४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

शान्ति सम्झौताको पक्षामा कोलम्बियामा विशाल प्रदर्शन

बोगोटा-वामपन्थी सशस्त्र विद्रोहीसँग विगतमा सम्पन्न शान्ति सम्झौता धरापमा नपरोस् भन्ने माग राखी कोलम्बियाका हजारौं कृषक, मानव अधिकारकर्मी तथा विद्यार्थीहरु देशभरीका सडकमा उत्रेका छन्।
सशस्त्र विद्रोही दल रिभेल्युसनरि आम्र्ड फोर्सेस (फार्क) सँग सम्पन्न शान्ति सम्झौताविरुद्ध जाने जनमत सङ्ग्रहको परिणाम एउटा त्यान्द्रो भरमा मात्र झुन्डिएकोले सो स्वीकार गर्न नहुने माग राखी यसै हप्तामा दोस्रो पटक पनि प्रदर्शनकारीहरु सडकमा उत्रेका हुन्।
बोगोटास्थित गरिएको यस प्रदर्शनको क्रममा दशकौंदेखि जारी लामो द्वन्द्वमा परी मारिएका आफ्ना आफन्तको तस्वीर र शान्तीको प्रतिक सेतो फूल बोकेका व्यक्तिहरु जम्मा भएका बताइएको छ।
कोलोम्बियामा ५२ बर्ष लामो यस द्वन्द्वमा परी करिब २ लाख २० हजार व्यक्ति मारिएका छन् भने करिब ८० लाख व्यक्ति घरवार छोडी विस्थापित हुनु परेको छ।
यस वर्षको नोवेल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति जुआँ म्यानुएल सान्तोष दिइएको छ। कोलम्बियामा जारी रहेको हिंसात्मक विद्रोहको अन्त्यगरी शान्ति सम्झौताका माध्यमबाट शान्ति स्थापनाका लागि गरेको पहलस्वरुप उहाँलाई सो पुरस्कार दिइएको हो। रासस/एपी

 

प्रकाशित: २८ आश्विन २०७३ ०७:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App