८ वैशाख २०८१ शनिबार
खेल

पुलिसलाई स्तब्ध पार्दै दाउफिन्स उपाधिनजिक

टुबोर्ग माइभ्याली गोल्डकपमा शनिबार भिड्दै  दाउफिन्स (सेतो जर्सी) र नेपाल पुलिसका खेलाडी।     तस्बिर : भीम/नागरिक

इलाम – पाहुना टोली क्यामरुनको दाउफिन्स क्लबले पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको फाइनलमा स्थान पक्का गरेको छ। शनिबारको पहिलो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै दाउफिन्सले फाइनल यात्रा तय गरेको हो। 

अधिकांश इलामे दर्शकको समर्थन पाएको दाउफिन्सका लागि टिना टिनाले पहिलो गोल गरे। आन्द्रे एक्वेमले विपक्षी पुलिसको डी–बक्सनजिकैबाट हानेको फ्रि–किक सदुपयोग गर्दै टिनाले बललाई जाली चुमाए। पहिलो हाफमा १–० गोलले अघि रहेको दाउफिन्सका आहान्द एसानले अर्काे गोल थपे। टिनाटिनाकै पासलाई सदुपयोग गर्दै एसानले गरेको गोलले दाउफिन्सलाई विजय यात्रानजिक पुर्यायो। आफ्नो टोलीका लागि १ गोल गरेका र अर्काे गोलको अवसर बनाएका दाउफिन्स क्लबका टिना टिना शनिबारको खेलको म्यान अफ दी म्याच घोसित भए। 

पुलिसमा अनुभवी खेलाडीको कमीले पाएका अवसरसमेत गुमे। विपक्षीको गोल पोस्टनजिकै पाएका अवसरसमेत पुलिसका खेलाडीले सदुपयोग गर्न सकेनन्। पुलिसका मनोज राईले विपक्षीको डी बक्सभित्र पाएको सुन्दर मौका चुकाए। उनको प्रहार नजिकैबाट फ्रेममा परेन। पुलिसकै सन्तोष हेमरनले बनाइदिएको सुन्दर अवसर निरकुमार राईले सदुपयोग गर्न सकेनन्। दाउफिन्सका खेलाडीले पनि पाएका मौकालाई अवसरमा बदल्न सकेनन्। टिना टिनाको पासलाई आहान्द एसानले गोलमा परिणत गर्न सकेनन्। 

पुलिसका प्रशिक्षक अनन्तराज थापाले टोलीमा ८ अनुभवी खेलाडी नभएकाले परिणाम आफ्नो हात नपरेको बताए। ‘खेल्न त राम्रै खेल भएको हो तर स्कोर गर्ने अनुभवी खेलाडी अहिले टोलीमा नभएकाले पराजित भयौं,’ उनले भने, ‘निर्णायकले अनावश्यक स्थानमा हामीविरुद्ध फाउल दिएकाले हामीले एउटा गोल खानुपर्याे।’ दाउफिन्सका टिम म्यानेजर आशिक थापामगरले टोलीले अघिल्ला खेलभन्दा राम्रो प्रदर्शन गरेको बताए। ‘पहिलो हाफमै गोलको अग्रता कायम रहेकाले पनि खेलाडी उत्साही बने,’ उनले भने, ‘दर्शकको सपोर्ट पनि हाम्रा लागि सहयोगी बन्यो।’  आइतबार झापाको काँकरभिट्टा फुटबल टे«निङ सेन्टर र हिमालयन शेर्पा क्लबबीच दोस्रो सेमिफाइनल हुनेछ। फाइनल खेल आउँदो ५ गते हुने आयोजकको खेलतालिका छ। 

प्रकाशित: ३ चैत्र २०७५ ०४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App