७ वैशाख २०८१ शुक्रबार
समाज

ऊबेला फूलको सुगन्ध, अहिले प्रदूषणको गन्ध

‘चैत–वैशाखको बेला जता गयो फूलको सुगन्धिलो बास्ना आइहाल्थ्यो, साँझपख हिँड्दा शरीरलाई निकै ‘रिलिफनेस’ मिलेको महसुस हुन्थ्यो,’ आइतबार नागरिककर्मीसँग कुरा गर्दै वनस्पतिविद् तीर्थवहादुर श्रेष्ठले भने, ‘अहिले कहाँ पाउनु फूलको सुगन्ध, जताततै प्रदूषणको दुर्गन्धै–दुर्गन्ध छ, यही दुर्गन्ध सहेर पनि केही वनस्पति उकुसमुकुस भएर फुलिरहेका छन्।’

ऋतु परिवर्तनसँगै वनस्पतिले नयाँ पालुवा फेर्ने, फूल फुलाउने र प्रकृतिलाई नै सुन्दर बनाउने समय हो यो, अर्थात् वसन्त ऋतु। यतिबेला मौसमी फूल र विभिन्न प्रजातिका वनस्पति ढकमक्क फुल्ने गर्छन्। वसन्त ऋतुको आगमनसँगै उपत्यकाका विभिन्न ठाउँमा थरीथरीका फूल ढकमक्क फुल्न थालेका छन्। कंक्रिटले भरिन लागेको सहरभित्र केही स्थानमा मौसमी रूपमा फुलेका फूलले सहरको शोभा थपेको छ।

सडक आसपास र बगैँचामा फुलेका तिनै फूल हेर्ने र फोटो खिच्नेको संख्या पनि बढ्दो छ। अचेल रातो, सेतो, निलो, गुलाबी रङका फूल फुलेका छन्। फूलका प्रजाति मात्रै नभएर सडक छेउका विभिन्न वनस्पति पनि फुलिरहेको देखिन्छ। केही समय भए पनि काठमाडौंको धुलो र धुवाँ भुल्न सडक किनाराका यी दृश्य हेर्न पुग्छन् सहरवासी।

गिनी  फूल, भ्यागुते फूल, नास्पाती, मयल, चाँदीगाभा, आरुका फूल, आरू बखडालगायत प्रजातिका फूल पनि फुलिरहेका छन्। यहाँका रैथाने प्रजातिका नास्पाती, काँगियो, शिरीष, कपुर, लहरेपीपल लगायत हुन्। यी वनस्पति फुल्ने बेला यहीँ हो। उपत्यकाभित्र फुलेका फूल हेर्दा नेपालकै रेथाने फूल तीन प्रतिशत पनि छैनन् होला।

सिजनमा फुल्ने यस्ता प्रजातिका बिरुवाले सहरलाई रंगीन बनाएको बटुवाको तर्क छ। ‘काठमाडौंका सडकका डिल डिलमा भएका वनस्पति फूल्ने प्रजातिका छन्, यिनले सहरलाई सुन्दर बनाएको छ,’ शनिबार सिनामंगलमा भेटिएका चिरञ्जिवी न्यौपानेले भने, ‘तर, के गर्नु सहरको प्रदूषणले फूलको बास्ना खोसिदिएको छ, वृक्षको संरक्षण गर्ने र धुलोमुक्त सहर बनाउने हो भने फूलको बास्नाले सहर नै सुगन्धित हुन्थ्यो होला।’

यद्यपि उपत्यकाभित्र प्रदूषणका कारण फुलेका फूल समेत धुलाम्मे बनेका छन्। फूलका हाँगादेखि कोपिलासम्म धुलाम्मे बनेको देखिन्छ। धुलाम्मे बनेकै कारण हेर्दा मनमोहक देखिए पनि कतिपय फूलको सुवास र सौन्दर्य हराएको छ। उपत्यकाको प्रदूषणका कारण सुगन्ध आउने फूलको समेत सुवास हराएको वनस्पतिविद् श्रेष्ठको भनाई छ। उनका अनुसार अहिले भर्खरै कोपिला लागेका फूलमा धुलो टाँसियो। धुलोकै कारण फूलको सुवास हराउन थालेको छ। ‘उपत्यकाभित्र धेरै वनस्पति फूल फुल्ने प्रजातिका छन्, ती बिरुवा वनस्पतिको रक्षा कोहीबाट भएको देखिन्न,’ उनले भने, ‘पुराना तथा बूढा रुखहरूसँगै त्यही प्रजातिको नयाँ रुख रोप्ने हो भने सहरभित्र फूल फुलेको सधैँ देख्न पाइथ्यो, अहिलेका रुख ढलेपछि फूल कहाँबाट देखिएला र ?’

उनका अनुसार यो मौसममा उपत्यकाभित्र स्वस्थानी (पहेँलो फूल), गिनी फूल, भ्यागुते फूल, नास्पाती, मयल, चादीगाभा, आरुका फूल, आरू बखडालगायत फुलिरहेका छन्। उपत्यकामा हाल ढकमक्क फुलिरहेको वनस्पतिमा रैथाने प्रजाति मात्रै छैनन्। यहाँका रैथाने प्रजाति भनेका नास्पाती, काँगियो, शिरीष, कपुर, लहरेपीपल लगायत हुन्। यी वनस्पति फुल्ने बेला यहीँ हो। पहिले रैथाने र आगन्तुक वनस्पति फुल्ने स्थानमा अहिले भने घर बनेका छन्। कतिपय स्थानमा सडक बनिसकेका छन्। पहिले–पहिले कपुर फुल्ने ठाउँमा अहिले टुँडिखेल बनेको श्रेष्ठको भनाइ छ। ‘उपत्यकाका बगैंचा र घरका आँगनमा फुल्ने अधिकांश फूलहरु ब्राजिल र मेक्सिकोबाट आयात गरिएका हुन्, उपत्यकाभित्र फुलाउने फूलभित्र नेपालकै रेथाने फूल भनेको तीन प्रतिशत पनि छैनन् होला,’ उनले थपे, ‘अहिले उपत्यकाभित्र जापानको पइयूँ (साकुरा), अर्किट फूल धेरै मात्रामा फुलेको देखिन्छ, हाम्रो लगानी पनि यिनै फूलमा बढी छ, काठमाडौंमा रैथाने फूल फुलाउन सक्ने सम्भावना भए पनि राज्य र जनताले त्यसमा लगानी गरेको देखिन्न।’ उनका अनुसार यहाँको हावापानी पनि मिल्दो भएका कारण उपत्यभित्र धेरै प्रजातिका फूल फुलाउन सकिन्छ। अहिले पनि शिवपुरी र दलचोकीतिर धेरै प्रजातिका रैथाने फूल पाइन्छन्।

उपत्यकाभित्र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८औँ सम्मेलनका बेला सडक छेउ र पार्कमा रोपिएका फूल भने अहिले सुक्दैछन्। कतिपय फूल र फूल फूल्ने वनस्पतिको संरक्षण नगरिँदा सुकिसकेका छन्। ती फूलको रेखदेख न सरकारले गरिरहेको छ, न त स्थानीयवासीले नै। फूल फुलेका क्षेत्रमा पैदलयात्रु र उपत्यका घुम्न आउनेले तस्बिर समेत लिइरहेको देखिन्छ। चक्रपथको सिनामंगल क्षेत्र पुग्दा अहिले त्यहाँ राताम्मे फूल फुलेको देखिन्छ। तीनकुने हुँदै सिनामंगलतर्फ मोडिने सडकमा किनारामा फूल फूलेको देख्न सकिन्छ। वनस्पतिविद्का अनुसार अचेल फुलेका प्रायः फूल मौसमी हुन्। उपत्यकाका विभिन्न क्षेत्रमा अहिले मौसमी फूल फुलिरहेको छन्। श्रेष्ठकै भनाई अनुसार आजभन्दा ३० वर्षअघि एक सिजनमा मात्रै फुल्ने फूल पछिल्लो समय दुई सिजन फुल्न थालेका छन्। उपत्यकाको तापक्रम बढ्दै जाँदा त्यसको असर परेर यस्तो भएको हो। ‘फूलसँग मानिसको जीवन जोडिएको छ,’ उनले भने, ‘मानिसको जीवन पनि फूलजस्तै सुगन्धित र सफा हुनुपर्ने तर मन धमिलिँदै छ, सँगै सहर पनि।’

कंक्रिटले भरिन लागेको सहरभित्र केही स्थानमा मौसमी रूपमा फूलेका फूलले सहरको शोभा थपेको छ। सडक आसपास र बगैँचामा फूलेका तिनै फूल हेर्ने र फोटो खिच्नेको संख्या पनि बढ्दो छ।  

कंक्रिटले भरिन लागेको सहरभित्र केही स्थानमा मौसमी रूपमा फूलेका फूलले सहरको शोभा थपेको छ। सडक आसपास र बगैँचामा फूलेका तिनै फूल हेर्ने र फोटो खिच्नेको संख्या पनि बढ्दो छ।  संस्कृतिविद् सत्यमोहन जोशीको भनाईमा कंक्रिटका भवनले सहर ढाकिँदा फूलको बास्ना पनि हराएको हो। ३०÷३५ वर्षअघिसम्म अनेकथरी बास्नादार फूल फुल्ने सहरमा अहिले छिटफुट मात्रै फूल फुलेको देखिन्छ। ‘फूलले सहरलाई सुन्दर बनाउँछ। तर, ती फूल जोगाउने कोही भएन, घरभित्रको सानो गमलामात्रै फूल रोप्ने बानी सहरवासीमा छ,’ उनले भने, ‘मौसमको हिसाबले काठमाडौंमा अनेकथरीका फूल फुलाएर सुन्दर बनाउन सकिन्छ, त्यसको लागि सबैको तत्परता चाहिन्छ।’
कृषि तथा पुष्प व्यवसायी विश्वमणी पोखे्रलले उपत्यको माटो फूल फुलाउन र कृति उत्पादनका निम्ति उत्कृष्ट रहेको बताए। उनले सहरको मलिलो उर्बर माटो कंक्रिटका भवनले खोसेको बताए। ‘यहाँ धेरै प्रजातिका विदेशी फूल फूल्छन्, यहाँको मौसम फूल फुलाउनका निम्ति उत्तम छ। तर, हामीले यसतर्फ ध्यान दिइरहेका छैनौं,’ उनले भने।

तीर्थवहादुर श्रेष्ठ, वनस्पतिविद्
भर्खरै कोपिला लागेका फूलमा धुलो टाँसियो। धुलोकै कारण फूलको सुवास हराउन थालेको छ। उपत्यकाभित्र धेरै वनस्पति फूल फुल्ने प्रजातिका छन्। ती बिरुवा वनस्पतिको रक्षा कोहीबाट भएको देखिन्न। पुराना तथा बूढा रुखसँगै त्यही प्रजातिको नयाँ रुख रोप्ने हो भने सहरमा सधैं फूल फुलेको देख्न पाइथ्यो।
सत्यमोहन जोशी, संस्कृतिविद्
कंक्रिटका भवनले सहर ढाकिँदा फूलको बास्ना पनि हराएको हो। ३०÷३५ वर्षअघिसम्म अनेकथरी बास्नादार फूल फुल्ने सहरमा अहिले छिटफुट मात्रै फूल फुलेको देखिन्छ। फूलले सहरलाई सुन्दर बनाउँछ। तर, ती फूल जोगाउने कोही भएन। घरभित्रको सानो गमलामात्रै फूल रोप्ने बानी सहरवासीमा छ।

प्रकाशित: ४ चैत्र २०७५ ०६:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App