काठमाडौं – १७औं राष्ट्रिय एमटिबी क्रस कन्ट्री च्याम्पियनसिपमा राजीव राई र लक्ष्मी मगर च्याम्पियन भएका छन्। नेपाल साइक्लिङ संघको आयोजनामा गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद तथा शान्ति पार्कमा शनिबार भएको क्रस कन्ट्रीमा पुरुषतर्फ राजीव र महिलामा लक्ष्मी च्याम्पियन भएका हुन्।
कुल २० किलोमिटरको ५ ल्यापमा राजीव एक घण्टा ३१ मिनेट ३२ सेकेन्डमा दूरी पूरा गर्दै पुरुषतर्फ च्याम्पियन भएको प्राविधिक संयोजक देवेन्द्र बस्न्यातले जानकारी दिए। महिलातर्फ च्याम्पियन लक्ष्मी सोही दूरी पूरा गर्न १ घण्टा ४५ मिनेट ४९ सेकेन्ड समय लगाइन्। कुल २६ खेलाडी सहभागी पुरुषतर्फ प्रताप थापा १ घण्टा ३१ मिनेट ३९ सेकेन्डका साथ दोस्रो हुँदा तेस्रो स्थानका सीमित ओकेश वज्राचार्यले १ घण्टा ३४ समय ०३ सेकेन्ड समय लगाए। महिलातर्फ भने सोनी गुरुङ र हुमी बुढामगरले क्रमशः दोस्रो र तेस्रो भए। सोनीले १ घण्टा ५१ मिनेट ५७ सेकेन्ड र हुमी २ घण्टा ११ मिनेट २२ सेकेन्ड समय लगाइन्।
दोस्रो दिन भएको थप दुई विधा जुनियर पुरुषमा दीपक जिमी र मास्टर्समा हर्क लामा च्याम्पियन हुन सफल भए। चार ल्यापको १६ किलोमिटर दूरी दीपकले १ घण्टा १९ मिनेट १९ सेकेन्डमा पूरा गर्दै सफलता प्राप्त गरे। सोही दूरीको मास्टर्समा भने पहिलो भएका हर्कले १ घण्टा ७ मिनेट ३५ सेकेन्ड समय लगाए।
त्यस्तै जुनियर पुरुषमा दोस्रो भएका सन्तोष गुरुङ १ घण्टा २२ मिनेट २० सेकेन्ड र तेस्रो स्थानमा सीमित अच्युतकृष्ण खरेल १ घण्टा २५ मिनेट ४० सेकेन्डको समयमा चार ल्यापको १६ किलोमिटर दूरी पूरा गरे। सोही दूरीकै मास्टर्समा किरणले मल्ल १ घण्टा ९ मिनेट १ सेकेन्डमा दोस्रो स्थानमा प्राप्त गर्न सफल भएका थिए।
तेस्रो स्थानमा प्राप्त गरेका आइतसिंह तामाङले १ घण्टा १४ मिनेट १५ सेकेन्ड उक्त दूरी पूरा गरेका थिए। दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा डाउनहिल र क्रस कन्ट्री विधा समाविष्ट थिए। यसअघि पहिलो दिनको डाउनहिलमा पुरुषमा सुमन तामाङ, महिलामा निस्मा श्रेष्ठ र जुनियरमा निरज श्रेष्ठ पहिलो भएका थिए।
प्रतियोगिताका विजेतालाई पूर्वमन्त्री अम्बिका बस्नेत र संघका अध्यक्ष गोपालसुन्दर लाल कक्षपतिले पुरस्कृत गरेका थिए। प्रतियोगितामा कुल ५१ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरेको नेपाल साइक्लिङ संघका महासचिव रञ्जन राजभण्डारीले जानकारी दिए।
प्रकाशित: ३ चैत्र २०७५ ०४:३४ आइतबार