८ वैशाख २०८१ शनिबार
खेल

माइभ्याली गोल्डकप : उपाधिका लागि दाउफिन्स र हिमालयन शेर्पा भिड्दै

प्रि–म्याच कन्फरेन्समा उपाधि उचालेर देखाउँदै हिमालयन शेर्पा र  दाउफिन्स क्लबका  खेलाडी तथा प्रशिक्षक ।    तस्बिरः भीम/नागरिक

इलाम – पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको उपाधिका लागि मंगलबार (आज) दुई नयाँ टोली आमनेसामने हुँदै छन्। माइभ्यालीमा पहिलो पटक सहभागिता जनाएका हिमालयन शेर्पा क्लब र क्यामरुनको दाउफिन्स क्लब पहिलो पटक सदरमुकामको ठूलो टुँडिखेलमा भिड्ने भएका हुन्। खेल नेपाली दिउँसो ३ बजेपछि सुरु हुनेछ।

विश्वकप फुटबलमा समेत सहभागिता जनाउने क्यामरुन मुलुकको क्लब भएकाले इलामे दर्शक दाउफिन्सको खेल हेर्न झुम्मिने गरेका छन्। हिमालयन शेर्पाले पनि सहभागिता जनाएकै वर्ष इलामे दर्शकको ‘वाहवाही’ पाइरहेको छ। दर्शकको मुख्य आकर्षण बनेका दुवै टोली फाइनलमा पुगेकाले पनि मंगलबारको खेल निकै रोचक हुने आशा आयोजकलाई छ।

शारीरिक हिसाबले हृष्टपुष्ट, अग्लो कद भएका क्यामरुनी खेलाडीको प्रदर्शन, विपक्षीविरुद्धको प्रहार र ड्रिबलिङकला दर्शकको आकर्षण बन्ने गरेको छ। दाउफिन्सले विभागीय टोली सशस्त्र प्रहरीको एपिएफलाई क्वार्टरफाइनलमा र यसअघि इलाममा आयोजना गरिएको भूकम्प स्मृति कपको ३ पटकको विजेता अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई सेमिफाइनलमा हराएको थियो।

शारीरिक हिसाबले हृष्टपुष्ट, अग्लो कद भएका क्यामरुनी खेलाडीको प्रदर्शन, विपक्षीविरुद्धको प्रहार र ड्रिबलिङकला दर्शकको  आकर्षण बन्ने गरेको छ।

गत शनिबार दाउफिन्सले पुलिससँग सेमिफाइनल खेल्दा माइभ्यालीको पाँचौं संस्करणका खेलमध्ये सबैभन्दा बढी दर्शक भेला भएको आयोजकको तथ्यांक छ। हिमालयन शेर्पा क्लबलाई पाँचौं संस्करणमा पहिलो चोटि इलामे मैदान उत्रिँदा दर्शकले जोडदार समर्थन गरेका छन्। हङकङको नेप्लिज फुटबल एकाडेमीलाई प्रि क्वार्टरमा र डिफेन्डिङ च्याम्पियन थ्री स्टार क्लबलाई क्वार्टरबाटै घर पठाउँदा शेर्पाले इलामले दर्शकको ध्यान खिचेको छ।

सेमिफाइलनमा चर्चित झापा–११ टिमका खेलाडीसमेत सहभागी रहेको मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई हराएर शेर्पाले आफ्नो क्षमता देखाइसकेको छ। आयोजक माइभ्याली फुटबल क्लब अध्यक्ष धिरेन चेम्जोङ भन्छन्, ‘फुटबलका हस्ती मानिएका शेर्पा र दाउफिन्स पहिलो पटक इलामे मैदानमा उतार्नु आयोजकले गर्व गर्ने विषय भएको छ।’ 

दुवै टोलीबीच पहिलो पटक भेट हुने भएकाले पनि शेर्पा र दाउफिन्सबीचको खेल सबैका लागि नवीन हुनेछ। दुवै टोलीले उपाधि आफ्नो पोल्टामा पार्ने विश्वाससाथ मैदानमा उत्रिने उद्घोष गरिसकेका छन्। सोमबार आयोजित प्रि–म्याच कन्फरेन्समा शेर्पाका प्रशिक्षक विजेन्द्र पुडासैनीले माइभ्याली पाँचौं संस्करणका ३ खेलमा ११ गोल गरिसकेकाले फाइनल पनि आफ्नो पक्षमा आउने दाबी गरे। ‘हामी आएकै उपाधि जितेर लैजानलाई हो,’ उनले भने, ‘थ्री स्टारसँग भएजस्तो खेल सेमिफाइनलमा भएन तर फाइनलमा दाउफिन्सलाई पाखा लगाउने गरी आउनेछौं।’ उनले टिम स्पिरिटमा खेल्ने भएकाले सेमिफाइनलभन्दा फाइनलको खेल सुध्रिने विश्वास पनि व्यक्त गरे।

दाउफिन्स क्लबबाट टिम म्यानेजर आशिक थापामगरले आफ्ना खेलाडीप्रति विश्वास रहेको बताए। ‘हामीले अलि कमजोर मानिएको मिडफिल्ड पनि फाइनलमा सुधार्दै छौं,’ उनले भने, ‘अहिलेसम्म जस्तो प्रदर्शन भइरहेको छ, त्योभन्दा राम्रो प्रदर्शन फाइनलमा हुने भएकाले विजयी हुन्छौं।’ तर, उनले फुटबल खेलमा सधैं जित–हारको आधाआधा सम्भावना रहने बताए। फागुन २६ मा सुरु पाँचौं संस्करणमा देश र बाहिरका १० टोली सहभागी थिए। प्रतियोगिताका १० मध्ये ४ टोली पहिलो पटक इलामे मैदानमा उत्रिएका हुन्। विजेताले नगद ७ लाखसहितको ‘मेयर्स प्राइज’ र उपविजेताले ४ लाख रुपैयाँ पाउनेछन्।

प्रकाशित: ५ चैत्र २०७५ ०४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App