७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेस शीर्ष नेताको बैठक निष्कर्षविहिन

काठमाडौं – केन्द्रीय समिति बैठक बस्नुअघि विवादित विषयमा सहमति खोज्न बसेको नेपाली कांग्रेसका शीर्ष नेताको बैठक विना निष्कर्ष टुंगिएको छ। बैठकमा सहमतिबाटै अघि बढ्नुपर्ने साझा धारणा आए पनि सहमतिको अन्तिम बिन्दुमा शीर्ष नेताहरू पुग्न सकेनन्।

पदाधिकारी र पूर्वपदाधिकारीसहित सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकमा सोमबार बस्ने केन्द्रीय समितिभन्दा अघि समस्याको हल खोज्ने सहमति भएको नेता अर्जुनरसिंह केसीले जानकारी दिए। 

सभापति देउवा समूह र असन्तुष्ट समूहबीच अनुशासन समिति र निर्वाचन समिति गठन प्रक्रियामा विवाद छ। संस्थापन समूहले बहुमतले आफू निकटका मान्छे ल्याउन खोजेको आरोप लगाएको छ। असन्तुष्ट समूहले निर्वाचन समिति र अनुशासन समिति न्यायिक समिति भएकाले सबैले मान्ने व्यक्तिलाई ल्याउनुपर्ने तर्क गरेको छ।

आइतबारको बैठकमा पनि असन्तुष्ट समूहका पदाधिकारी र पूर्वपदाधिकारीहरूले आफ्नो अडान छाडेनन्। सभापति देउवाले भने बीचको माध्यम खोज्नुपर्ने बताएको स्रोतले जनाएको छ। ‘सहमति नजिक छौं तर टुंगोमा पुगिएन’, नेता केसीले भने, ‘भोलि केन्द्रीय समिति बैठक बस्नुभन्दा अघि शीर्ष नेता बसेर टुंगो लगाउने तयारी छ।’ 

यी दुई समितिमा पक्ष र विपक्ष गरेर गठन गर्न नहुने निष्कर्षमा दुवै समूह पुगेको उनले बताए। ‘यो विषयमा सभापतिले संयोजनकारी भूमिका खेल्नुपर्छ’, उनले भने, ‘त्यसकै लागि यो बैठक बोलाउनुभएको होला।’ 

पछिल्लो समय संस्थापन र संस्थापनइतर समूहबीच टकराव बढ्दा कांग्रेसको केन्द्रीय समिति बैठक नै अन्योलमा छ। यी दुई समूहबीच कुरा नमिल्दा गत माघ अन्तिम सातादेखि खाली बनेको नेविसंघको तदर्थ समिति पनि अन्योलमा परेको छ। यस्तै, महासमिति बैठकबाट पारित भएको विधान कार्यान्वयन पनि हुनसकेको छैन। कांग्रेसले तत्काल संघीय तहअनुसार पार्टी संगठन निर्माण गर्दै विधान कार्यान्वयन गर्नुपर्ने अवस्था छ।

प्रकाशित: ३ चैत्र २०७५ १३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App