७ वैशाख २०८१ शुक्रबार
राजनीति

मुख्यमन्त्री पौडेलको हेटौंडामै शल्यक्रिया

मकवानपुर – उच्च पदस्थ नेता तथा मन्त्रीहरूले उपचार गराउन विदेश जाँदा आलोचित हुँदै आएकोमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भने हेटौंडामै शल्यक्रिया गराएका छन् ।

पौडेलले स्थानीय आइतबार हेटौंडास्थित सामुदायिक आँखा अस्पतालमा आँखाको शल्यक्रिया गराएका छन् । आँखाका लागि प्रख्यात डाक्टर डा. सन्दुक रुइतले पौडेलको देब्रे आँखामा रहेको मोतिबिन्दुको शल्यक्रिया पाँच मिनेटमै गरेका थिए । बिहान सवा ११ बजे शल्यक्रिया गरिएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत सुधीरभद्र श्रेष्ठले बताए । शल्यक्रियापछि मुख्यमन्त्री क्वाटरमै विश्राम गरी सोमबार मात्रै आँखाको पट्टी खोलिने अस्पतालले जनाएको छ ।

चिकित्सकले दुई वर्षअघि नै आँखामा रहेको मोतिबिन्दुको शल्यक्रियाका लागि सुझाव दिएको पारिवारिक स्रोतले जनाएको छ । मोतिबिन्दुका कारण केही समयदेखि मुख्यमन्त्री पौडेलले नियमित आँखाको परीक्षण गर्दै आएका थिए । मुख्यमन्त्री पौडेलसँगै दुई सयजनाको पनि निःशुल्क आँखाको शल्यक्रिया गरिएको छ । शल्यक्रियामा डा. रुइतसहित सामुदायिक आँखा अस्पतालका डाक्टरहरू सुनिल थकाली र होमबहादुर गुरुङलगायतको टोलीले अप्रेसन गरेका थिए । शल्यक्रिया गराउनेमा मकवानपुर, बारा र पर्साका विपन्न परिवारका महिला र वृद्धवृद्धा अत्यधिक रहेका छन् । नेपाल र थाइल्यान्डबीच दौत्य सम्बन्ध स्थापना भएको ६०औं वर्ष पुगेको अवसरमा थाई दूतावास र थाई विहार, लुम्बिनीको सहयोगमा निःशुल्क आँखा शिविर आयोजना गरिएको हो ।

‘समृद्धिका लागि सहयोग गर्न तयार’
नेपालका लागि थाई राजदूत भाकावत तान्सकुनले नेपालको समृद्धि र विकासमा सहयोग गर्न सदैव तयार रहेको बताएका छन् । हेटौंडा सामुदायिक आँखा अस्पतालद्वारा आइतबार हेटौंडामा आयोजित पत्रकार सम्मेलन बोल्दै उनले नेपाल र थाइल्यान्डबीच धेरै समानता रहेकाले थप सहकार्य आवश्यक रहेको बताए । नेपाल र थाइल्यान्डबीच दौत्य सम्बन्ध स्थापना भएको ६०औं वर्षगाँठलाई थप रचनात्मक बनाउन शिविर आयोजना गरिएको बताउँदै राजदूत तान्सकुनले आँखा अस्पतालको विकासमा सहयोग गर्ने बताए ।

डा. रुईतले थाई राजसंस्थाको बुद्धभूमि लुम्बिनीप्रति ठूलो आस्था रहेको बताउँदै अनावश्यक खर्च कटौती गरी आयोजित आँखा शिविर उदाहरणीय रहेको बताए । कार्यक्रममा थाई विहार लुम्बिनीका प्रमुख भिक्षु प्रा. सिपोथिविथत, थाईल्यान्डको रामा अस्पतालका डा. सिमारोज पोर्नचाई, हेटौंडा सामुदायिक आँखा अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठलगायतको उपस्थिति थियो ।

प्रकाशित: ४ चैत्र २०७५ ०२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App