८ वैशाख २०८१ शनिबार
राजनीति

पाठक अघोषित नजरबन्दमा, बयानको सूचीमा को–को ?

काठमाडौं - अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठक घरमै अघोषित नजरबन्द (होम अरेस्ट)मा परेका छन्।

नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिने प्रलोभनमा  घुस असुलेको आरोप लागेका पाठकलाई अनुसन्धान छलेर भाग्न सक्ने आशंकामा अख्तियारले उनको नयाँ बानेश्वर, शान्तिनगरस्थित घरमै सादा पोशाकका सुरक्षाकर्मीलाई २४ सै घण्टा पहरा दिनेगरी खटाएको छ।‘पाठकका हरेक गतिविधिमा सूक्ष्म निगरानी राख्नेगरी संयन्त्र तैनाथ गरेका छौं।’ अख्तियार स्रोत भन्छ, ‘पारिवारिक सदस्यबाहेक पाठकको घरमा आउजाउ गर्ने अन्य व्यक्तिमाथि पनि कडा निगरानी गरिँदै छ।’

घुस प्रकरणको अडियो टेप बाहिरिएपछि पाठकले फागुन ३ गते नै पदबाट राजीनामा दिइसकेका छन्।
घुस प्रकरणसम्बन्धी बयानकै क्रममा रहेका कलेज सञ्चालक लम्बोदर न्यौपाने स्थलमार्ग हुँदै भारत फरार भएपछि अख्तियारले पाठकमाथि कडा सुरक्षा पहरासहित निगरानी राखेको हो। पाठकसहित घुस प्रकरणसँग जोडिएका एक दर्जन सरकारी तथा अन्य क्षेत्रका व्यक्ति पनि अख्तियारको कडा निगरानीमा छन्।

न्यौपाने भागेपछि प्रमुख आयुक्त नवीनकुमार घिमिरेले घुस प्रकरणबारे आइतबार अनुसन्धान टोलीलाई कार्यकक्षमा डाकेर छलफल गरेका थिए। घुस प्रकरणको अनुसन्धानमा सहसचिव, उपसचिव र नेपाल प्रहरीका डिएसपीको टोली खटिएको छ। स्रोतका अनुसार पाठकको निगरानीमा काठमाडौं प्रहरीले पनि सुरक्षा तैनाथी बढाएको छ। अख्तियारबाट पाठकको निवास तथा आवतजावत गर्नसक्ने सम्भावित स्थानमा सादा पोशाकका प्रहरी तैनाथ भइसकेका छन्।

अख्तियारले घुसविरुद्धको अभियानमा सक्रिय बनाएको नेपाल प्रहरीको स्टिङ अपरेसन टोलीलाई पनि पाठकको निगरानीमा तैनाथ गराएको छ। ‘७८ लाख घुस प्रकरणमा बयान नै नसकी आरोपित न्यौपाने फरार भएपछि हामीले पाठकको निगरानीमा थप कडाइ गरेका छौं,’ अख्तियार उच्च स्रोतले भन्यो, ‘यसलाई औपचारिक रूपमा अरेस्ट नै नभनौं, तर निगरानीका सबै पक्षलाई विशेष रूपमा ध्यान दिएका छौं।’

अख्तियारले गत मंगलबार इन्जिनियरिङ कलेजका संस्थापक सञ्चालक न्यौपानेसँग बयान लिएको थियो। त्यसपछि ‘भोलि आउँछु,’ भनेर निस्किएका न्यौपाने अख्तियारलाई छलेर भागिसकेका छन्। उनी भारत पुगिसकेको सूचना अख्तियारसँग छ। अख्तियारका प्रवक्ता सहसचिव प्रदीपकुमार कोइरालाले यस विषयमा बोल्न चाहेनन्। ‘अनुसन्धानमा भएको विषयमा मेरो कुनै प्रतिक्रिया छैन,’ प्रवक्ता कोइरालाले भने, ‘अनुसन्धान टुंगोमा पुगेपछि बोलौंला।’

अख्तियारले भारत वा अन्य मुलुक भाग्नसक्ने आशंकामा घुस प्रकरणमा मुछिएका एक दर्जनभन्दा बढी व्यक्तिको हुलियासहित निगरानी गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल प्रहरी र अध्यागमन कार्यालयलाई निर्देशन दिएको थियो। तर आरोपित मध्येकै मुख्यपात्र न्यौपाने स्थलमार्गबाट भारततर्फ फरार भएपछि सूक्ष्म निगरानीलाई अझै बढाएको हो। अख्तियारले घुस प्रकरणमा पाठकसँगै कलेज सञ्चालक दिपक भट्टराई, पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ विभागका डिन शुभनारायण पाठक, इन्जिनियरसमेत रहेका राजपा नेता ज्ञानेन्द्र झा, अखिल क्रान्तिकारीका नेता कैलाश मगर, नेकपाकै कार्यकर्ता ध्वजमान मोक्तान, नेपाल प्रहरीका एसएसपी धीरजप्रताप सिंह पनि निगरानीमा छन्।

सिंह तालिमका क्रममा यतिबेला अमेरिकामा छन्। स्रोतका अनुसार सिंह नेपाल आएपछि बयानका लागि बोलाइनेछ। अख्तियारले तत्कालीन आयुक्त पाठकका भाइ शुभनारायण र ज्ञानेन्द्र झासँग बयान लिइसकेको छ। घुस प्रकरणको भिडियोबारे तत्कालीन गृहसचिव रहेका हालका पर्यटन सचिव मोहनकृष्ण सापकोटासँग पनि अख्तियारले कार्यालयमै बोलाएर सोधपुछ गर्ने तयारी गरेको छ। घुस प्रकरण र अन्य स्वार्थमा पाठकबाट पीडित रहेका भनिएका अन्य व्यक्तिलाई पनि अख्तियारले कार्यालयमै बोलाएर सोधपुछ गर्ने स्रोतको भनाई छ।

बयानको सूचीमा को–को ?

राजनारायण पाठक - तत्कालीन आयुक्त
मोहनकृष्ण सापकोटा - खेलकुद सचिव

धीरजप्रताप सिंह - एसएसपी
लम्बोदर न्यौपाने - कलेज सञ्चालक

शुभनारायण पाठक - पूर्वाञ्चल विश्वविद्यालय
ज्ञानेन्द्र झा - बिचौलिया

दिपक भट्टराई - कलेज सञ्चालक
जुजुभाइ महर्जन - कलेज सल्लाहकार

दिपेश पुन (उपराष्ट्रपति पुत्र)
कैलाश मगर (अखिल क्रान्तिकारी)
ध्वजमान मोक्तान (नेकपा कार्यकर्ता)

सूर्यबहादुर केसी (कांग्रेस नेता)

प्रकाशित: ५ चैत्र २०७५ ०३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App