७ वैशाख २०८१ शुक्रबार
समाज

घरभन्दा सडक प्यारो

इलामको फाकफोकथुम–३, सल्लेरीमा निर्माणाधीन सिंहदेवी स्कुल–खप्परेघाट सडकको माटोले पुरिएको टेकबहादुर भारतीको घर क्षेत्र। तस्बिर : भीम/नागरिक

फाकफोकथुम (इलाम) - फाकफोकथुम गाउँपालिका–३, सल्लेरीका टेकबहादुर भारतीको घरको आधाजति भाग सडकको माटोले पुरिइसकेको छ। फूलबारी हुँदै निर्माणाधीन सिंहदेवी स्कुल–खप्परेघाट सडकको माटो उनको घर आँगन, सिकुवा पुरिएर भित्रैसम्म पुगिसकेको छ।

एकझर वर्षा भए पनि उनको घर यही अवस्थामा नरहन सक्छ। तर आफ्नो घर पुरिएका प्रति भारतीको कुनै गुनासो छैन। बरु हर्ष लागेको सुनाउँछन् उनी। ‘सडक नहुँदा भोग्नुपरेको सास्ती सम्झिँदा त अहिले घर आँगन पुरिएको पीडा केही होइन,’ भारतीले भने, ‘यो पीडालाई फूलबारीबाटै गएको फराकिलो सडकले बिर्साएको छ।’ उनको घरै छोएर ७ मिटर चौडा सडक धमाधम निर्माण भइरहेको छ। ‘दुर्गम गाउँमा यति ठूलो सडक बन्ने कल्पना नै थिएन, अहिले सडक आउँदा हामी सबैले सहयोग गर्नैपरेको छ,’ उनले घरको माथिपट्टि खनिएको सडक देखाउँदै भने, ‘यो सडक भोलि ग्राभेल होला, पर्सि पिच होला, अनि सजिलै अरू ठाउँसम्म पुग्न सकिएला। त्यसैले हामीले व्यक्तिगत क्षति सहेर पनि सडक बनाउन लागेका हौं।’

सल्लेरीमा भारतीको जमिन २ रोपनी मात्रै छ। तर, उनको घरको आंगन, सिकुवासहित डेढ रोपनीभन्दा बढी जमिन सडक खनेको माटो र ढुंगाले पुरिएको छ। ‘अब यही घर भएको सहित अलिकति जमिन मात्र माटोले पुर्न बाँकी छ,’ उनले भने, ‘अहिलेसम्म घर आँगन, सिकुवामा थुप्रिएको माटो ठेकेदारले पन्छाइदिने वा आफैंले भन्नेमा छलफल भएको छैन।’ उनले झट्ट हेर्दा विनाश भएको देखिए पनि सानोतिनो क्षति नभई विकास नहुने बताए। ‘यो गाउँपालिकाभर मोटर हिँड्न सक्ने सडक नभएको गाउँ यो मात्र हो,’ उनले भने, ‘अब सडक सुविधा घर आंगनमै आउँदा गाउँले सबै हर्षित छौं।’

विद्यालय तहमा शिक्षकले पढाउँदा ‘सडक विकासको पहिलो पूर्वाधार’ भन्नेझै स्थानीय तह गठन भएपछि जनप्रतिनिधिले सबैभन्दा पहिला गाउँ विकास गर्ने माध्यम सडकलाई नै बनाएका छन्।

भारतीको मात्र होइन, सदरमुकाम इलाम बजारबाट पुग्न गाडीमा करिब ४ घन्टा लाग्ने यो गाउँका बासिन्दाले १० रोपनीसम्म माया मारेर सडक बनाउन सहयोग गरेका छन्। स्थानीय दुर्गा भट्टराई, दाताराम फुएललगायतको जग्गा सडकबाट बढी प्रभावित भएको छ। भट्टराईको जग्गा सडकले नछोए पनि माथिबाट खसेको माटोले पुरिन लागेको छ। सडक उपभोक्ता समिति सदस्य धनकुमारी भट्टराईले सडक विस्तारमा स्थानीयले सघाइरहेको बताइन्। ‘गाउँमै विकास आउँदा खुसी नहुने कोही हुनुहुन्न,’ उनले भनिन्,

‘क्षति सहेर पनि सडक बनाउन उहाँहरू कस्सिनुभएको छ।’ फाकफोकथुम गाउँपालिकाअन्तर्गत २९ लाख ४० हजार रुपैयाँ लागतमा सडक बनाइँदैछ। विद्यालय तहमा शिक्षकले पढाउँदा ‘सडक विकासको पहिलो पूर्वाधार’ भन्नेझै स्थानीय तह गठन भएपछि जनप्रतिनिधिले सबैभन्दा पहिला गाउँ विकास गर्ने माध्यम सडकलाई नै बनाएका छन्। स्थानीय तह मात्र होइन, प्रदेश र संघीय संसद्का जनप्रतिनिधिले समेत आफ्नो नगर, गाउँ र निर्वाचन क्षेत्र विकासका लागि प्राथमिकता दिएको सडक हो। प्रत्येक स्थानीय तहले ६० प्रतिशतभन्दा बढी योजना सडक निर्माण र स्तरोन्नतिकै बनाएका छन्।

सूर्याेदय नगरपालिकाले बाह्रैमास गाडी चल्ने सडक प्रत्येक वर्ष एउटा वटामा एउटा बनाउने अवधारणा गत वर्ष नै ल्याएको हो। नयाँ खन्नेसँगै बनिसकेका सडक दीर्घकालीन बनाउन सूर्याेदयले ल्याएको योजना अन्य गाउँ र नगरपालिकाले पनि पछ्याएका छन्। इलाम नगरपालिकाले नयाँ खन्नेभन्दा भएकै सडकलाई स्तरोन्नतिमा प्राथमिकता दिएको छ। तर, गाउँपालिकाहरूले सडक निर्माणलाई नै पहिलो नम्बरमा राखेका छन्।

गाउँपालिकाका ग्रामीण बस्तीसम्म अहिले कच्ची सडक सञ्जाल पुग्दैछ। झट्ट हेर्दा विकास गरेको देखिने भएर पनि जनप्रतिनिधिले सडक योजना रोजेका छन्। जिल्लाका भौगोलिक रूपले विकट माइमझुवा, माबु, पुवामझुवा, बाँझो, फाकफोक, आमचोकलगायत गाउँमा जनप्रतिनिधि र स्थानीयको पहलमा सडक सञ्जाल पुग्दैछ। घरअघि नै १० मिटर चौडा सडक बनेपछि देउमाई नगरपालिकाका पदम राई हर्षित छन्। ‘हिजो–अस्तिसम्म गोरेटोसम्म थिएन, हाम्रोजस्तो दुर्गम ठाउँमा यत्रो ठूलो सडक आउला भन्ने कल्पना थिएन,’ उनले भने, ‘तर, सडकहरू हिउँदमा मात्र होइन, बर्खामा पनि गाडी चल्ने बनाउनुपर्छ।’

रोङ गाउँपालिकाका अध्यक्ष शमशेर राईले आफ्नो गाउँपालिका भौगोलिक रूपले दुर्गम भएकाले भौतिक पूर्वाधार विकासलाई नै प्राथमिकता दिएको बताए। ‘यो गाउँपालिका भौगोलिक रूपले विकट छ, त्यसैले सडक सञ्जाल पु-याउनु हाम्रो पहिलो प्राथमिकता हो,’ उनले भने, ‘भएका सडक अझ चौडा गर्नु आावश्यक छ।’ सूर्याेदय नगरपालिकाले मेची राजमार्गको हर्कटे–फिक्कल खण्डसमेत साढे ७ मिटर विस्तार गर्दैछ। देउमाई नगरपालिकाले नगरमा १० मिटर फराकिलो सडक योजना प्राथमिकतामा राखेको छ।

इलाम नगरपालिकाबाट झापाको बिर्तामोड जोड्ने द्रुतमार्गसमेत अहिले निर्माणाधीन छ। करिब ४७ किलोमिटरको यो सडक निर्माण भइसक्दा मेची राजमार्गबाट पुगिने बिर्तामोडको दूरी आधा छोटो हुनेछ। यो द्रुतमार्गले सोयाक, चिसापानी, दानाबारीलगायत गाउँका दुर्गम क्षेत्रका बासिन्दा पनि लाभान्वित हुनेछन्। इलाम नगरपालिका मेयर महेश बस्नेतले द्रुतमार्गको विस्तृत आयोजना रिपोर्ट नगरपालिकाले प्राथमिकतासाथ निर्माण गरिसकेको बताए। ‘यो मार्ग खुल्दा इलाम बजारसहित दुर्गमका गाउँलेको तराई जोडिने दूरी ज्यादै कम हुने भएकाले यसलाई प्राथमिकता दिएका छौं,’ मेयर बस्नेतले भने, ‘प्रदेश र संघीय सरकारसँग बजेट मागेर यो सडक कालोपत्रेसम्म गर्छाैं।’

१ नम्बर प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँको बजेट, नीति तथा कार्यक्रममा पनि पहाडी क्षेत्रका सडक समेटिएका छन्। सोलु, सल्लेरी, सुर्के हुँदै लुक्लाको चौंरीखर्कसम्म जोड्ने सडकलाई प्रदेशको प्राथमिक सडक र झापाको केचनादेखि सगरमाथाको आधार शिविरसम्मको सडकलाई ‘प्रादेशिक गौरवको सडक’का रूपमा विकास गर्ने लक्ष्य प्रदेशको छ। ताप्लेजुङ–संखुवासभा–सोलुखुम्बु जोड्ने उच्च हिमाली सडक तथा पदमार्गको सम्भाव्यता अध्ययन प्राथमिकतामा छ। भोजपुर–खोटाङ–संखुवासभा र सोलुखुम्बु जोड्ने रानीटार–पाँचा–चखेवा–साल्पासिलिचुङ हुँदै सगरमाथा बेसक्याम्प जोड्ने ‘रणनीतिक महत्व’ को सडक बनाउने, भेडेटार–मिक्लाचोङ–रवि–राँके–पर्यटकीय मार्ग, दमक–चिसोपानी–रवि फाल्गुनन्द मार्गलाई ‘गौरवको आयोजना’ का रूपमा विकास गर्ने योजना प्रदेश सरकारले ल्याइसकेको छ।

पूर्वीपहाडमा रुखका गोलिया खरिद–बिक्रीलाई मुख्य लक्ष्य बनाएर व्यापारीले जंगल–जंगलमा सडक पु¥याउँदा व्यवस्थित नभए पनि गाउँहरू सडकले चाहिँ जोडिएका छन्। विगतमा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमले सडकलाई नै प्राथमिकता दिएको थियो। जिल्लाका प्रतिनिधिसभाका सदस्यले पनि चालू वर्ष पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालन गरिने योजनामा सडकलाई प्राथमिकता दिएका छन्।

गृहजिल्ला इलाम भएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले चालु वर्ष सडक योजना नै सबैभन्दा बढी छानेका छन्। खनालले २० योजनालाई तोकेरै रकम विनियोजन गरेकामा १५ सडक निर्माण र स्तरोन्नतिका छन्। नेम्बाङले १७ योजनालाई रकम छुट्याएकोमा ९ योजना सडककै छन्। तर, कच्ची सडकलाई बाह्रैमास गाडी चल्ने बनाउन ध्यान नदिँदा सडक पूर्वाधारको लगानी उपलब्धिमूलक भने हुन सकेको छैन। ‘यो पटक स्थानीय तहका सभाहरूले पास गरेका योजनामा बजेट गएकाले विशेषगरी सडकका योजना प्रभावकारी नै हुने आशा छ,’ जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालले भने, ‘दिगो विकासको अवधारणाअनुसार काम गरेकाले कच्ची सडकको अवस्था अब सध्रिने देखिन्छ।’

प्रकाशित: ५ चैत्र २०७५ ०१:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App