८ वैशाख २०८१ शनिबार
राजनीति

कैलालीका दुई ठाउँमा सीमा समस्या

टीकापुर - कैलालीका टीकापुर नगरपालिका र धनगढी उपमहानगरपालिकाका दुई ठाउँमा सीमा विवाद देखिएको छ। विवाद देखिएपछि नेपाल–भारत द्विदेशीय सीमा सर्भे टोलीले टीकापुर–८ खक्रौला र धनगढी–१४ फूलबारीस्थित चारवटा सीमास्तम्भ पुनर्निर्माणको काम स्थगन गरेको छ। टोलीका अनुसार खक्रौलास्थित ७०४/५ नम्बरको सीमास्तम्भ सार्नुपर्ने र फूलबारीस्थित ७४२, ७४२/१, ७४२/२ र ७४२/३ नम्बरका सीमास्तम्भ पुनर्निर्माण गर्नुपर्ने देखिन्छ। फूलबारीका सबै सीमास्तम्भ हराइरहेको अवस्था छ।

ती सबै सीमास्तम्भ सार्दा र पुनर्निर्माण गर्दा नेपाली भूमि भारततर्फ गाभिन लागेको भन्दै स्थानीयले विरोध जनाएपछि टोलीले काम स्थगन गरेको हो। स्थानीयको विरोधपछि टोली ती सीमास्तम्भको काम स्थगन गरेर अघि बढेको नेपालतर्फका प्रमुख सर्भे अधिकृत जनकराज भट्टले जानकारी दिए। ‘विवाद भएका ठाउँको काम रोकेर अन्य सीमास्तम्भको काम भइरहेको छ,’ उनले भने, ‘स्थानीय जनप्रतिनिधिहरूको रोहवरमा विवाद भएका ठाउँको समस्या समाधान गर्नेछौं।’

सीमा मिलाउने नाममा सीमास्तम्भ सार्न खोज्नु नेपाली भूमि अतिक्रमण गर्ने षड्यन्त्र हो।

फूलबारीस्थित सीमास्तम्भ पुनर्निर्माण गर्दा स्थानीय गौरीशंकर सामुदायिक वनको ठूलो भूभाग भारतमा गाभिने सम्भावना रहेको छ। स्थानीयले वर्षौदेखि भोगचलन गर्दै आएको वन भारतमा गाभिन लागेको भन्दै विरोध जनाएका छन्। त्यसैगरी खक्रौलामा रहेको सीमास्तम्भ सार्दा नेपाली पक्षको धेरै भूभाग भारतमा गाभिने स्थानीयले बताए। उनीहरूले सो सीमास्तम्भ सार्दा दुई परिवारको घरबास र करिब ५० बिघा नेपाली भूमि भारततर्फ गाभिने बताए।

स्थानीय लक्ष्मी कोइरालाले आफ्नो र छिमेकी तुलाराम कोइरालाको घरबास भारततर्फ गाभिने सम्भावना रहेको बताए। उनले आफ्नो करिब डेढ बिघा जमिनसमेत मासिने जानकारी दिए।

२०२२ सालदेखि बसोबास सुरु भएको सो क्षेत्रमा हाल सार्न लागेको भनिएको सीमास्तम्भ २०२८ सालदेखि आफूले यथास्थानमा देख्दै आएको बताए। हो। ‘म १८ वर्षको थिए। त्यतिबेलादेखि नै यो पिल्लर यही ठाउँमा देखेको हुँ,’ कोइरालाले भने, ‘अहिले सीमा मिलाउने नाममा सार्न खोज्नु नेपाली भूमि अतिक्रमण गर्ने षड्यन्त्र हो।’ टीकापुर नगरपालिकाका प्रवक्ता दीर्घ ठकुल्लाले समेत वर्षौदेखि यथास्थानमा रहेको सीमास्तम्भ सार्न खोज्नु षड्यन्त्र हो कि भन्ने महसुस भइरहेको बताए। उनले हाल यथास्थानमा रहेको सीमास्तम्भका आधारमा अरू हराएका सीमास्तम्भ खोज्नुपर्नेमा हराएकाका आधारमा यथास्थानकालाई सार्न खोज्नु न्यायोचित नभएको पनि बताए।

‘यो पिलर त वर्षौदेखि यहीँ छ,’ उनले भने, ‘बरु यसका आधारमा अरू हराएका पिलर खोजिनुपर्छ।’ स्थानीयले सो सीमास्तम्भ सार्दा नेपाली भूमि भारतमा गाभिने मात्रै नभई मोहना नदीमा निर्माण भएको खक्रौला पुलसमेत भारततर्फ पर्न सक्ने आशंका गरेका छन्। उनीहरूले भारतले आफ्नो भूमि खक्रौला पुलसम्म पु¥याउन खोजेको हो कि भन्ने चिसो पसेको बताए।

‘पिल्लरको थोरै कुना दायाँबायाँ ढल्काएर पुल आफ्नोतर्फ पार्न पनि सक्छन्,’ एक स्थानीयले आरोप लगाए, ‘नेपाली पक्षले प्राविधिक कुरामा खासै ध्यान दिएको छैन।’ पुलको दक्षिण भागनजिकै रहेको एउटा सीमास्तम्भ यथास्थानमा छ भने अर्को मोहना नदीले बगाएको छ। २०६४ सालमा आएको बाढीले सो सीमास्तम्भ बगाएको स्थानीय बताउँछन्।

टीकापुर नगरपालिका क्षेत्रभित्र मात्रै दुई देशका पाँच मुख्य र १३ मझौला गरी १८ वटा सीमास्तम्भ हराएका छन्। दुई देशको टोलीले बुझाएको प्रतिवेदनमा ७०२÷४ र ७०२÷७ नम्बरको मझौला सीमास्तम्भ मोहना नदीले बगाएको र अन्य सीमास्तम्भ फेला नपरेको उल्लेख छ। कैलाली र कञ्चनपुर जिल्लाका दसगजाबाट थुप्रै सीमास्तम्भ हराएका छन भने कतिपय जीर्ण अवस्थामा छन्। नेपाल र भारततर्फको संयुक्त उच्चस्तरीय टोलीले हराएका सीमास्तम्भ पुनर्निर्माण गर्ने र जीर्ण अवस्थामा रहेकालाई मर्मत गर्ने निर्णय गरेको थियो।

सोही निर्णयलाई कार्यान्वयन गर्न नापी विभागका उपमहानिर्देशक र सर्भे अफ इन्डियाका महानिर्देशकको नेतृत्वमा सर्भे अफिसियल कमिटी गठन भएको छ। सोही कमिटीले सीमास्तम्भ पुनर्निर्माण र मर्मतका लागि दुई देशको संयुक्त टोली खटाएको छ। नेपालतर्फका प्रमुख सर्भे अधिकृत भट्टले कुन सीमास्तम्भलाई पुनर्निर्माण गर्ने र कुनलाई मर्मत गर्ने भन्ने कुरा दुई देशका उच्च अधिकारी सम्मिलित कमिटीले दिएको निर्देशनअनुसार नै टोलीले काम गरिरहेको दाबी गरे। उनका अनुसार ३ डिग्रीभन्दा बढी ढल्केको सीमास्तम्भ पुनर्निर्माण गर्नुपर्ने निर्देशन छ।

कैलालीका दुई सय ८२ सीमास्तम्भमध्ये कतिपय हराएको अवस्थामा छन्। त्यसमध्ये १२ वटा पुनर्निर्माण गरिएको प्रमुख सर्भे अधिकृत भट्टले जानकारी दिए। उनले सोही हाराहारीमा भारतीय पक्षले पुनर्निर्माण गरेको पनि बताए। पुनर्निर्माण गर्नुपर्ने सीमास्तम्भमध्ये जोर नम्बर नेपाल र बिजोर नम्बर भारतीय पक्षले निर्माण गर्ने प्रावधान छ। कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले समेत छलफल गरेर सीमा–विवाद समस्याको समाधान गरिने बताए। उनले टोलीले रेखांकनको काम सकेपछि विवाद देखिएका सीमास्तम्भबारे छलफल थालिने जानकारी दिए।

सार्न खोजिएको सीमास्तम्भ। तस्बिर : योगेश/नागरिक

प्रकाशित: ३ चैत्र २०७५ ०२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App