coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्राफिक नियम मिच्ने दुई पांग्रेका चालक धेरै

मुलुकभर सबैभन्दा धेरै ट्राफिक नियम उल्लंघन गर्नेमा दुई पांग्रे अर्थात् मोटरसाइकल र स्कुटरका सवारीसाधनका चालक छन्। दुई पांग्रे सवारीसाधनको संख्या अत्यधिक भएकाले ट्राफिक नियम उल्लघंन गर्ने चालकको संख्या धेरै देखिएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७४–७५ मा मुलुकभर ट्राफिक नियम उल्लघंन गर्ने १६ लाख ४९ हजार ८ सय ४३ चालक कारवाहीमा परेका थिए। त्यसमध्ये दुई पांग्रेका चालकको संख्या पाँच लाख ५७ हजार ८ सय ७९ थियो। यस्तै, कार, जिप र भ्यान चालक तीन लाख २२ हजार ३०, ट्रक तथा ट्यांकरका चालक तीन लाख ८७ हजार १६ र  बस तथा मिनिबसका चालक २ लाख २४ हजार ५ सय ६५ थिए।

त्यसबाट सरकारले एक अर्ब तीन करोड ४० लाख ९३ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो। यातायात व्यवस्था विभागका अनुसार आर्थिक वर्ष २०७४–७५ मा देशभर दर्ता हुने सवारीसाधनको संख्या ३२ लाख २१ हजार ४२ पुगेका छन्। देशभर दुई पांग्रे सवारीसाधनको संख्या २५ लाख ३० हजार ७ सय २२ दर्ता भएका छन्। तीमध्ये दुई हजार ९ सय ७२ बस,  एक हजार ९ सय ७३ मिनिबस र मिनिट्रक, क्रेन–डोजर, एक्जाभेटर, ट्रक टिपर १२ हजार १ सय ५४, कार र जिप भ्यान २४ हजार ३ सय ३८, पिकअप १० हजार ३ सय ४२, १ हजार ९ सय ३४ माइक्रो, १६ हजार २ सय ९  माइक्रोबस, ९  टेप्पो, ३ लाख ४१ हजार ६ सय २३ मोटरसाइकल, १३ हजार ३ सय ९६ ट्याक्टर–पावरटिलर, इ–रिक्सा १२ हजार ३ सय २५, अन्य ४८ गरी ४ लाख ३७ हजार ६ सय १४ सवारीसाधन नेपाल भित्र्याइएको थियो।

प्रदेश ३ मा दर्ता हुने सवारीसाधनको संख्या ११ लाख ७२ हजार ४ सय १३ छन्। तीमध्ये दुई पांग्रे सवारीसाधनको संख्या १० लाख ४ हजार ४ सय ४४ रहेका छन्। आर्थिक वर्ष २०७३–७४ मा देशभर १६ लाख ८२ हजार ९ सय ३ चालकले ट्राफिक नियम उल्लंघन गरेको भन्दै कारवाहीमा परेका थिए। आर्थिक वर्ष २०७३–७४ मा ट्राफिक नियम उल्लंघन गर्ने चालकबाट राज्यले १ अर्ब २ करोड ६ लाख ३९ हजार ६ सय रूपैयाँ राजस्व संकलन गरेको थियो। प्रहरी प्रधान कार्यालय ट्राफिक प्रहरी निर्देशनालयका अनुसार सबैभन्दा धेरै ट्राफिक नियम उल्लघंन गर्ने दुई पांग्रे सवारीसाधनका चालक छन्। आर्थिक वर्ष २०७३–७४ मा ५ लाख ८५ हजार ३ सय ९२ जना दुई पांग्रे सवारीसाधनका चालक कारवाहीमा परेका थिए।

चालू आर्थिक वर्षको सात महिनामा देशभर ९ लाख ६७ हजार ४ सय ५१ सवारीचालक कारवाहीमा परेका छन्। जसमा सबैभन्दा धेरै ट्राफिक नियम उल्लंघन गर्नेमा दुई पांग्रे सवारीसाधनका चालक रहेका छन्। तत्कालीन पाँच विकास क्षेत्र र काठमाडौं उपत्यकामा छुट्टाएर गरिएको अध्ययनले काठमाडौं उपत्यकामा अत्याधिक मात्रामा ट्राफिक नियम उल्लंघन हुने गरेको छ।

सबैभन्दा धेरै उल्लंघन उपत्यकामा
आर्थिक वर्ष २०७३–७४मा काठमाडौं उपत्यकामा ६ लाख ३९ हजार ७ सय ११ सवारीचालक कारवाहीमा परेका थिए। जसबाट  ३५ करोड ६० लाख ६७ हजार ९ सय रूपैयाँ राजस्व संकलन भएको थियो। त्यस्तैगरी आर्थिक वर्ष २०७४–७५ मा उपत्यकामा ट्राफिक नियम उल्लघंन गर्ने ४ लाख ७२ हजार ४ सय ७ जना चालक कारवाहीमा परेका थिए। उनीहरूबाट २९ करोड ३१ लख ४५ हजार रूपैयाँ राजस्व संकलन भएको थियो।

त्यस्तै गरी चालू आवको सात महिना अर्थात् माघ मसान्तसम्म २ लाख ६६ हजार ६ सय २२ सवारीचालक कारवाहीमा परेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराम सापकोटा पछिल्लो समय ट्राफिक जनचेतनाका कार्यक्रम अगाडि बढेकाले ट्राफिक नियम उल्लंघन गर्ने चालक घटेको बताउँछन्। ‘ट्राफिक जनचेतनामूलक कार्यक्रम व्यापक रूपमा अगाडि बढाएका छौं। जसको कारणले ट्राफिक नियम उल्लंघन गर्नेको संख्यामा कमी आएको हो,’ उनले भने, ‘पछिल्लो समय जनचेतनाकै कारणले केही हदसम्म सुधार आएको हो।’

चालू आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने चालकको संख्या २ लाख ६६ हजार ६ सय २२ रहेको छ। कारवाहीमा परेका चालकबाट उपत्यकामा १७ करोड ६२ लाख १६ हजार ५ सय रूपैयाँ राजस्व संकलन भएको ट्राफिक निर्देशनालयले जनाएको छ। महाशाखाका अनुसार लेन मिच्ने र लापरवाही गर्नेपछि लाइसेन्स र ब्लु बुक नबोकी चलाउने, पार्किङ निषेध गरिएका क्षेत्रमा पार्किङ गर्ने, लाइसेन्स नलिने, मापसे गरेर सवारी चलाउने, ट्राफिक संकेत उल्लंघन गर्ने, बिग्रिएका सवारी चलाउने, छतमा यात्रु बोक्ने, वान–वेमा चलाउने, बढी भाडा लिनेलगायत नियम धेरै मिचिन्छन्। महाशाखाका प्रवक्ता जयराम सापकोटाले लामा सवारी चालकलाई नियम थाहा नहुँदा समस्या भएको बताउँछन्। ‘अधिकांश सवारी चालकले ट्राफिक नियम नै जान्दैनन्, त्यसले नियम मिच्नेको संख्या बढी देखिन्छ,’ उनी भन्छन्, ‘अहिले मापसे गर्ने सवारी चालक संख्या भने घटिरहेको छ।’

उनका अनुसार दुई पांग्रे सवारीचालकको धेरै ट्राफिक नियम उल्लघङ्न गर्ने गर्छन्। ‘सबैभन्दा धेरै ट्राफिक नियम पनि दुई पांग्रे सवारीचालकले गर्छन्,’ उनले भने, ‘दुर्घटनाको सिकार पनि दुई पांग्रे चालक नै हुने गर्छन्। त्यसैले दुई पांग्रे सवारीसाधनको चालक असुरक्षित देखिएका छन्।’ ट्राफिक इन्जिनियर आशिष गजुरेल नियम मिच्नेलाई कारबाही र जरिवाना गरेर मात्रै सुधार्न नसकिने बताउँछन्। ‘सवारी चालकको व्यवहार नै परिर्वतन नगरेसम्म सुधार्न सकिने रहेनछ,’ उनी भन्छन्, ‘विद्यालय तहमा ट्राफिक जनचेतनासम्बन्धी पाठ समावेश गरेर सानैदेखि नियम सिकाउनुपर्छ।’ उनी ट्राफिक नियमबारे चेतना जगाउन सरकारले ध्यान दिनुपर्ने बताउँछन्। ‘पूर्वाधार बनाएर ट्राफिक जनचेतनासम्बन्धी कार्यक्रम गर्न जरुरी भइसक्यो,’ उनी भन्छन्, ‘जरिवाना र कारबाहीले व्यवहार परिर्वतन हुन सकेन।’

लामा पनि जनचेतनाका लागि पर्याप्त बजेट नभएको र त्यसका लागि नयाँ तरिका अपनाउनुपर्ने बताउँछन्। विद्यालयको पाठ्यक्रममा नै नियम राख्दा त्यसले भविष्यलाई समेत फाइदा पुग्ने उनको धारणा छ। नियम मिच्नेलाई ट्राफिकले कसुर हेरी ५ सयदेखि एक हजार पाँच सय रूपैयाँ जरिवाना गर्दै आएको छ।  
 

प्रकाशित: ४ चैत्र २०७५ ०५:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App