितबहादुर श्रेष्ठ र टेकबहादुर सार्कीको घरगोठ जलेको स्थानीय बताए। टीकाबहादुरको किराना पसल, नगद २ लाख, हितबहादुर श्रेष्ठको २ घर, २ गोठ, २ तोला सुन, १ लाख ७५ हजार नगद, ३ वटा बाख्रापाठा र कुखुरा जले। टेकबहादुर सार्कीको भने करिब २ लाख रुपैयाँ बराबर क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

गर्मी बढेसँगै सिन्धुलीमा आगलागीका घटना बढ्न थालेका छन्। मान्छेको सानो गल्तीले पनि ठूलै मानवीय क्षति हुने गरेको छ। जिल्ला प्रहरी कार्यालयले सम्भावित आगलागीको जोखिम न्यूनीकरण गर्न विभिन्न सचेतनामूलक कार्यक्रम गरे पनि त्यो प्रभावकारी हुन सकेको छैन।

 

प्रकाशित: ५ चैत्र २०७५ ०९:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App