८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

उम्मेदवार छान्न भाजपाको बैठक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी (बायाँ) र भारतीय जनता पार्टीका अध्यक्ष अमित साह। फाइल तस्बिर:एजेन्सी

नयाँदिल्ल – भारतको केन्द्रीय सरकार सञ्चालन गरिरहेको भारतीय जनता पार्टी (भाजपा)ले आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छान्न शनिबार केन्द्रीय निर्वाचन समितिको बैठक सम्पन्न गरेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी र पार्टी अध्यक्ष अमित साहले अध्यक्षता गरेको बैठक आइतबार बिहानीपख केही राज्यमा पार्टीका तर्फबाट आसन्न लोक सभा निर्वाचनमा उम्मेद्वार हुने व्यक्तिको नामावली तयार गर्दै सकिएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ।

प्रधानमन्त्री मोदी र पार्टी अध्यक्ष साहले बैठकमा आगामी लोकसभा निर्वाचनका लागि उम्मेद्वारको सूची पेश गर्ने विषयमा आवश्यक छलफल गरेको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ। शनिबार राति अबेरबाट सुरु भएको बैठक आइतबार बिहानीपख सम्पन्न भएको थियो। बैठकले आगामी आमनिर्वाचनमा पार्टीका तर्फबाट ११ राज्यमा उठाइने उम्मेद्वार छनौट गरेको बताइएको छ। स्रोतका अनुसार बैठकले अहिले ११ राज्यका निर्वाचन क्षेत्रका लागि उम्मेद्वारको सूची तयार पारेको भए पनि नाम भने सार्वजनिक गरिएको छैन। भाजपाको शनिबारको बैठकले बिहार, उत्तराखण्ड, आसाम, अरुणाञ्चल, मणिपुर, त्रिपुरा, आन्द्र प्रदेश, महाराष्ट्र र जम्मु तथा कस्मिरका लागि उम्मेद्वारहरुको सूची बनाएको एएनआईले जनाएको छ।

विभिन्न सात चरणमा सम्पन्न हुने भारतको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत पश्चिम बंगाल, बिहार, उत्तरप्रदेश, उत्तराखण्ड, आसाम, आन्द्र प्रदेश, महाराष्ट्र र जम्मु तथा कस्मिरमा पहिलो चरणमा निर्वाचन हुन लागेको छ। पहिलो चरणको निर्वाचन अप्रिल ११ मा हुने तय भएको छ।

भाजपा केन्द्रीय निर्वाचन समितिको बैठकमा संघीय सरकारका मन्त्रीहरु सुष्मा स्वराज, राजनाथ सिंह, अरुण जेट्ली र किरण रिजिजु पनि सहभागी भएको एउनआईले उल्लेख गरेको छ। ‘भाजपाको बलियो पकड नभएको यी ११ राज्यका केही निर्वाचन क्षेत्रमा पार्टीलाई सहयोग गर्ने वा गठबन्धन बनाउन खोज्ने क्षेत्रीय पार्टी र अन्य ठूला पार्टीका लागि खाली गरिएको छ,’ स्रोतलाई उद्धृत गर्दै एएनआईले जनाएको छ।

भारतको केन्द्रीय राजनीतिमा वा सरकार बनाउन अत्यन्तै ठूलो महत्व राख्ने उत्तर प्रदेश जहाँ लोक सभाका लागि ८० सिट छ, त्यसबारे भने शनिबारको बैठकमा केही छलफल नभएको स्रोत उद्धृत गर्दै एएनआईले जनाएको छ। उत्तर प्रदेशमा गठबन्धन बनाउनेबारे भाजपाले साना दलहरुसँग छलफल गरिरहेकाले शनिबारको बैठकमा उत्तर प्रदेशबारे केही निर्णय नभएको बताइएको छ। सन् २०१४ को लोक सभा निर्वाचनमा भारतीय जनता पार्टीले उत्तर प्रदेशमा कायम रहेका ८० सिटमध्ये ७१ सिटमा जित हासिल गरेको थियो।

भारतीय जनता पार्टीको केन्द्रीय निर्वाचन समितिको बैठक सोमबार पनि हुने बताइएको छ। यसैबीच आगामी मार्च २२ सम्ममा भाजपाले उम्मेद्वारको सबै सूची घोषणा गरिसक्ने अनुमान पनि गरिएको छ।
भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेस आईले भने शनिबार एकचौथाई उम्मेद्वारको नामावली घोषणा गरिसकेको छ।

प्रकाशित: ४ चैत्र २०७५ ०४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App