coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हरायो पानीको दुःख, ‘धन्यवाद अध्यक्ष ज्यू’

बुढीगंगा नदीबाट ल्याएको पानी वितरण गर्दै सानपा ७ रिडिकोटको पानी ट्यांकर ।    तस्बिरः खम्म/नागरिक

अछाम – अछाम साफेबगर नगरपालिका ७ की चम्फा थापालाई डोकामा पानी बोकेर पिउनुपर्ने बाध्यता हट्ला भन्ने लागेकै थिइन्। उनलाई बर्खामा भन्दा पनि हिँउदका महिना सुरु भएपछि अझ बढि चिन्ता हुन्थ्यो। वर्खायाममा नजिकै पानी पाइए पनि हिउँदमा भने मुस्किल थियो। तर, अहिले उनी आफैं पानीको लागि सहजता महसूस गर्न थालेकी छिन्।

साफेबगर नगरपालिका ७ रिडिकोटले स्थानीयको सहजताका लागि पानी ओसार्न ट्यांकर खरिद गरेर टोल टोलमा पानी वितरण गर्न थालेपछि उनी जस्तै सबैलाई सहज भएको छ। ‘तीन बजे राती उठेर नाउला धाउनुपथ्र्यो, तै पनि कुनै दिन त पानी सकिएको हुन्थ्यो’ उनले भनिन्, ‘आजकाल वडा कायालयले गर्दा  हाम्रो घरमै पानीको सहजता छ।’

रिडिकोटकै ज्ञानु साह विगतको हिँउदयामको दुख सम्झदै भने, ‘झिसमिसेमै उठेर पानी लिन कुवातिर लाग्नुपथ्र्यो। मध्यरातमै हिँडेर कुवामा पुगे पनि पानी सकिसकेको हुन्थ्यो। गाउँ नजिकैको पानीको मुहान सुकेपछि एक किलोमिटर ओरालो झरेर बुढिगंगाबाट पानी ल्याउनुको विकल्प थिएन्।’ उनीहरूले पानीको समस्या हटाइदिएकोमा वडाध्यक्षलाई धन्यवाद दिएका छन्।

रिडिकोटबासीले भने, ‘हामी गाउँवासी वडा अध्यक्षलाई धन्यवाद दिन्छौ। उहाँले हाम्रो पीडा बुझ्नुभयो, हामीले दिएको मत काम लागेको अनुभव भएको छ।’ आर्थिक वर्ष २०७४–७५ को बजेटबाट रकम विनियोजन गरेर पानीको समस्या समाधान गरिएको वडाध्यक्ष मिठ्ठु भाटले जानकारी दिए। ‘हाम्रो गाउँका दाजुभाईलाई पानीको निकै सास्ती थियो। गएको असारमा ट्यांकर खरिद गरियो’, उनले भने,‘चार हजार लिटर क्षमताको उक्त ट्यांकरले दिनमा तीन पटक बुढिगंगाबाट पानी आसार्ने काम गर्छ।’

२५ सय जनसंख्या रहेको रिढिकोटमा दैनिक १२ देखि १६ हजार लिटर पानी वितरण हुने गरेको वडाध्यक्ष भाटले जानकारी दिए। ककडसातमा २५०, डोडरमा १ सय र नवागाउँमा ५० घरधुरी रहेका छन्। ‘जनतालाई दीर्घकालिन सहजताका लागि छिपेखोलामा बोरिङ्ग निमार्ण कार्य जारी छ’, उनले भने, ‘वोरिङ्गको काम सकिएपछी बिजुलीको सहायताले पानी स्टोर ट्यांकीमा आउँछ त्यसपछी झन सजिलो हुन्छ।’

प्रत्येक टोलमा पानी संकलनका लागि ५ सय लिटर क्षमताका ट्ंयाकी राखिएको छ। ट्यांकरले ओसारेको पानी स्टोरेज गरेर निश्चित समयमा वितरण गर्ने गरेको रिडिकोट पानी वितरण समितिका अध्यक्ष खम्मसिह भाटले बताए। 

प्रकाशित: ३ चैत्र २०७५ ०८:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App