७ वैशाख २०८१ शुक्रबार
अर्थ

कर्णाली प्रदेशलाई भारतसँग जोड्ने छोटो दुरीमा पुल

टीकापुर - साबिक सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाका बासिन्दाले दशकौंअघि पैदल यात्रा गरेको परम्परागत बाटो अब सडक सञ्जालमा जोडिने भएको छ। कैलाली र सुर्खेत जिल्लाको कुइनेमा निर्माणाधीन कर्णाली नदीको पुलले यो बाटोलाई सडक सञ्जालसँग जोड्ने भएको हो।

यो पुल निर्माणसँगै साबिक सुदूर र मध्यपश्चिमका सुर्खेत, कालीकोट, दैलेख, जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा, अछामलगायत जिल्लाका बासिन्दाले छोटो दुरीको यात्रा गर्न पाउने छन्। उनीहरु हाल तराई झर्दा सुर्खेत–कोहलपुर–चिसापानी वा डोटी–डडेल्धुरा–अत्तरियाको घुमाउरो बाटो प्रयोग गर्न बाध्य छन््।
यो पुल निर्माणपछि सुर्खेतको बड्डीचौर हुँदै–कोहलपुर–चिसापानीसम्मको करिब दुई सय किलोमिटर सडक यात्रा ५२ किलोमिटरमा खुम्चिनेछ, जुन पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको चिसापानीबाट कुइने हुँदै सुर्खेतको बड्डीचौरसम्म हो।

कुइनेमा अनत÷लुम्बिनी जेभीले पुल निर्माण गरिरहेको छ। यो पुल निर्माणका लागि २०७२ मा ठेक्का सम्झौता भएको थियो। सडक विभागले दुई वर्षसम्म डिजाइन स्वीकृत नगरेका कारण पुल निर्माणको काम ढिलो गरी सुरु भएको साइड इन्चार्ज दिनेशकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार २०७४ फागुनमा डिजाइन स्वीकृत भएपछि पुल निर्माणको काम सुरु भएको हो। ‘अप्ठेरो भौगोलिक अवस्थाका कारण विभागले डिजाइन स्वीकृत गर्न ढिला गरेको हुन सक्छ,’ उनले भने, ‘नदीले बर्सेनि धार परिवर्तन गरिरहन्छ।’

आगामी बर्खाअघि पुलको मध्यभागमा रहने दुईवटा पिल्लर तयार भइसक्ने निर्माण कम्पनीले जानकारी दिएको छ। यसका साथै थप दुईवटा पिल्लर पुलको दुवैतर्फ रहनेछन्। पुल निर्माण सुरु भएसँगै यस क्षेत्रका बासिन्दा निकै खुसी देखिएका छन्। उनीहरुले वर्षौंदेखिको माग सम्बोधन हुन लागेको भन्दै खुसी व्यक्त गरेका हुन्। सुर्खेतको पञ्चपुरी नगरपालिका–११ का शिक्षक मिलन शाहीले ढिलै भए पनि राम्रो कामको सुरुवात भएको बताए। उनले यो पुलले कर्णाली प्रदेशलाई छिमेकी मुलुक भारतसँगको छोटो नाकाका रुपमा जोड्ने बताए। ‘पुल बनेपछि सत्ती भन्सार कार्यालय भौगोलिक रुपमा निकै नजिक हुनेछ,’ उनले भने, ‘यो कर्णाली प्रदेश र यहाँका जनताका लागि राम्रो कुरा हो।’

कैलालीको मोहन्याल गाउँपालिका कुइनेका कलौरा माझी पुल निर्माणसँगै सडक स्तरोन्नति हुने आशमा छन्। उनी पुल र सडक निर्माणले आफूहरुको जीवनस्तरमा सुधार हुने बताउँछन्। ‘हामी घरआँगनमा बाटो बनेपछि थोरै भए पनि सुखका दिन आउलान भन्ने पर्खाइमा छौं,’ उनले भने, ‘पुल निर्माणको काम चाँडो सम्पन्न होस्।’

कैलालीतर्फ चिसापानीदेखि कुइनेसम्मको ११ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ। साँघुरो सडकलाई फराकिलो बनाउने काम भइरहेको छ। उता सुर्खेततर्फ कुइनेदेखि बड्डीचौरसम्मको १९ किलोमिटर सडकमा साना सवारी साधनसमेत सहजै चल्ने गरेका छन्। भेरी नदीमा पुल निर्माण सम्पन्न भएपछि अटोरिक्सासमेत बड्डीचौर हुँदै कुइनेसम्म पुग्न थालेका छन्। भेरी नदीमा निर्माण भएको पुल असोज महिनादेखि सञ्चालनमा आएको हो।

‘कुइनेदेखि बड्डीचौरसम्मको सडक खासै अप्ठेरो छैन,’ यातायात व्यवसायी अशोक रावलले भने, ‘अटोरिक्सासमेत सहजै चल्ने गरेका छन्।’ यो पुल निर्माणले सुर्खेतको पश्चिमी क्षेत्रका बासिन्दालाई कैलालीसम्म पुग्न निकै छोटो हुनेछ। उनीहरु कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर पुग्नुभन्दा छिटो कैलालीको चिसापानी पुग्नेछन्। आफ्ना उत्पादन लगायतले बजार पाउने भएपछि स्थानीयमा उत्साह थपिएको पञ्चपुरी नगरपालिकाका बासिन्दा गंगाप्रसाद सन्ज्यालले बताए। ‘बारीमा फलेको साग सहजै बेच्न सकिने भयो,’ उनले भने, ‘हामीसँग बजार पु-याउनुपर्ने धेरै उत्पादन छन्। जुन अहिले बारीमै सड्ने गरेको छ।’
चिसापानी–कुइने हुँदै बड्डीचौरसम्मको सडक र कुइनेस्थित कर्णाली नदीमा पुल निर्माणका लागि जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापा विगतदेखि नै सक्रिय छन्। उनले यो सडक र पुल साबिक सुदूर र मध्यपश्चिमका बासिन्दाको भविष्यसँग जोडिएको बताए। राज्यले उपेक्षा गरेका कारण छोटो दुरीको बाटो निर्माण हुन वर्षौं लागेको उनको बुझाइ छ। ‘घुमाउरो बाटो कालोपत्रे भएका छन् तर यो छोटो बाटोबारे कसैले ध्यान दिन सकेका छैनन्,’ उनले भने, ‘यो बाटो हाम्रो भविष्यसँग जोडिएको छ। चाँडो निर्माण हुनुपर्छ।’

साबिक सुदूर तथा मध्यपश्चिमका अधिकांश बासिन्दा रोजगारीका लागि भारत जाने गर्छन्। उनीहरु भारतका विभिन्न सहर जान बाँके, कैलाली र कञ्चनपुर जिल्लाका सीमा नाका प्रयोग गर्छन्। जुन सीमा नाकासम्म पुग्न उनीहरुले धेरै समय खर्चिनु पर्छ। यो पुल बनेसँगै उनीहरु केही घन्टाको यात्रामा सीमा नाकामा पुग्न सक्ने देखिन्छ।

रोजगारीका लागि भारत जाने मात्रै होइन, ती क्षेत्रमा खाद्यान्न, औषधि, लत्ताकपडा लगायत सामग्री तराईबाटै ढुवानी हुन्छ। अहिले बाँकेको कोहलपुर र कैलालीको अत्तरियाबाट पहाडी जिल्लातर्फ सामग्री ढुवानी भइरहेको छ। पुल निर्माणपछि यो सडक पहाडी जिल्लामा सामग्री ढुवानीको छोटो विकल्प बन्न सक्ने देखिन्छ।

प्रकाशित: ३ चैत्र २०७५ ०६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App