८ वैशाख २०८१ शनिबार
विचार

चौथो औद्योगिक क्रान्ति

विमलप्रताप शाह
वल्र्ड इकोनोमिक फोरमले हालसालै विश्व प्रतिस्पर्धात्मक सूचकांक प्रतिवेदन २०१८ सार्वजनिक ग-यो। उक्त प्रतिवेदनमा अध्ययन गरिएका एक सय ४० देशमध्ये अमेरिकालाई सबभन्दा प्रतिस्पर्धात्मक देश भनिएको छ। सोही प्रतिवेदनमा चीन २८औं स्थानमा छ, भारत ५८औं स्थानमा रहेको छ भने नेपाल गत वर्षको भन्दा एक स्थान तल झरेर एक सय नवौं स्थानमा पुगेको छ। संसार चौथो औद्योगिक क्रान्तिको चरणमा प्रवेश गर्न लागेको अवस्थामा यस सूचकांकमा नेपाल तलको स्थानतिर रहनु नराम्रो समाचार हो। विभिन्न राजनीतिक कारणहरूले गर्दा नेपालले पहिलोदेखि तेस्रो औद्योगिक क्रान्तिमा सहभागी भई लाभ लिन सकेन र सरकारले आवश्यक तयारी गर्न नसकेकोले आसन्न चौथो क्रान्तिबाट पनि लाभ लिन सक्दैन जस्तो देखिँदै छ।

चौथो औद्योगिक क्रान्ति पहिला तीन ओटाभन्दा पूर्णतः फरक यो अर्थमा हुन्छ कि नयाँ प्रविधिहरूले भौतिक, डिजिटल तथा जैविक क्षेत्रहरूलाई एउटै बनाउँछन् र सबै विधा, अर्थतन्त्र तथा उद्योगहरूलाई प्रभाव पार्छन्। यस्तो अवस्थामा पनि नेपालजस्ता विकासोन्मुख देशहरूले यस क्रान्तिको लाभलाई ग्रहण गर्ने मामिलामा आवश्यक तयारी गरिरहेका छैनन्। सायद उनीहरूले यस विषयबाट कसरी लाभ लिने भन्नेमा अझै यकिन गर्न सकेका छैनन्। पहिलो औद्योगिक क्रान्ति ईस्वीको १८औं शताब्दीको अन्त्यतिर सुरु भएको थियो, जसमा पानी र वाफको शक्तिलाई प्रयोग गरी उत्पादनलाई मेसिनको माध्यमबाट गर्न थालियो। दोस्रो औद्योगिक क्रान्ति २०औं शताब्दीको सुरुमा भएको थियो, जसमा कामको विभाजनको आधारमा आम रूपमा उत्पादन सुरु भयो। तेस्रो औद्योगिक क्रान्ति सन् १९७० को दशकमा सुरू भयो, जसले सूचना–प्रविधि तथा इलेक्ट्रोनिक्सको प्रयोग गरी स्वचालनलाई अझ बढावा दियो।

म्याकिन्सी ग्लोबल इन्स्टिच्युटले हालसालै गरेको अध्ययनमा उल्लेख गरिएको प्रक्षेपणअनुसार व्यवसायहरूमा हुने स्वचालनले आगामी १२ वर्षमा ८० करोड जति रोजगारीका अवसरहरू गुम्नेमा प्रत्यक्ष योगदान गर्नेछन्। अमेरिकामा मात्रै स्वचालनको कारणले एक तिहाइ रोजगारीका अवसरहरू गुम्नेछन्।

आसन्न क्रान्तिको बारेमा प्रष्ट पार्न तथा देश तथा व्यवसायहरूलाई उपयुक्त तयारीहरू गराउन मद्दत गर्नका लागि वल्र्ड इकोनोमिक फोरमका संस्थापक तथा कार्यकारी अध्यक्ष प्राध्यापक क्लउस स्कवाबले ‘द फोर्थ इन्डस्ट्रिय रिभोलुसन’ नामक एक पुस्तक लेखेका छन्। उनले किताबमा उल्लेख गरेको जस्तै ‘मानव इतिहासको दृष्टिकोणबाट हेर्दा यो समयमा पाइन सक्ने अवसरको सम्भावना कुनै समयमा पनि उपलब्ध थिएन वा हुन सक्ने सम्भावित हानि पनि इतिहासको कुनै कालखण्डमा भएको थिएन।’ तर निर्णयकर्ताहरू भने १८औं शताब्दीलाई सुहाउँदो मानसिकताबाट काम गरिरहेका छन्। राजनीतिक नेतृत्वकर्ता तथा आम नागरिकहरूले हातेमालो गर्दै काम गरी मानव जाति तथा पृथ्वीलाई पहिलो प्राथमिकतामा राख्ने गरी भविष्यको खाका कोर्नुपर्छ। यदि मानव जातिले आफ्नो लालचलाई पूरा गर्नका लागि पृथ्वीलाई विनास गर्न जारी राख्ने हो भने चौथो औद्योगिक क्रान्तिले संसारलाई बस्नको लागि झन् बढी अयोग्य बनाउनेछ र गरिबीको खाडललाई झन् बढाउने छ भनी प्राध्यापक स्क्वाबले संकेत गरेका छन्।

मानिसहरूले आफूलाई संसारकै सबभन्दा बुद्धिमान् प्राणी ठाने पनि उनीहरू भाइरस जस्तै हुन् किनकि मानिसहरू पनि नियन्त्रण नभएको भाइरस जस्तै अनियन्त्रित रूपमा विस्तार भई आफूले आश्रय लिएको ठाउँलाई नै विनाश गर्छन्। संसारभर मानिसहरूको जनसंख्या ज्यामितीय रूपमा वृद्धि भएको छ र त्यसले धेरै सहरहरूलाई सुधार नै गर्न नसकिने गरी क्षति पु¥याएको छ। काठमाडौं पनि त्यसैको एउटा उदाहरण हो। प्राणी जगतका अन्य जीवहरू प्रकृतिमा एक–अर्कासँग सह–अस्तित्व कायम गरी बस्छन्। उनीहरू प्रकृतिमा बस्दा आफूलाई बाँच्नका लागि चाहिनेमात्रै खर्च गरी बस्छन् र पर्यावरणमा सन्तुलन कायम गर्छन्।

हामी अहिले यस्तो बिन्दुमा आइपुगेका छौं कि संसारको विचारको गतिमा परिवर्तन भइरहेको छ। राजनीतिक तथा व्यावसायिक नेतृत्वकर्ताहरू यसका बारेमा अज्ञानतामा रहे पनि संसारभर रोजगारीको अवसरमा एकदमै ठूलो स्तरको गिरावट आउनेछ। म्याकिन्सी ग्लोबल इन्स्टिच्युटले हालसालै गरेको अध्ययनमा उल्लेख गरिएको प्रक्षेपणअनुसार व्यवसायहरूमा हुने स्वचालनले आगामी १२ वर्षमा ८० करोड जति रोजगारीका अवसरहरू गुम्नेमा प्रत्यक्ष योगदान गर्नेछन्। अमेरिकामा मात्रै स्वचालनको कारणले एक तिहाइ रोजगारीका अवसरहरू गुम्नेछन्। अफिसमा डेस्क टेबलमा काम गर्ने श्रमशक्ति पनि यान्त्रिकीकरणले गर्दा पीडित हुनेछ जसरी केही दशकअगाडि कम सीप भए पुग्ने, बलमा आधारित तथा दोहोरिराख्ने कामहरू गर्ने श्रम शक्ति एसियामा कारखानाहरू सारिएर प्रभावित भएको थियो।

यसको सकारात्मक पक्ष भनेको यदि सरकारहरूले पर्याप्त तथा सामयिक तयारीहरू गरे भने एकदमै चाँडो उथुलपुथल ल्याउने प्रविधिहरू रचनात्मक शक्ति बन्नेछन् र अर्थतन्त्रलाई फाइदा पुग्ने नयाँ रोजगारहरू सिर्जना गर्नेछन्। जुन देशहरू सबभन्दा कम तयार छन् उनीहरूले सबैभन्दा धेरै रोजगारीका अवसरहरूको चुनौती सामना गर्नुपर्नेछ। निरन्तर दोहोरिरहने तथा कम सीप लाग्ने कामहरू जुन पहिलो विश्वबाट तेस्रो विश्वमा मानिसहरूले गर्ने भनी सरेका थिए, उनीहरू पहिलो विश्वमा नै फर्कनेछन् किनकि ती कामहरू मेसिनहरूले गर्नेछन्। त्यसैले नेपालजस्ता विकासोन्मुख देशहरूले आफ्नो अर्थतन्त्रलाई सुधार गरी रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्नेछ। केही समयदेखि नेपाल विप्रेषणमा निर्भर रहेको देश हुन पुगेको छ, जहाँ यसको आकार विदेशी अनुदानभन्दा १० गुणा बढी ठूलो छ र कुल निर्यातभन्दा अढाई गुणा ठूलो रहेको छ। मध्यपूर्व एसियामा तत्कालै नभए पनि निकट भविष्यमा हुने स्वचालनको कारणले गर्दा नेपालीले पाउने रोजगारका अवसरहरू कम भई नेपाल भित्रिने विप्रेषणको रकममा कमी आउन थाल्नेछ।

यस्ता नाटकीय परिवर्तनबाट गुज्रिनुपर्ने देशलाई सरकारले सही व्यवस्थापन गर्ने हो भने राजनीति तथा कर्मचारीतन्त्रमा कुशल नेतृत्व स्थापित गर्नुपर्छ। यस्तै सरकारले अमेरिकाको प्राविधिक केन्द्रको रूपमा रहेको सिलिकन भ्यालीको मानसिकतालाई अपनाई काम गर्नुपर्छ र त्यसो गर्दा आउने उर्जा तथा सिर्जनात्मकतालाई नेपालको आर्थिक–सामाजिक विकासमा लगाउनुपर्छ।

 

प्रकाशित: ५ चैत्र २०७५ ०६:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App