coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

हचुवामा आठौं राष्ट्रिय खेलकुद

निर्माणधीन नेपालगन्ज रंगशालाको भिआइपी प्यारापिट।    तस्बिरः नागरिक

बाँके – आठौं राष्ट्रिय खेलकुदको मिडिया सेन्टर सोमबार उद्घाटन गरियो। आठौं खेलकुदलाई लक्षित गरेर ‘जिंगल’ पनि सार्वजनिक भयो। बृहत् आठौं राष्ट्रिय खेलकुदलाई प्रचार गर्ने भनिएको जिंगल र मिडिया सेन्टरमा प्रतियोगिता कहिले हुँदै छ भन्ने आधिकारिक सूचना छैन। 

आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) तयारी अन्तिम चरणमा पुगेको बताउँछ। चैतमा जसरी भए पनि गर्ने संकल्प लिएको बताउँछ राखेप नेतृत्व। तर आयोजना मिति भने टुङ्गो छैन। पटकपटक सर्ने प्रचलन बनिसकेको आठाैं राष्ट्रिय खेलकुदको नयाँ मितिबारे भने अझै अन्योल छ। आधिकारिक राष्ट्रिय या अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा स्पष्ट कहिले गर्ने भनेर मिति तोकिएको हुन्छ। 

प्रतियोगिता मितिलाई मध्यनजर गरेर खेलाडी, प्रशिक्षक र व्यवस्थापकले आफ्नो  रणनीति बनाउँछन्। तर आठाैं राष्ट्रिय खेलकुदमा भने बिनातयारी खेलाडीले खेल्नुपर्ने पक्का भएको छ। आठौं आयोजना मितिको आधिकारिक टुङ्गो अझै लागेको छैन। 

आयोजक राखेप नेतृत्व चैत महिनाभित्र बृहत् आठाैं राष्ट्रिय खेलकुद गर्ने दाबी गर्दै आएको छ। तर औपचारिक रूपमा भने आयोजना मिति घोषणा गर्न सकिरहेको छैन। प्रतियोगिताको उद्घाटन गर्ने भनिएको नेपालगन्ज रंगशालाको निर्माण कार्य अझै सकिएको छैन। 

प्रतियोगिता मितिलाई मध्यनजर गरेर खेलाडी, प्रशिक्षक र व्यवस्थापकले आफ्नो  रणनीति बनाउँछन्। तर आठांै राष्ट्रिय खेलकुदमा भने बिनातयारी खेलाडीले खेल्नुपर्ने पक्का भएको छ।  

दुई वर्षअघि आठौं राष्ट्रिय खेलकुद तत्कालीन मध्यपश्चिम विकास क्षेत्रमा मंसिर २१ देखि २९ सम्म गर्ने मिति तय भएको थियो। तर पूर्वाधार निर्माण र बजेटका कारण तयारी सन्तोषजनक नभएको भन्दै राखेपले माघ २५ देखि फागुन ३ सम्म गर्ने निर्णय गरेको थियो। तर फागुनमा पनि प्रतियोगिता हुन सकेन। पटकपटक आयोजना मिति सार्दै आएका राखेप सदस्यसचिव केशवकुमार विष्टले चीनबाट आपूर्ति गरेको सामग्री नेपालगन्ज आइसकेपछि आयोजना मिति तोक्ने बताउँछन्। 

सोमबार नेपालगन्जमा मिडिया सेन्टर उद्घाटन गर्न आइपुगेका विष्ट नयाँ मितिबारे अझै ढुक्क छैनन्। हचुवाको भरमा आयोजना मिति घोषणा गर्ने बानी परेका विष्ट आन्तरिक तयारी भए पनि घोषणा गर्ने अवस्था नभएको बताउँछन्। आयोजना मितिको अन्योलले खेलाडीमा मानसिक असर गरेको बताउँछिन् राष्ट्रिय क्रिकेट टोलीको उपकप्तान जिम्मेवारी सम्हालिसकेकी ममता थापा। थापा भन्छिन्, ‘क्षेत्रीय प्रतियोगिता भयो। तर प्रारम्भिक टोली घोषणा गरिएको छैन। प्रशिक्षक को हो थाहा छैन। बन्द प्रशिक्षण पनि भएको छैन। टोलीमा सबै एउटै जिल्लाका खेलाडी पर्छन् भन्ने छैन। समन्वय मिलाउन समय लाग्छ। आठौं खेलकुद कहिले होला भन्ने कुराले झन् अलमलमा पारेको छ।’

क्रिकेटर थापाजस्तै अन्य खेलका खेलाडी र प्रशिक्षक आठौं राष्ट्रिय कहिले हुन्छ भन्ने कुराले अन्योलमा छन्। नाम नबताउने सर्तमा राखेपका एक प्रशिक्षक भन्छन्, ‘खेलाडी र खेलको स्तरभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राखेर आठाैं राष्ट्रिय खेलकुद हुँदै छ। राष्ट्रले बृहत् राष्ट्रिय खेलकुद भनेर बजेट छुट्याउँछ। तर प्रतियोगिता कहिले हुन्छ भन्ने निश्चित छैन। बन्द प्रशिक्षण हुन सकेको छैन। क्षेत्रीय छनोट भनिन्छ। खेल्न आउने सबै खेलाडी एउटै जिल्लाका छन्।’ 

सदस्यसचिव विष्टले शुक्रबार बस्ने बोर्ड बैठकले आठौं आयोजना गर्ने नयाँ मिति घोषणा गर्ने बताए। उनले भने,‘पूर्वाधारको कारणले मात्र मिति घोषणा गर्न सकिएको छैन। अन्य सबै कुराको तयारी भइसकेको छ। चैतमा केही गर्मी भए पनि हामी प्रतिकूलताका बीच प्रतियोगिता गर्ने कोसिस गर्नेछौं।’ विष्टका अनुसार अहिलेसम्म आठौं खेलकुदको तयारीका लागि २६ करोड रकम खर्च भइसकेको छ। 

राखेप बोर्डका सिनियर सदस्य एवम् नेपाल भलिबल संघका पूर्वअध्यक्ष गंगाबहादुर थापा आठौं तयारीले खेलाडीमा मानसिक असर गरेको बताउँछन्। उनले भने, ‘राखेपले आठाैं खेलकुद गर्ने नयाँ मिति घोषणा गर्न नसक्नुमा आफ्नै समस्या छन्। तर खेलविज्ञान र खेलाडीको मनस्थितिलाई हेर्ने हो भने यस पटक राम्रो नतिजाको आशा गर्न सकिन्न। खेलाडीलाई कसरी पदक जित्ने भन्ने चिन्ता हुन्छ। त्यहीअनुसार उनीहरूले आफ्नो प्रशिक्षण गर्छन्। मितिको अन्योलले टिम खेलमा अझ गाहो हुन सक्छ।’

प्रकाशित: ५ चैत्र २०७५ ०४:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App