coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्वार्ता

‘शान्ति मार्गमा खहरे खोला नियन्त्रण गर्न लागेका छौं’

जनप्रतिनिधि भएर आएपछि जनताले महसुस गर्ने के–के काम गर्नुभयो ?
जनप्रतिनिधि भएर आएको झण्डै दुई वर्ष बित्न लाग्यो। त्यसयता जनताकै सेवामा लागिरहेका छौं। जनप्रतिनिधि भएर आएसँगै जनताको माग अनुसार नै काम गर्दै आएका छौं। लामो समयपछि स्थानीय तहमा जनप्रतिनिधि आएकाले हामीसँग जनताका धेरै चाहाना र आकांक्षा रहेका छन्। त्यसैले जनताको चाहना अनुसार काम गर्ने प्रयत्न गरिरहेका छौं। हामी आएसँगै सडक, ढल, ब्लक बिछ्याउने, खानेपानी, बिजुली लगायतका पूर्वाधारलाई प्रथामिकतामा राखेर काम गर्दै आइरहेका छौं। आदर्श कलोनीदेखि संयुक्त बसपार्कसम्म झण्डै आधा किलोमिटर सडकमा ढल बिछ्याएर कालोपत्रे गर्ने क्रममा छौं। करिव आधा दर्जनजति सडक कालोपत्रे गरेका हौं। अन्य सडक स्तरोन्नति तथा मर्मतलाई तीव्र गतिमा अघि बढाएका छौं।

तपाईंको वडामा खानेपानीको समस्या छ, कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
पर्याप्त मात्रामा खानेपानीका स्रोत नहुँदा वडामा खानेपानीको समस्या देखिएको हो। वडामा विभिन्न स्थानमा जमिनमुनिबाट खानेपानी निकालिएको कारणले हाहाकार भने छैन। तर, जनताको माग अनुसार पर्याप्त आपूर्ति गर्न भने सकेका छैनौं। बाँसबारीदेखि मण्डिकाटार जाने सडकखण्डमा खानेपानीको ट्रिटप्लान्ट सहितको खानेपानीको वितरण प्रणाली तयार गरेका छौं। अबको केही समयभित्रै खानेपानी वितरण गर्ने तयारीमा रहेका छौं। उक्त खानेपानीबाट करिव तीन सय घर लाभान्वित हुनेछन्। वडा कार्यालयले मेलम्चीको खानेपानी वितरण गर्नको लागि पहलकदमी गरेको छौं। दोस्रो चरणको मेलम्ची वडामा ल्याउने गरी सम्झौता भएर सर्भे भइरहेको छ। त्यसैले अबको केही वर्षभित्रै वडाको खानेपानी समस्या हल गर्नेछौं।

तपाईँको वडाका अधिकांश सडक लथालिंग छ, कहिले निर्माण सम्पन्न गर्नुहुन्छ ?
वडाको मुख्य समस्या भनेको नै सडक हो। वडाका अधिकांश सडक मापदण्ड र मुआब्जा विवादकै कारणले अघि बढाउन सकिएको छैन। अधिकांश सडक १० फिट छन्, जुन मापदण्ड विपरितका हुन्। त्यसैले स्थानीय तहसँग मुआब्जा वितरण गर्ने आर्थिक हैसियत छैन। जसको कारणले सडक विस्तार अघि बढाउन सकिरहेका छैनौं। सडक विस्तार अघि बढाउन विभिन्न निकायसँग पहलकदमी गरेका छौं। इच्छाशक्ति भए पनि स्रोतसाधन नहुँदा सोचेजति काम गर्न नसकिने रहेछ। अधिकांश सडक कच्ची छन्। त्यसैले वर्षेनी नयाँ–नयाँ योजना बनाएर सडक कालोपत्रे तथा ढलान गर्ने लक्ष्य राखेका छौं।

तपाईँको वडामा अनधिकृत प्लटिङले अस्तव्यस्त बनाएको छ, नियन्त्रण गर्ने कस्तो योजना छ ?
स्थानीय तहमा लामो समय जनप्रतिनिधि नहुँदाको फाइदा उठाउँदै जग्गा दलालले अनाधिकृत तथा व्यवस्थित ढंगले जताततै जग्गा प्लटिङ गरेका थिए। जग्गा दलालले खानेपानी, सडक ढल, बिजुली, खुला क्षेत्रसमेत नराखीकन जभाभावी ढंगले प्लटिङ गरेकाले अहिले अस्तव्यस्त देखिन्छ। बिग्रिएको ठाउँ सपार्न धेरै गाह्रो हुने रहेछ। त्यसैले अहिले हामीले सडक ढल लगायतका पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं।

तपाईँको वडामा सार्वजनिक जग्गा मिचिने क्रम रोकिएको छैन नि ?
वडामा तीन सय रोपनीभन्दा धेरै सार्वजनिक जग्गा छ। यकिन तथ्यांक नहुँदा यति नै सार्वजनिक जग्गा अतिक्रमणमा परेको छ भन्न कठिन छ। नगरपालिकाबाट गठन गरेको अध्ययन समितिले सार्वजनिक जग्गाको छानविन सम्पन्न गरेर प्रतिवेदन तयार पारेको छ। त्यसैले अब नगरपालिकाको प्रतिवेदन अनुसार फिल्ड सर्भे गरेर सार्वजनिक जग्गा छुट्टाउनेछौं। यो काम चालू आर्थिक वर्षमा लगभग सकिन्छ। सम्भवतः अर्काेवर्षदेखि सार्वजनिक जग्गाको संरक्षणतर्फ अग्रसर हुनेछौं।

कस्तो वडा बनाउने सपना बोक्नुभएको छ ?  
वडाबासीलाई खानेपानी, सडक, ढल लगायतका आधारभूत आवश्यकता सेवा प्रवाह गर्ने लक्ष्यसहित धमाधम काम गरिरहेका छौं। कार्यकालभित्रै वडाका सम्पूर्ण कच्ची सडक कालोपत्रे गर्न सम्भव छैन। तैपनि स्रोत र साधनले भ्याएसम्म धेरै काम गर्ने लक्ष्य राखेर काम गरिरहेका छौं। वडा कार्यालय र नगरस्तरीय योजनाको बजेटले मात्रै समग्र वडाको विकास सम्भव छैन। त्यसैले संघीय तथा प्रदेश सरकार र अन्य निकायसँग हातेमालो गर्दै वडाको बृहत्तर विकासको लागि दिलोज्यान लगाएर खटेको छु।

नगरपरिषद्बाट कस्ता योजना ल्याउनुभएको छ ?
गत आर्थिक वर्षको नगरपरिषद्बाट वडाको लागि एक करोड ८० लाख रूपैयाँको बजेट विनियोजित भएको थियो। बजेट तथा नीति कार्यक्रमले अघि सारेका ९५ प्रतिशत योजना सम्पन्न भइसकेका छन्। नगरपरिषद्बाट आएको बजेटबाट खानेपानी, बाटो, सडक बत्ती, ढल निकास, नदीको किनारा व्यवस्थापन लगायतका योजनालाई प्राथमिकतामा राखेर अघि बढाएको छु। चालू आवमा दुई करोड रूपैयाँ बजेट विनियोजन भएको छ। उक्त बजेटबाट जनताको आवश्यकता र मागलाई मध्यनजर गर्दै ५६ वटा योजना अघि बढाएका छौं।

खुद्रे योजना मात्रै अघि सार्नुभएको रहेछ नि ?
सप्पै ठाउँबाट जनताले बजेट माग गर्ने भएकाले सबैलाई समेट्ने गरी बजेट विनियोजन गरेका हौं। खुद्रे योजना अघि सार्दा ठूला योजना अघि बढाउन कठिन हुने रहेछ। नगरस्तरीय योजना अन्तर्गत ३० लाखको रुद्रमति खानेपानी योजनाको लागि परेको छ। संघीय तथा प्रदेश सरकारसँग समन्वय गरेर ठूला विकास निर्माणलाई अघि बढाउने जमर्काे गरेका छौं। पर्याप्त बजेट नहुँदा भौगोलिक क्षेत्र अनुरूपको धेरै विकास गर्न सकेका छैनौं। थोरै बजेटले जनताको इच्छा र आकांक्षालाई सम्बोधन गर्न निकै गाह्रो हुने देखिन्छ।

तपाईंको वडामा वर्षायाममा खहरेखोलाको समस्या देखिँदै आएको छ, नियन्त्रण गर्न कस्तो पहल गर्नुभएको छ ?
वर्षायाममा बूढानिलकण्ठदेखि आउने खहरेभेलको कारणले समस्या आएको थियो। उक्त समस्यालाई मध्यनजर गर्दै हामीले शान्ति मार्गमा ढल राख्ने तथा ढलान गर्ने काम गर्दै आइरहेका छौं। वर्षायाममा खहरे खोलाको कारणले डुबानको समस्या समेत देखिँदै आइरहेको थियो। खहरे खोलाको बहाव नियन्त्रणका लागि ७० लाखको बजेट छुट्टाएर धमाधम काम गरिरहेका छौं। पानीको निकास राखेर व्यवस्थित गरिरहेका छौं। त्यसैले अब खहरे खोलाको डुबानको समस्या अन्त्य हुनेछ।

कस्तो वडा बनाउने सपना देख्नुभएको छ ?
जनप्रतिनिधि भएर आएरपछि पारदर्शी ढंगले बजेट विनियोजन गर्दै आएका छौं। हरेक विकास निर्माणका कार्यलाई पारदर्शी ढंगले अघि बढाउँदै आइरहेका छौं। वडामा सुकुम्बासीको समस्या व्यप्त रूपमा देखिएको छ। त्यसैले सुकुम्बासी समस्या अन्त्य गर्न खोजेका छौं। वडामा एक सय ८ रोपनी सार्वजनिक जग्गा रहेको छ। उक्त जग्गामा मिनि स्टेडियम निर्माण गर्ने योजना अघि सारेका छौं। तर, उक्त जग्गामा केही विवाद भएकाले विवाद सल्टाउनेतर्फ ध्यान केन्द्रित गरेका छौं। प्रस्तुति : हिमाल लम्साल

प्रकाशित: ४ चैत्र २०७५ ०७:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App