८ वैशाख २०८१ शनिबार
राजनीति

सरकारले प्रतिबन्ध लगाउन खोज्यो : राप्रपा संयुक्त

सुर्खेत – राप्रपा संयुक्तले आफूमाथि सरकारले प्रतिबन्धको तयारी गरेको आरोप लगाएको छ। अध्यक्षद्वय पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय सुरक्षा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीलाई नेत्रविक्रम चन्द विप्लव समूहसँगै निमिट्यान्न पार्ने धम्की दिएको आरोप लगाए।

‘सुरक्षा परिषद् बैठकमै प्रधानमन्त्रीले आफ्नो पार्टीसहित फरक विचार राख्ने केही पार्टी र समूहलाई विप्लवजस्तै निमिट्यान्न पार्न निर्देशन दिएको हामीले थाहा पाएका छौं’ पत्रकार सम्मेलनमा डा. लोहनीले भने, ‘प्रधानमन्त्रीले धम्क्याउँदैमा हामी बन्दूक बोकेर हिँड्दैनौं, सरकारको विरोध गर्न पनि छोड्दैनौं।’ उनले अरूलाई प्रतिबन्ध लगाउनु र धम्क्याउनुअघि सरकारलाई आफ्नो चरित्र सुधार गर्न सुझाव दिए।

‘सरकारले लुटतन्त्र र भ्रष्टाचारलाई संस्थागत गरेको छ, यसले जनतामा निराशा र आक्रोश पैदा गरेको छ’ डा. लोहनीले भने, ‘समयमै सरकारले आफ्नो चरित्र सुधार नगरे त्यो आक्रोश र निराशा हिंसामा परिणत हुन्छ।’ अर्का अध्यक्ष राणाले सरकारले भ्रष्टाचार विकेन्द्रीकरण गरेर गाउँगाउँमा पुर्याएको आरोप लगाए।

‘गाउँगाउँमा सिंहदरबार होइन्, भ्रष्टाचार पुगेको छ’ उनले भने, ‘प्रधानमन्त्रीले अधिकार आफूमा केन्द्रीकृत गरेर भ्रष्टाचारलाई संस्थागत गरिरहेका छन्।’ उनले जनताले दिएको अवसरलाई दुई तिहाई बहुमत प्राप्त सरकारले एक वर्षे कार्यकालमा खेर फालेको बताए। वाइडवडी, बुढीगण्डकी आयोजना र मेलम्चीमा सरकारले ठूलो भ्रष्टाचार गरेको आरोप पनि लगाए।

अध्यक्ष राणाले हिन्दु राष्ट्रको पहिचान स्थापित गर्न र राजसंख्याको पुनस्थापनाका लागि संघर्षमा जाने तयारी गरिरहेको बताए। ‘राष्ट्रिय एकताका लागि हिन्दु राज्य र राजसंस्था आवश्यक देखिएको छ’ उनले भने, ‘त्यसैको तयारीका लागि हामी अहिले देश दौडाहमा छौं।’ उनले राष्ट्रपतिबाट राष्ट्रिय एकता र अखण्डता सम्भावन नभएको दावी पनि गरे।

‘राष्ट्रपति एउटा पार्टी र त्यसमाथि पनि गुटको हुनुभयो, यसले राष्ट्रिय एकता र अखण्डतामा खतरा पैदा गरेको छ’ उनले भने, ‘त्यसैले पनि हामीले हिन्दु राष्ट्र र राजसंस्थाको लागि संघर्ष गर्ने तयारी गरेका हौं। उनले शासन जनताले गर्ने र राष्ट्रिय एकतालाई बलियो बनाउनका लागि राष्ट्रपतिको सट्टा राजसंस्था राख्नुपर्ने आवश्यकता औल्याए।

प्रकाशित: ५ चैत्र २०७५ ०६:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App