७ वैशाख २०८१ शुक्रबार
समाज

मुआब्जाका कारण रूपातालको बाँध निर्माण प्रक्रिया प्रभावित

पोखरा- कास्कीको प्रसिद्ध रूपातालको बाँध निर्माण प्रक्रिया प्रभावित भएको छ। बाँध निर्माणस्थलमा व्यक्तिगत जग्गा परेकाले रूपाताल एकीकृत विकास परियोजनाले त्यसको मुआब्जा दिने तयारी गरे पनि केही जग्गाधनी सम्पर्कमा आएका छैनन्। जग्गाधनी सम्पर्कमा नआउँदा मुआब्जा वितरणमा समस्या भएपछि बाँध निर्माण प्रक्रिया प्रभावित भएको छ। 

दुई सय ४० रोपनी जग्गाको पहिलो चरणमा मुआब्जा वितरण गरिँदै छ। एक सय १५ रोपनीभन्दा बढी जग्गाको मुआब्जाबापत झन्डै आठ करोड रुपैयाँ वितरण भइसकेको छ। आधा जग्गाको भने मुआब्जा दिन बाँकी छ।

एकै व्यक्तिको २६ रोपनीसम्म जग्गा अधिग्रहण गर्नुपर्ने अवस्था छ। तर, जग्गाधनी विदेशमा भएकाले सम्पर्क हुन सकेको छैन। कतिपयको भने जग्गा नामसारी भएको छैन। मृत्युपछि नामसारी गर्नुपर्ने अवस्थाले पनि मुआब्जा वितरणममा ढिलाइ भएको रूपाताल एकीकृत विकास परियोजनाका प्रमुख रामप्रसाद अर्यालले बताए।

‘सम्पर्कमा आएका सबै व्यक्तिले मुआब्जा बुझेर गइसके। अब सम्पर्कमा नआएका र केही कागजी प्रक्रिया नमिलेकाहरूको मात्र बाँकी छ,’ उनले भने, ‘यो पहिलो चरणको मुआब्जा वितरण गरेपछि दोस्रो चरणमा बाँध बाँध्न र बाँध बाँधेपछि हुने डुबान क्षेत्रका लागि सूचना निकाल्नेछौं।’

अर्यालका अनुसार निवदेन दिएकाहरूले मुआब्जा बुझिसकेका छन्। पहिलो चरणमा मुआब्जा वितरणका लागि २५ करोड रूपैयाँ निकासा गरिएको थियो। पहिलो चरणका जग्गाका लागि परियोजनाले स्थानीय मुआब्जा निर्धारण समितिले निर्धारण गरेको मूल्यलाई आधार बनाई उपलब्ध गराएको थियो।

समितिले पैदलमार्गका लागि प्रतिरोपनी ८ लाख ६२ हजार निर्धारण गरेको थियो। बाँध बाँधिने क्षेत्रमा भने मुआब्जा निर्धारण समितिले प्रतिरोपनी १२ लाख ९२ हजारसम्मको मूल्य तोकिएको छ।

दोस्रो चरणमा ११ सय रोपनीको मुआब्जा वितरण गर्नुपर्ने प्रारम्भिक अध्ययन छ। ६ सय मिटर लम्बाइको बाँध लगाउने ८० देखि १ सय रोपनी क्षेत्रफल पर्ने परियोजनाले जनाएको छ। ‘१४ सय ७२ रोपनी क्षेत्रफल अधिग्रहण गर्नुपर्ने हुन्छ। त्यसका लागि पहिलो चरणमा दुई सय ४० र दोस्रो चरणमा ११ सय रोपनी अधिग्रहण हुन्छ,’ परियोजना प्रमुख अर्यालले भने, ‘मुआब्जाका लागि मात्र डेढ अर्ब खर्च हुने अनुमान छ।’

अर्यालका अनुसार बाँध बनाउन ५० करोड रूपैयाँ खर्च हुने अनुमान छ। बाँधको बेस ५० मिटर चौडाइको रहनेछ। बाँध १० मिटर उचाइ र १० मिटर चौडाइको बनाइनेछ। उनका अनुसार मुआब्जाबापत झन्डै एक अर्ब ३५ करोड वितरण गरिनेछ। जग्गाको भाउ बर्सेनि बढ्दै गएको छ। त्यसले गर्दा मुआब्जा रकम बढ्न सक्ने अुनमान गरिएको छ।

बाँधका लागि परियोजनाले चारवटा खोला तर्काउन ग्याभिन गरेको छ। चिसाखोला, दोभानखोला, कमलटारी र जवानकुना खोलामा झन्डै ३ हजार मिटर लामो ग्याभिन लगाइएको परियोजनाका सदस्य लेखनाथ ढकालले बताए। तालमै मिसिने दोभान खोलाको डिलमा भने परियोजनाले इम्बैंकमेन्ट बनाइएको छ। १५ मिटरको बेस र पाँच मिटर अग्लो र चार मिटर चौडाइको झन्डै पाँच सय मिटर लामो इम्बैंकमेन्ट बनाइएको छ। जसले खोलामा आउने बाढी फाँटमा पस्न पाउँदैन।

परियोजनाले तालको आयु बढाउन सिल्ट्रेसन पोखरीसमेत बनाएको छ। एउटा ठूलो पोखरी बनिसकेको छ, अन्य तीन ठाउँमा पोखरी बनाउने परियोजना प्रमुख अर्यालले बताए। ‘एक सय २५ मिटर लम्बाइ र ६० मिटरको चौडाइका चारवटा पोखरी बनाउने योजना छ। एउटा पूरा भएको छ। बाँकी तीनवटा बनाउनुपर्ने छ,’ उनले भने।

सिल्टे«सन पोखरीको लागि टेन्डर निकाल्नुपर्ने अर्यालले सुनाए। अन्य साना पोखरी भने दर्जनभन्दा बढी बनाइएको छ। साना पोखरीको साइज भने चार मिटर लम्बाइ र उत्तिकै चौडाइको छ। बाँधस्थल हुँदै तालको किनारैकिनारै फुट ट्र्याकसमेत निर्माणको लागि खन्ने काम सुरु गरिएको छ। परियोजनाले विभिन्न कामका लागि ११ करोड रुपैयाँ खर्च गरिसकेको छ।

पाँच किलोमिटर फुट ट्र्याक निर्माण गरिनेछ। दुई मिटरको चौडाइको हुनेछ। साइकल ट्र्याकको रूपमा समेत प्रयोग गर्न सकिने परियोजना सदस्य ढकालले सुनाए। उनका अनुसार पचभैया क्षेत्रमा भने कालोपत्रे गरिनेछ।

बाँध निर्माणपछि तालको बीचमा मन्दिरसमेत बनाउने परियोजनाको लक्ष्य छ। पर्यटन प्याकेजका कामसमेत गरिने उनले बताए। स्थानीयले ताल संरक्षण गर्नुपर्ने माग गर्दै आएका छन्। ताल संरक्षण, फुट ट्र्याक, बाटोलगायतका पूर्वाधार बनाउनुपर्ने मागसमेत उठाएका छन्।

‘रूपाताल जोगाउनुपर्छ, ताल भोलिका सन्ततिका लागि संरक्षण गर्नुपर्छ,’ विगत १७ वर्षदेखि रूपाताल संरक्षण गर्न खटिँदै आएको परियोजनाका सदस्य लेखनाथ ढकालले भने, ‘ताल जोगाउनु सबैको दायित्व हो। तालको अस्थित्व जोगाइराख्नुपर्छ।’

पञ्चवर्षीय योजनाअन्तर्गत बाँध निर्माणका लागि चार अर्ब ५१ करोडको लागत अनुमान गरिएको परियोजना प्रमुख अर्यालले बताए। बाँध हालेपछि रूपातालको सतह एक सय ७४ हेक्टर पुग्ने अनुमान छ। अहिले पानीको सतह भने एक सय चार हेक्टर मात्र छ। उत्तरतर्फको दोभान, जिमिरे, चिसा खोलालगायतका खोलाले बर्सेनि बगाउने माटोले तालको सतह घट्दै गएको छ। नापी विभागको २०३२ सालको तथ्यांकअनुसार रूपातालको क्षेत्रफल ए सय ३५ हेक्टर थियो।

 

प्रकाशित: २ चैत्र २०७५ ०९:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App