६ वैशाख २०८१ बिहीबार
समाज

अंग्रेज लखेटिएको ठाउँमा होली मेला, पहिलोपटक जोडियो सेना

रौतहट– रौतहटको ऐतिहासिक समनपुर मेलामा नेपाली सेना पनि जोडिएको छ। जिल्लाको गढीमाई नगरपालिकाको समनपुरमा २०५ वर्षदेखि लाग्दै आएको होली ऐतिहासिक समनपुर मेलामा नेपाली सेनाको टोलीले पहिलोपटक विभिन्न झाँकी प्रस्तुत गरेको छ।

नेपाली सेनाको गौरमा रहेको इन्द्रबक्स गणले समनपुरमा सन् १८१४–१६ को नेपाल–अंग्रेज युद्धको क्रममा भएको युद्धको सम्झनामा पहिलोचोटि सार्वजनिक रुपमा विभिन्न कार्यक्रम प्रस्तुत गरेको छ। मेलाको उद्घाटन संघीय सांसद देवप्रसाद तिमल्सिनाले गरेपछि नेपाली सेनाको टोलीले समनपुर युद्धको इतिहास बताउँदै ऐतिहासिक कालदेखि नेपाली सेनाले देशको रक्षा गर्न खेलेको भूमिका पनि स्पष्ट पारेको छ । सेनाको टोलीले झिझिया नाचका साथै होली नृत्य पनि प्रस्तुत गरेको थियो।

कार्यक्रममा नेपाल–अंग्रेज युद्धको समयमा समनपुरमा भएको आक्रमणको सन्दर्भलाई इतिहासमै पहिलोचोटी करिब आधा घन्टाको नाटक प्रदर्शन गरिएको छ। उद्घाटनकै लागि बनाइएको मञ्चमा  इन्टरनेशनल बाल एकेडेमी गौरका बालबालिकाले प्रस्तुत गरेको नाटकले सबैलाई भावुक बनाउँदै सोही युगमा पु-याएको स्थानीयको भनाई छ। युद्धमा स्थानीयबासीले आधुनिक हतियारसहित आएको अंग्रेजी फौजलाई धपाएको थियो। नेपाली पक्षले अंग्रेजहरुबाट भारी परिमाणमा हतियार खोस्नुका साथै तोप पनि खोसेको थियो। उक्त युद्धमा खोसिएको तोप एसएसपी कार्यालय वीरगंजमा रहेको छ। सो तोप ल्याउन पहल गरिने गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले प्रतिबद्धता जनाए।

ऐतिहासिक फागु बैरिया मेला तथा होली व्यापार महोत्सवको उदघाटन सत्रलाई सम्बोधन गर्दै मेयर यादवले समनपुरको इतिहास जोगाउन नेपाली सेनाको इन्द्रबक्स गणले खेलेको भूमिकाको सराहना गरे। कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले ऐतिहासि समनपुरको बारेमा इतिहासमा पनि उल्लेख भएको पाइएकोले अबको दिनमा संरक्षण गर्नु पर्ने र यसमा सबै पक्षको महत्वपूर्ण भूमिका हुनुपर्ने बताए।

पाँच दिनसम्म चल्ने होली मेलामा करिब चार करोडको व्यापार हुने अनुमान रहेको छ। सर्लाही र रौतहटको विभिन्न गाउँका हजारौँले समनपुर होली मेलामा होलीको सामग्री किन्नुका साथै घरायसी प्रयोजनका सामान किन्ने गरेका छन्।

नागरिककर्मीसहित चार दर्जन सम्मानित

कार्यक्रममा नगरपालिकाको तर्फबाट साँसद देवीप्रसाद तिमल्सिना, प्रजिअ थापा, नेपाली सेनाको इन्द्रबक्स गणका कर्णेल सुजन शाक्य, सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी कृष्ण ढकाल, नेपाल प्रहरीका रौतहट प्रमुख एसपि भूपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभाग रौतहटका प्रमुख अभिनय कुमार सिंह, नागरिककर्मी मदन ठाकुर सहित करिब चार दर्जनलाई मधेसको चिनो गमछा, मायाको चिनो र सम्मानपत्रले सम्मानित गरेका छन्। 

प्रकाशित: ४ चैत्र २०७५ १४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App