७ वैशाख २०८१ शुक्रबार
अन्य

भक्तपुरमा भीमसेनको लिंग प्रदर्शन

कृष्ण किसी/रेणु त्वानावासु
तपाई भक्तपुरको दतात्रय पुग्नुभयो भने एउटा अच्चमलाग्दो दृश्य देख्नसक्नुहुन्छ– त्यो हो लिंगको प्रदर्शन् अर्थात यौन सम्पर्क गरिराखेको दृश्य। भक्तपुर नगरपालिका ९ दतात्रयस्थित भीमसेन मन्दिरको पहिलो तलामा करिब तीन फिट लामो र एक फिट गोलो काठको लिंग (महाभारतका भीमसेनको लिंगको प्रतिक) रातो कपडालाई बीचमा प्वाल पारेर (द्रोपतीको योनीको संकेत) योनीभित्र लिंग पसिराखेको अवस्थाको दृश्य त्यहाँ राखिएको छ। यो लिंगको टुप्पोमा कपास झुन्ड्याइएको छ। यौन सम्पर्क गर्दा वीर्य खसेको देखाइ लिंगको टुप्पोमा सेतो कपास झुण्डाई राखिएको हो। यहाँ कपासलाई वीर्यको प्रतीकको रूपमा लिने गरिन्छ।

प्रत्येक वर्ष होलीको क्रमको परम्परा अनुसार त्यहाँ यस्तो गरिएको हो। यो दृश्य हेर्न र लिंगलाई पूजा गर्न आउने पनि उतिकै भेटिन्छन्। होलीको एक हप्ताअघिदेखि स्थानीय वासिन्दा द्रोपदीको योनीमा भीमसेनको लिंग घचेटेर ढोग्ने गर्छन्। यसले गर्दा पारिवारिक सुख र दीर्घायु मिल्ने विश्वास गरिन्छ। भक्तपुरको होली संस्कृति र जीवनशैलीसँग मात्र नभई प्रजनन स्वास्थ्यसँग पनि जोडिएको बताइन्छ।

झट्ट हेर्दा यसले अश्लीलताको झलक दिए तापनि कुनै सञ्चार माध्यम नभएको त्यतिबेला देवदेवीको समागमको नाम दिएर सन्तान जन्माउने कला सिकाएको जानकार बताउँंछन्। शारीरिक सम्बन्ध राख्ने तरिका सबै मानिसले बुझन्को लागि यो पर्व हो भन्छन् उनीहरू। यो दृश्य तपाई होलीसम्म हेर्न सक्नुहुनेछ। प्रतीकात्मक रूपमा भीमसेन र द्रोपतीको यौन सम्पर्क गरेको यो दृश्य हेर्न आउने पनि उत्तिकै भेटिन्छन्। जात्रा सञ्चालन गर्न आर्थिक समस्या भएको भन्दै लिंग हेर्न आउनेसँग शुल्क पनि लिने गरिएको छ। नेपालीसँग १० रूपैयाँ र विदेशीसँग ५० रूपैयाँं शुल्क लिएको पुजारी केशरी कपालीले जनाइन्।

उनका अनुसार पहिलापहिला भए भीमसेनको योनांगलाई भीमसेन मन्दिरको तल पाटीमै झुन्डाउने चलन थियो। धेरै भीडभाड हुने सार्वजनिक पाटीमा राखेर लिंग झुन्डाउँदा महिलालाई हिँडडुल गर्ने अप्ठ्यारो भएपछि लिंगलाई मन्दिरको माथिल्लो तलामा झुन्डाउन थालिएको उनले जनाइन्। झुण्डाइएको लिंगलाई होली पूर्णिमाको दिन निकालिन्छ। त्यसपछि यसलाई धुनको लागि पुन सूर्यमढी च्याम्हासिंह हुर्दै ब्रह्मायणी नदीसम्म बोकेर लाने चलन छ। यो अन्तिम दिनमा भीमसेनको योनांग बोक्न आउनेको भीड लाग्छ। योनांग बोकेर लगेर धोयो भने छोरा जन्मिन्छ भन्ने जनविश्वास अझै छ। भीमसेनको योनांग छोरा नभएका विशेष बोक्न लालायित हुन्छन्। होलीको दिन साँझ योनांग धोएपछि भक्तपुरको होली समाप्त हुन्छ।

संस्कृतिविद् जननीप्रसाद मुल उहिलेदेखिको यो परम्परा अहिले पनि जस्ताको तस्तै हेर्न पाउनुमा खुसी व्यक्त गर्छन्। पुराना संस्कृति, परम्परालाई जोगाइराख्नु आवश्यक रहेको उनी औंल्याउँछन्। भक्तपुरको दतात्रयस्थित भीमसेन मन्दिरको पहिलो तलामा महाभारतका भीमसेन र द्रोपतीले यौन सम्पर्क गरिराखेको प्रतीकको रुपमा रातो कपडालाई बीचमा प्वाल पारेर (द्रोपतीको योनीको संकेत) योनीभित्र झण्डै तीन फिट लामो अनि एक फिट गोलाईको काठ (भीमसेनको लिंगको प्रतिक) लिंग पसाएर यौन सम्पर्क गरिराखेको प्रतीकको दृश्य।

प्रकाशित: ४ चैत्र २०७५ ०६:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App