coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रतिष्ठान उपकुलपतिविहीन, रौनियार अदालत जाने

धरान – बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान नेतृत्वविहीन भएको छ। सरकारले उपकुलपति डा. राजकुमार रौनियारलाई बर्खास्त गरेपछि सो पदको जिम्मेवारी कसैलाई दिएको छैन। उपकुलपति पद खाली हुँदा स्वतः दोस्रो वरियताका शिक्षाध्यक्षले जिम्मेवारी पाउने कानुनी व्यवस्था भए पनि शिक्षाध्यक्ष डा. गुरु खनाललाई यससम्बन्धी औपचारिक पत्र दिइएको छैन।

फागुन १७ गते सम्पन्न प्रतिष्ठानको ४२औं सिनेट बैठकले रौनियारलाई उपकुलतिबाट बर्खास्त गर्ने निर्णय गर्दै सदरका लागि प्रधानमन्त्री एवं उपकुलपति केपी ओलीसमक्ष पठाएको थियो। कुपति एवं प्रधानमन्त्री ओलीले २६ गते सिनेटको निर्णय सदर गरेपछि प्रतिष्ठान नेतृत्वविहीन छ। निमित्त उपकुलपतिको जिम्मेवारी कसैलाई दिइएको छैन।

प्रतिष्ठानको सम्पूर्ण आर्थिक अधिकार उपकुलपतिसँग हुने भएकाले निमित्त उपकुलपतिलाई ती अधिकार पनि प्रत्यायोजन गर्ने वा दैनिक प्रशासनिक कार्यसञ्चालनको मात्र जिम्मा दिने भन्ने विषयले निकास नपाउँदा जिम्मेवारी दिन ढिलाइ भएको हुनसक्ने प्रतिष्ठानसम्बद्ध कर्मचारी बताउँछन्। ‘उपकुलपति नहुँदा स्वतः शिक्षाध्यक्ष निमित्त हुने कानुनी प्रावधान छ। तर निमित्तलाई के कति अधिकार दिने भन्ने विषयमा टुंगो नलाग्दा ढिलाइ भएको हुनसक्छ,’ प्रतिष्ठानका कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र गोले तामाङले भने, ‘उपकुलपति जो भए पनि हिजोको जस्तो अवस्था हुनुहुँदैन। प्रतिष्ठानलाई नयाँ ढंगले अघि बढाउनुपर्छ।’
प्रतिष्ठानका शिक्षाध्यक्ष डा. खनालले सिनेटले आपूmलाई जिम्मेवारी दिने निर्णय गरेको तर पत्र नपाएको बताए। स्वस्थ्यमन्त्री उपेन्द्र यादवले पनि उपकुलपतिको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा छलफल चलिरहेको बताए। ‘निर्णय भइसकेको छैन। छलफलमा छौं,’ उनले भने, ‘चाँडै जिम्मेवारी तोक्छौं।’

रौनियार अदालत जाने
प्रतिष्ठानको उपकुलपतिबाट बर्खास्त डा. राजकुमार रौनियारले आपूmमाथि अन्याय भएको भन्दै अदालत जाने बताएका छन्। प्रतिष्ठानको सिनेट बैठक रोक्न माग गर्दै उनले यसअघि सर्वोच्चमा हालेको रिट विचाराधीन छ। आपूmमाथि लगाइएको आरोप पुष्टि हुन नसक्ने उनको दाबी छ। ‘ममाथि अन्याय भयो। प्रमाण नै नभएको कुरामा पूर्वाग्रही भएर मलाई हटाइयो। पदीय दायित्व पूरा नगरेको भनेको के हो ...’ रौनियारले प्रश्न गरे, ‘मलाई हटाएको पत्र पाएँ। अब अदालत जान्छु।’

प्रकाशित: ४ चैत्र २०७५ ०१:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App