७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेकपाले टुङ्ग्यायो ९ स्थानीय तहको नेतृत्व

ताप्लेजुङ– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थानीय तह एकीकरण कार्यदलको बैठकले ताप्लेजुङका ९ स्थानीय तहका पार्टी कमिटीका ४ मुख्य पदमा सहमति जुटाएको छ। सहमति जुटाउन ताप्लेजुङबाट इटहरी ओर्लिएको एकीकरण कार्यदलले इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवमा रहने व्यक्ति माथिल्लो कमिटीमा सिफारिस गरेको हो। तर कार्यदलले औपचारिक रुपमा निर्णय सार्वजनिक गरेको छैन्। 

यहाँ पूर्व एमालेले नगरपालिका सहित ५ वटा स्थानीय तहको पार्टी कमिटीको अध्यक्ष र ६ वटा पार्टी कमिटीको इञ्चार्ज पद पाएको छ। पूर्व माओवादी केन्द्रले ४ वटा गाउँपालिकाको अध्यक्ष र नगरपालिका सहित ३ वटा स्थानीय तहमा इञ्चार्जको जिम्मेवारी पाएको छ। नागरिकलाई प्राप्त सूचना अनुसार फुङ्लिङ नगरपालिकाको इञ्चार्जमा सागर गौतम (पूर्व माओवादी), सह इञ्चार्जमा भरतकुमार गुरुङ (पूर्व एमाले), अध्यक्षमा हेमन्तकुमार उप्रेती (पूर्व एमाले) र सचिवमा सुरेन्द्र पालुङ्वा (पूर्व माओवादी केन्द्र) चयन भएका छन्। मैवाखोला गाउँपालिकाको इञ्चार्जमा ध्रुवकुमार वनेम (पूर्व माओवादी) र सह इञ्चार्जमा खेमबहादुर वनेम (पूर्व एमाले)लाई सिफारिस गरिएको छ। 

सो गाउँपालिकाको अध्यक्षमा अनिलदेव लङ्वा (पूर्व एमाले) र सचिवमा आलोक शेर्पा (पूर्व माओवादी केन्द्र) रहेका छन्। मेरिङ्देन गाउँपालिकाको इञ्चार्जमा पूर्व एमालेका मंगलसिह केदेम र सह इञ्चार्जमा पूर्व माओवादीका बिशालु शेर्पा छन् भने अध्यक्षमा पूर्व एमालेका नेत्र नेपाली र सचिवमा पूर्व माओवादी केन्द्रका देउप्रसाद लिम्बू रहेका छन्। 

एकीकरण कार्यदलको सिफारिस अनुसार मिक्वाखोला गाउँपालिकामा पूर्व माओवादी केन्द्रका चन्द्रकला गुरुङ इञ्चार्ज तथा पूर्व एमालेका ताराहाङ लिम्बू सह इञ्चार्ज हुँदा अध्यक्षमा पूर्व एमालेका दिवस लिवाङ र सचिवमा पूर्व माओवादीका खड्ग साँवाको नाम रहेको स्रोतको दावी छ। 

यस्तै सिदिङ्वा गाउँपालिकाको इञ्चार्जमा पूर्व एमालेका नन्दलाल गौतम तथा सह इञ्चार्जमा पूर्व माओवादी केन्द्रका बन्दना कडरियाको सिफारिस हुँदा अध्यक्षमा पूर्व माओवादी केन्द्रका प्रेम सेलिङ तथा सचिवमा पूर्व एमालेका मानबहादुर राई परेका छन्।

सिरीजङ्घा गाउँपालिकाको इञ्चार्जमा पूर्व एमालेका अनन्तबहादुर साँवा तथा सह इञ्चार्जमा पूर्व माओवादी केन्द्रका मदन दाहालको नाम सिफारिस हँुदा अध्यक्षमा पूर्व माओवादी केन्द्रका तेजशमशेर भट्टराई अध्यक्ष तथा पूर्व एमालेका सन्तोष चाम्लिङ सचिव रहने गरी सहमति जुटेको छ। 

आठराई त्रिबेणी गाउँपालिकाको इञ्चार्जमा पूर्व एमालेका कृष्ण सुबेदी तथा सह इञ्चार्जमा पूर्व माओवादी केन्द्रका सूर्य आङ्वोहाङ तथा अध्यक्षमा पूर्व माओवादीका मणि सेम्बु र सचिवमा पूर्व एमालेका दीपेन पोमूको नाम रहेको स्रोतले जानकारी दिएको छ। यस्तै, पाथीभरा याङ्वरक गाउँपालिकाको इञ्चार्जमा पूर्व एमालेका केशरकुमार मेन्याङ्वो र सहइन्चार्जमा पूर्व माओवादी केन्द्रका ठाकुरसिंह लिम्बू तथा अध्यक्ष र सचिवमा क्रमश पूर्व एमालेका पुण्यप्रसाद खतिवडा र पूर्व माओवादी केन्द्रका भीम काङ्वा सिफारिस भएका छन्। इञ्चार्ज रहेका मेन्याङ्वो यो गाउँपालिकाका निर्वाचित अध्यक्ष समेत हुन्। 

यस्तै फक्ताङ्लुङ गाउँपालिकाको इञ्चार्जमा पूर्व एमालेका सरोज एभेङ तथा सहइञ्चार्जमा पूर्व माओवादीका मानबहादुर केसी तथा अध्यक्षमा पूर्व माओवादी केन्द्रका दिलकुमार लिम्बू र सचिवमा पूर्व एमालेका मिलन साउदेनको नाम सिफारिस भएको छ। एभेङ पनि सो गाउँपालिकाका अध्यक्ष हुन्। 

प्रकाशित: ३ चैत्र २०७५ ०७:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App