७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘जनमत पार्टी’ घोषणा

लहान - सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठगन्धनको राष्ट्रिय परिषद् बैठक(केन्द्रिय भेला) ले पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको छ। आइतबारबाट लहानको माडवारी सेवा सदनमा जारी भेलाको दोस्रो दिन जनताको हक अधिकारको लागि संघर्ष गर्न नेपालको संविधानभित्र रहेर पार्टी स्थापना गरी अघि बढ्ने निर्णय गरिएको छ। यसअन्तर्गत पार्टीको नाम जनमत पार्टी राख्ने निर्णय गरेको भेलापछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। भेलाले पार्टीको नामसँगै झन्डा पनि फर्ने निर्णय गरेको छ।

जनमत पार्टीको झन्डा रातो, सेतो, हरियो रंगमिश्रित ठाडो धर्के रहने छ। झन्डाको बीच भागमा रातो रंगको अष्टकोण(अष्टदल) रहने निर्णय गरेको छ। भेलाले पार्टीको लोगो पनि तय गरेको छ। पार्टीको लोगोमा अष्टदलको छेउमा देवनागरी र रोमन भाषामा पार्टीको नाम लेखिने भएको छ। पार्टीको चुनाव चिह्न पनि अष्टदल नै रहने विज्ञप्तिमा उल्लेख छ।

भेलाले ३५ सदस्य केन्द्रीय कार्यकारणी समितिसमेत चयन गरेको छ। निर्वाचन आयोगमा दल दर्ता भएसँगै केन्द्रीय कार्यकारणी समिति विस्तार गरिने उल्लेख छ। केन्द्रीय समितिमा थप सदस्य मनोनित गर्ने अधिकार सर्वसम्मतरूपले राष्ट्रिय अध्यक्षलाई दिइएको छ। पार्टीको राष्ट्रिय अध्यक्षमा सिके राउत चयन भएका छन्। बाँकी ३५ जना सबै केन्द्रीय सदस्य छन्। जिल्लागत हिसाबले २५ जना केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिएको छ भने बाँकी १० जना सदस्यमा महिला, दलित, जनजाति, अलपसंख्यकसहितको प्रतिनिधित्व हुनेगरी मनोनित गर्ने जिम्मेवारी पनि पार्टी अध्यक्ष राउतलाई दिइएको छ।

स्वतन्त्र मधेस गठबनधन र नेपाल सरकारबीच फागुन २४ गते भएको ११ बुँदे सहमतिअनुरूप गठबन्धनका समर्थकमाथि लगाइएका मुद्दा अविलम्ब फिर्ताका लागि पहल गर्न चन्दन सिंहको संयोजकत्वमा तीन सदस्य सहमति कार्यान्वयन समिति गठन गरिएको छ। प्रहरी हिरासतमा मारिएका गठबन्धनका बाँके जिल्ला संयोजक राम मनोहर यादवको परिवारलाई सरकारसँग भएको सहमतिअनुसारको क्षतिपूर्ति तथा परिवारका एकजना सदस्यलाई रोजगारीको पहलका लागिसमेत सिंह संयोजकत्वकै समितिलाई जिम्मेवारी दिएको जनमत पार्टीका केन्द्रीय सदस्य अब्दुल खानले बताए।
यसरी बन्यो पार्टी गठनको सहमति

आइतबार गठबन्धनको केन्द्रीय भेला सुरु हुँदा अधिकांश सहभागीको एउटै कौतुहलता थियो, –गठबन्धनले उठाउँदै आएको मुद्दा जीवित छ कि छैन ? बैठक सुरु भएपछि संयोजक राउतले सरकारसँग भएको सहमतिको पूर्णपाठ गर्दै सहभागीलाई सहमतिबारे बेलिविस्तार लगाए। जनअभिमत र जनमतसंग्रहबारे सहभागीको जिज्ञासा बर्सिन थाल्यो। सिकेले सहभागीको जिज्ञासा मेट्न भूमिका र उदाहरणसहित शब्दको अर्थ प्रष्ट्याउने प्रयत्न गरे। गठबन्धनले मुद्दा बिसायो भनेर जनता रुष्ट किन नहुने भन्दै आएका सहभागीका जिज्ञासा राउतले प्रष्ट्याउने मात्रै गरेनन् सबैलाई उत्तरले सन्तुष्ट पनि बनाए।

त्यसपछि सिकेले आफूले अभियानको क्रममा खपेका पीडा बेलिविस्तार गरे। उनले आफ्नो पीडा सुनाउन थालेपछि सहभागीहरू भावुक बन्दै आँसुसमेत झारेको एक सहभागीले नागरिकसँग बताए। ‘जुनसुकै व्यवस्था परिवर्तन गर्न जनताको मत सर्वोपरि हुन्छ। जनताको मत, अभिमत बेगर कुनै पनि परिवर्तन अर्थहीन हुन्छ। त्यसैले जनतासमक्ष बेरोक, निर्धक्क, खुलारूपमा जान सरकारसँग सहमति आवश्यक थियो,’ सिकेको भनाई उद्धृत गर्दै एक सहभागीले बताए। यो सहमति मधेसी जनताका लागि अभुतपूर्व उपलब्धिका रूपमा सहभागीसमक्ष प्रस्ताव गरेपछि सर्वसम्मत पास भएको थियो। यसै उपलब्धिमा टेकेर जनतासमक्ष जाने भेलाबाट निर्णय भएको छ।

पहिलो दिनको भेलामा सहभागीलाई सन्तुष्ट पार्न सीकेलाई निकै समय खर्चिनु परेको थियो। पछि उनले मुद्दा बिसाएको होइन व्यवस्थित र वैधानिक रूपमा जनताको अभिमतमार्फत अघि बढाउने भनेर भरोसा दिएपछि सहभागी सन्तुष्ट भएको एक सहभागीले बताए।

यस्तो छ पार्टीको केन्द्रीय संरचना
राष्ट्रिय कार्यकारणी समितको(केन्द्रीय भेला) भेलाले स्वतन्त्र मधेस गठबन्धनको नाम फेरेर बनेको जनमत पार्टीको केन्द्रीय अध्यक्षमा सिके राउतलाई सर्वसम्मत चयन गरेको छ। बाँकी कार्यकारणी सदस्यमा कैलाश महतो, राजकुमार यादव, अब्दुल खान, चन्दन सिंह, बबिता इसर, कौशिला महतो, परमेश्वर मुर्मु, सीताराम पण्डित, शुरेन्द्र शर्मा, सतिला यादव, इन्द्रजित यादव, सञ्जय यादव, नरेश कुशवाहा, वीरेन्द्र साह, दिनेश यादव, संजय साह, धु्रव गौड, भोपेन्द्र यादव, हकिकुल्ला खान, राधा यादव, इरफान अहमद शेख, महेन्द्र प्रसाद चौधरी, दुर्गा चौहान र आशा मेहता चयन भएका छन्।

मूलधारमा सीके
आइतबारबाट लहानमा जारी गठबन्धनको राष्ट्रिय परिषद् बैठकमा सहभागी हुन आउनेलाई नागरिकता लिएर आउन गरिएको आग्रहलाई विभिन्न कोणबाट हेरिएको छ। तर, परिषद् सदस्यलाई नागरिकता लिएर आउन आग्रह गर्नुको कारण हो स्वतन्त्र मधेस गठबन्धन जनमत पार्टीको स्वरूप धारण गरी निर्वाचन आयोगमा दर्ता हुँदा आवश्यक पर्ने सदस्यको नागरिकताको प्रमाणपत्र। राउत अध्यक्ष रहेको जनमत पार्टी होली(फागु पूर्णिम) पछि निर्वाचन अयोगमा दलको रूपमा हुँदैछ।

जनमत पार्टी निर्वाचन आयोगमा दलको रूपमा दर्ता भएपछि मधेसमा आफ्नो गतिविधिलाई सशक्तरूपमा अगाडि बढाउने नवगठित जनमत पार्टीका सदस्यहरूको भनाइ छ। जिल्लादेखि नगर र गाउँपालिकाको वडा–वडासम्म संगठन विस्तार गर्ने योजना छ। प्रत्येक वडामा संगठन बनाएर सदस्यता वितरण कार्यलाई जोडतोडले अघि बढाउने केन्द्रीय भेलामा योजना बनेको एक सदस्यले बताए।केन्द्रीय भेलामा आगामा कार्यदिशाबारे व्यापक छलफल भयो एक सदस्यले भने, ‘पार्टीको पहिलो र मुख्य प्राथमिकता नै संगठन विस्तार हुनेछ।’ भेलाले पार्टीको रणनीति र कार्यदिशा तय गरेको छ। कार्यकर्तालाई रणनीति प्रशिक्षिणसमेत दिइएको छ। आइतबारबाट सुरु भेलास्थलमा पत्रकार र सुरक्षाकर्मीलाई प्रवेश निषेध गरिएको थियो।

प्रकाशित: ५ चैत्र २०७५ ०२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App