coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

दक्षिण ललितपुरका गुराँसे पदमार्गहरू

ललितपुर भन्नेबित्तिकै हामी लगनखेल र वरपरका बस्ती सम्झन्छौं। यति मात्र होइन, पूर्वको फुल्चोकीदेखि दक्षिण महाभारत श्रृखलासम्मका पहाडी भू–भाग पनि ललितपुर हुन्।

यही पहाडी भेगमा  अवस्थित दक्षिण ललितपुरबारे कमैलाई थाहा छ। राजधानीसँग कुम जोडेर बसेको दक्षिण ललितपुर पर्यटकीय संभावना बोकेको सुन्दर भूगोल हो। दक्षिण ललितपुरमा तीन गाउँपालिका पर्छन्–बागमती, कोन्जोसोम र महाँकाल। भट्टेडाडाँ केन्द्र रहेको बागमतीमा माल्टा, घुसेल, इकुडोल, प्यूटार, आश्राङ, गिम्दी पर्छन् भने चौघरे केन्द्र रहेको कोन्जोसोममा शंखु, दलचोकी, नल्लु, भारदेऊ पर्छन्। त्यसैगरी गोटीखेल केन्द्र रहेको महाँकालमा बुखेल, मानिखेल, चन्दनपुर, कालेश्वर र ठूला दुर्लुङ गाउँ पर्छन्।

पर्यटनको प्रशस्तै संभावना बोकेको ठाउँ हो दक्षिण ललितपुर। यतिबेला त्यहाँका डाँडापाखामा लालीगुराँसको बैंस चढेको छ। घुमफिर गरे तन र मन दुवैलाई फाइदा पुग्छ।

चारैतिर हरियाली, अग्ला डाँडा, उकाली ओराली, कलकल खोला, झरना, जंगलको छहारी र धार्मिकस्थल यहाँका विशेषता हुन्। गाउँले जीवन शैली बुझ्दै, उकालीओरालीमा पसिना चुहाउँदै हिँड्दा जोशजाँगर बढ्छ। यति सुन्दर ठाउँमा सरोकारवालाको ध्यान पुगेको छैन। आन्तरिक र बाह्य पर्यटकका लागि दक्षिण ललितपुर आकर्षक बन्न सक्छ। त्यसका लागि होमस्टे निर्माण, पर्यटन तालिम र प्रचारप्रसारमा जोड दिनु पर्छ। पर्यटनबाट गाउँको अर्थतन्त्र उकासिन्छ। यसका लागि गाउँले पनि जागरूक बन्नु पर्छ।  

यतिबेला लालिगुराँसले राताम्मे छ दक्षिण ललितपुर। गुराँसको यौवन हेदै हिमालको छहारीमा पदयात्रा गर्दा मन चंगा हुन्छ। यहाँ दक्षिण ललितपुरका केही गुराँसे पदमार्गको चर्चा गरिएको छ।

गोटीखेल–कालेश्वर
गोटिखेल बजार धार्मिक गन्तव्य हो। त्यहाँ दक्षिणबाट उत्तरतिर बग्ने मसान खोला बग्छ। हिन्दू  धर्मशास्त्रमा यस्तो उत्तरबाहिनी नदीको ठूलो महत्व छ। गोटीखेलको दक्षिणमा छ, कालेश्वर (२, ५००मिटर)। कालेश्वर पुग्न गोटीखेलबाट तीन घन्टा ठाडो उकालो चढ्नुपर्छ भने ओर्लन २ घन्टा।

कालेश्वरको देब्रेपट्टि अग्लो डाँडा छ–बुर्जा डाँडा। कथाअनुसार पार्वतीले महादेव जहिले पनि आफूभन्दा माथि बस्ने गुनासो गरेपछि उनले पार्वतीका लागि बनाइदिएको अग्लो डाँडा। त्यहाँबाट हिमालको दर्शनका साथै हरिया थुम्का देखिन्छ।    गोटीखेलमा कालखोला, धामीखोला र टुँगुनखोला जोडिएको त्रिवेणी धाम छ। त्यही त्रिवेणीलाई वैतरणीधाम भनिन्छ।
उहिल्यै यमराजले महादेवको तपस्या गर्दा यहाँको त्रिवेणीमा नुहाएर कपडा सुकाएका थिए। कपडा सुकाएको ढुंगालाई ‘महाँकाल ढुंगा’ भनिन्छ। कालले नुहाएको खोलालाई कालमोचन खोला भनिन्छ।

माथि कालेश्वर जाने बाटोमा ठूलो चट्टान छ। कालले चन्दन घोटेर ढुंगालाई स्यानो चनौटामा अड्याएको रे !  सानो ढुंगामाथि ठूलो अजंगको ढुंगा छ। त्यहीँ बाटो हुँदै चमेरे गुफा पुगिन्छ। कालेश्वर डाँडामा खाने–बस्ने सुविधा छैन। तल सिसवन र गोटीखेल बजारमा खाजाघर, लज र होमस्टे सुविधा पाइन्छ। कसरी पुग्ने–लगनखेल–गोटीखेल ५० किमी। लगनखेलबाट गोटीखेल जाने बस छुट्छन्। गोटीखेल बजारबाट ६ किमी उकालोमा कालेश्वर। कालेश्वरबाट गोटीखेलसम्म पदयात्रा। जम्मा पदयात्रा दूरी ः १२ किमी। समय ः ६ घन्टा। बास गोटीखेलमा।

भारदेऊ–गुप्तेश्वर
जंगल बीचमा छ भारदेऊ। परापूर्वकालमा भष्मासुर राक्षसले महादेवको तपस्या गरेपछि महादेव खुसी भएर वरदान दिएछन्। वरदान पाउनेबित्तिकै भष्मासुरले वरदान सही हो कि गलत भनेर परीक्षण गर्न महादेवको टाउकोमा हात राख्न खोजेछ। महादेव त्यहाँबाट भागेछन्। देवता भागेको ठाउँ भएकाले ‘भागदेव’ भन्दाभन्दै अपभं्रश भएर भारदेऊ भनियो।
यही भारदेऊको टुप्पामा छन् गुप्तेश्वर गुफा। त्यहाँ महादेव भागेर लुकेको मानिन्छ। खुला आकाशमुनि ढुंगाका राताम्मे दुई शिला, वरपर त्रिशूल गाडिएका। नजिकै घन्ट। छेवैमा ठूलो रूखमुनि गुफा। यसैलाई गुप्तेश्वर गुफा भनिन्छ। हिन्दू र बौद्ध धर्माबलम्बीको साझा तीर्थ बनेको छ गुप्तेश्वर।

गुप्तेश्वर (२,५००मिटर) गुफा चट्टानी पहरोको ओडार करिब ५० मिटर लामो र १५ फिट अग्लो छ। पस्नेबित्तिकै करिब २० मिटर दुरीमा सानो ढुंगाको मूर्ति र त्रिशूल। यसलाई पार्वती मन्दिर भनिन्छ। पार्वती मन्दिरबाट २० मिटर तल महादेव मूर्ति र त्रिशूल छन्। त्यसलाई महादेव मन्दिर भनिन्छ। पार्वतीको मन्दिरबाट तल झर्न धर्म ढोका छ। प्वालबाट शरीरको संतुलन मिलाएर छिर्नु पर्छ।

अँध्यारो भएको हुनाले टर्चलाइट वा अन्य बत्तीको सहारामा जानु पर्छ। गाइडबिना पस्नु हुँदैन। गुफाभित्र विभिन्न आकृति छन्। भारदेऊको पौवाचौरबाट गुप्तेश्वरको दूरी जम्मा २ किमी। तर, ठाडै उकालो। गुफा व्यवस्थित गरेर प्रचार गर्नु पर्छ। डाँडामा भ्यूटावर बन्नु पर्छ। टावर बनाएमा जंगलको मध्य भागमा बसेर स्वच्छ वातावरणबाट काठमाडौं नियाल्न पाइन्छ।
भारदेऊमा रात बस्न मिल्ने साना होटल लज छन्। बास बस्न होमस्टे सुरु गराउन सकिन्छ।

कसरी पुग्ने–ललितपुरको लगनखेलबाट भारदेऊसम्म गाडीमा २२ किमी। पौवाचौरबाट गुफा र त्यहाँबाट चौघरे जंगल हुदै पौवाचौरसम्म पदयात्रा।  पौवचौर– गुप्तेश्वर २ किमी ठाडो उकाले, पौवाचौर– चौघरे जंगल– पौवाचौर ५ किमी। जम्मा ७ किमी। समय ५ घण्टा।

सरस्वती कुण्ड–पाथीभरा
काठमाडौंबासीलाई पाथीभरा दर्शन गर्न पूर्वसम्मै पुग्नै पर्दैन, मात्र २० किमी दुरीको नल्लु पुगे हुन्छ। पूर्वको ताप्लेजुङमा पुरानो पाथीभरा मन्दिर छ। त्यही देवीसँग हुबहु मिल्ने मूर्ति छ नल्लुमा पनि। नल्लुको (१,८९० मिटर) को शीतल थुम्कामा छिन् पाथीभरा।

मन्दिरको प्रवेशद्धारमा दायाबाया सिंहका प्रतिमा। मन्दिर जाने मुख्य बाटोमा गणेशको मूर्ति छ। देवी बसेको ठाउँअघि काफलको रूख मूनि चन्द्रसूर्य देवीको मूर्ति छ जसलाई पाथीभराकी बहिनी भनिन्छ। वरपर नवदूर्गा, सरस्वती, गणेश र लक्ष्मीका मूर्ति छन्। बीचमा शिवलिंग र शेष नारायण छन्। पाथीभरालाई महिलाका सगुन चीज चुरा, टिका, धागो, पछयौरी, साडी लगायत सामाग्री चढाइन्छ। त्यसरी चढाएका सामान ५० वर्षभन्दा मुनिकाले लगाउनु हुँदैन भनिन्छ।  

जयबहादुर स्याङतान र रमेश श्रेष्ठको सक्रियतामा मन्दिर बनाइएको। मन्दिर बनाउन स्याङतानले तीन रोपनी जग्गा दान गरेका छन्। पाथीभरा स्थापनाबारे अनौठो कथा छ। हाल देवी भएको ठाउँमा जयबहादुरले घर बनाउन ढुंगा खसाले। त्यही रात सपनामा तीन कन्याले ‘हामी बसेको ठाउँमा घर बनाउन पाइँदैन’ भनेछन्। सपनामै उनले त्यही ठाउँमा ठूलो इनार देखे। इनारबाट पानी तानेर बालिकाले गाग्री र पाथी भरिदिए। यस्तो सपना देखेपछि उनले त्यहाँ घर बनाउने विचार छाडे।
ग्वार्कोका चित्रकारले पाँच वर्ष लगाएर बनाइएका मूर्ति एउटै ढुंगामा बनेको छ। मूर्तिको उचाइ पाँच फिट दुई इन्च छ। मन्दिर क्षेत्रमा राम्रा होटल र रिसोर्ट खोलेमा पाथीभरा राम्रो पर्यटनधाम बन्न सक्छ। पिकनिक स्पट बनाउन पनि जरुरी छ। तत्कालका लागि गाउँमा होमस्टे चलाउन सकिन्छ। गाउँले संस्कृतिका साथै लोकल खाना मिलाएर प्याकेज बनाउन सके बिदा मनाउने पर्यटक डाक्न सकिन्छ।

कसरी पुग्ने–लगनखेल बसपार्कबाट लेलेसम्म गाडीमा। बस नल्लु खोला किनारको चैत्यसम्मै पुग्छ। त्यहाँबाट हिँडे एक घन्टामै पाथीभरा पुगिन्छ। पाथीभरा फेदसम्मै कच्ची मोटर बाटो छ। हाइकिङ गर्दा लेले सरस्वती कुण्डसम्म गाडीमा। कुण्ड घुमेर नल्लु भन्ज्याङ हुँदै पाथीभरा पुगेर नल्लु खोला तीरैतीर टीकाभैरवसम्म पदयात्रा गर्ने। लेले कुण्ड–पाथीभरा ८ किमी र पाथीभरा–टीकाभैरव ८ किमी। जम्मा १६ किमी। समय ६ घण्टा।

तीनपाने–भट्टेडाँडा
डाँडैडाँडाले घेरिएको अग्लो डाँडा। पहिला यहाँ व्यापक रूपमा घरेलु मदिरा उत्पादन हुन्थ्यो। डाँडामा भट्टी थिए। भट्टी भएको ठाउँ भएकाले भट्टी डाँडा भन्दाभन्दै भट्टेडाँडा भनिएको भनाइ छ। भट्टेडाँडा (२,५०० मिटर) दुःखद् घटनापछि मात्र चर्चामा आएको हो। ०४९ साउन १२ गते  सात कन्यामा पाकिस्तानी एयरलाइन्सको हवाईजहाज दुर्घटनामा परी १६७ जनाको ज्यान गयो। त्यही घटनापछि भट्टेडाँडा देश÷विदेशमा प्रख्यात भयो।

प्राकृतिक सौन्दर्यको खानी हो भट्टेडाँडा। त्यहाँ भएको विद्युतीय रोप वे एउटा आकर्षण हो। काठमाडौंलाई हेटौंडासँग जोड्ने कान्ति राजपथ यतैबाट गएको छ। सातकन्यामा भ्यूटावर र पिकनिक स्पट बनाउन सके मान्छेको घुइँचो लाग्नेथ्यो। मौसम खुल्दा डाँडाबाट १८० डिग्रीमा सेता हिमालको लर्कन देखिन्छ भने तलतल काठमाडौं उपत्यकाको सुन्दर दृश्य।

डाँडामा रिसोर्ट, होटल खुल्ने हो भने एक रात बसेर सूर्योदय र सूर्यास्त अवलोकन गर्न सकिन्छ। त्यहाँबाट ६ किमीमा दल्चोकी र १० किमीमा माझखण्ड पुग्न सकिन्छ। भट्टेडाँडाका कृष्ण मन्दिर, निलेश्वरी महादेव, सतिदेवी, बाघ भैरव र महाँकाली देवीलाई धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिन्छ। गाउँमा तामाङ जातिको बसोबास छ। खाजा र खानाको तीनपाने भन्ज्याङमा राम्रो व्यवस्था छ।

कसरी पुग्ने–लगनखेलबाट तीनपानेसम्म गाडीमा। सार्वजनिक सवारी साधनमा डेढ घन्टा। तीनपानेबाट सातकन्या हुँदै डाँडा र डाँडाबाट सातकन्या हुँदै तीनपानेसम्म पदयात्रा। ठाडै उकालो र ठाडौ ओरालो। पदयात्रा दूरी ९ किमी। समय ः ५ घन्टा।

इकुडोल– माझखण्ड
‘गन्तव्य माझखण्ड’ भनेर चिनाउन लागिपरेका छन् इकुडोलबासी। भट्टेडाँडादेखि माझखण्ड (१,९००मिटर)सम्म केवलकार बन्दैछ। सधैं शीतल हुने भएकाले काठमाडौंको गर्मी छल्न उपयुक्त छ माझखण्ड। त्यहाँबाट हिमाली सौन्दर्य, सूर्योदय र सूर्यास्त देखिन्छ।

केवलकार बनेपछि चन्द्रागिरिमा जस्तै चहलपहल बढ्नेछ। हाल त्यहाँ रहेको बुद्ध बिहारमा बाहेक अरू खानेबस्ने ठाउँ छैन। होटल तथा होमस्टे खोलेर तामाङ संस्कृति पस्कन सके र गाउँको प्रचार गरे माझखण्ड चम्किन सक्छ। विहारले माझखण्डलाई प्रख्यात बनाएको छ। मनको शान्ति खोज्नेका लागि माझखण्ड उपयुक्त छ। माझखण्ड क्षेत्रमा तामाङ समुदायको बसोबास छ। अब इकुडोलको कुरा, युगु र डोल शब्दबाट इकुडोल बनेको। तामाङ भाषामा युगुको अर्थ मलसाँप्रो हो भने डोलको अर्थ खोल्सा वा गहिरो भाग। मलसाँप्रो पाइने ठाउँ भएकाले युगुडोल भन्दाभन्दै अपभ्रंश भएर इकुडोल भन्न थालियो। इकुडोलमा कृषि र पशुपालन गरिन्छ।

माझखण्डमा विहार मात्र होइन, देवीको मन्दिर पनि छ। स्थानीय चन्द्रबहादुर स्याङतानको अगुवाइमा बनेको विहारमा साँढे ५ फिटको बुद्ध मूर्ति छ। चार रोपनी जग्गा चर्चेको छ विहारले। विहारमा खान÷बस्न पाइन्छ। मासु र मदिरा निषेध छ। एकैरात ३० जनासम्म बस्न सक्छन्। बास बस्न पहिल्यै खबर गरेर मात्र जानुपर्छ। कसरी पुग्ने–ललितपुरको चापागाउँबाट बिहान छपेलीका लागि बस छुट्छन्। छपेलीबाट कलवन भञ्ज्याङ हुँदै ५ घन्टा हिँडे बुद्ध विहार। पदयात्रा दूरी ः  ८ किमी। समय ः १० घन्टा।

बज्रबाराही–सन्तानेश्वर
चापागाउँमा पर्ने बज्रबाराही उपत्यकाका चार देवीमध्ये सबैभन्दा प्रख्यात मानिन्छ। जंगल बीचमा रहेको मन्दिरमा गजुर छैन। राजा श्रीनिवास मल्लले नेपाल संवत ७८६ मा गजुररहित प्यागोडा शैलीको मन्दिर बनाएका। गजुर नराखेको विषयमा एउटा भनाइ छ। मन्दिर एकै रातमा बनाइएको हो। किवदन्ती अनुसार बज्रबाराही भएको ठाउँमा पहिला आहाल थियो। एक दिन एउटा राँगो अकस्मात आएर आहालमा बस्यो। त्यही राँगोले देवीको रूप लिए पछि आहाल पुरेर मन्दिर बनाइयो। मन्दिर बनाउँदा बनाउँदै गजुर हाल्न नभ्याउँदै बिहान भाले बास्यो।

बज्रबाराही परिसरमा नवदूर्गाका मूर्ति छन्। त्यहाँको जंगलमा वनभोज खानेको घुइँचो लाग्छ। चापागाउँमा पहिला चाँपका रूख थिए। चाँप गाउँ भन्दाभन्दै चापागाउँ भएको भनाइ छ। यसलाई चम्मापुर र वाद्ेय पनि भनिन्छ। चापागाउँ धान खेतीका लागि प्रख्यात छ। गाउँमा चम्मापुर देवीको मन्दिर पनि छ। बज्रबाराहीमै रहेको प्याङ गाउँ इतिहास बोकेको नेवार बस्ती हो। शिल्पग्रामको नाउँले चिनिने गाउँ बाँसबाट बनाइने मानापाथीका लागि प्रख्यात छ। अहिले केही घरले मात्र त्यस्ता मानापाथी बनाउँछन्। गाउँमा खान, बस्न सुविधायुक्त होटल तथा रेस्टुरेन्ट खोल्न सके राम्रो हुन्छ। प्याङगाउँमा महादेव र चन्द्रभैरव मन्दिर पनि छन्। चापागाउँ क्षेत्रमा नेवार, बाहुन, क्षेत्री, तामाङ र दलित समुदायको बसोबास छ।

बज्रबाराहीबाट हिँडेर डेढ घन्टामा पुगिने सन्तानेश्वर (१,५५० मिटर) झरुवाराशीको साँधमा पर्छ।  सन्तान नभएकाहरूले शुद्ध मनले सन्तानेश्वरको प्रार्थना गरे सन्तान प्राप्ति हुन्छ भन्ने विश्वास छ। स्वस्थानी व्रतकथा अनुसार यहाँ सतिदेवीको छाती पतन भएको थियो। त्यहाँबाट महादेव दर्शनसँगै हिमाल, काठमाडौं, भक्तपुर र ललितपुरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ।

थुम्कोमा अवस्थित मन्दिरमा बासुकी नाग, नवदूर्गा, ६४ शिवलिंग र गुप्तेश्वरका मूर्ति छन्। त्यहाँ गणेश, सरस्वती, भगवती, विष्णुका चार धाम पनि छन्। उपत्यकाको दोस्रो पशुपतिनाथका रूपमा यसको विकास हुँदैछ। सन्तानेश्वरबाट ३ किमी दूरीमा नागदह पर्छ। धापाखेलको नागदह हुँदै सातदोबाटासम्म पदयात्रा गर्न सकिन्छ।
कसरी पुग्ने– लगनखेलबाट सन्तानेश्वर र बज्रबाराहीसम्म मोटर पुग्छ। हाइकिङ गर्दा चापागाउँसम्म गाडीमा। चापागाउँबाट बज्रबाराही, बज्रबाराही–सन्तानेश्वर ५ किमी, सन्तानेश्वर–नागदह ३ किमी, नागदह–सातदोबाटो ६ किमी। समय ः ५ घन्टा।  

टीकाभैरव–दलचोकी
शीतल गन्तव्य होे–दलचोकी (२,२०० मिटर)। दलचोकीबाट सूर्योदय र सूर्यास्त राम्रो देखिन्छ। आकाश उघ्रिएका बेला छयाङ्ङ  हिमाल देखिन्छ। अन्नपूर्ण, मनास्लु, गणेश, दोर्जे लाक्पा, लाङटाङ, गौरीशंकर लगायत हिमाली शृङखला। डाँडामा मनकामना मन्दिर छ।  

गाउँमा बाहुन, क्षेत्री, तामाङ, मगर, नगरकोटी र सुनुवार समुदायको बसोबास छ। गाउँले कृषिमा निर्भर छन्। प्रकृतिको काखमा रहेको दलचोकीमा अनौठो मौसम हुन्छ। सधैं भुइँकुहिरोमा लुकामारी खेल्छिन् दलचोकी। छिनमै घाम लाग्छ, छिनमै बादल मडारिन्छ र छिनमै चिसो हावा। जंगलको बाटो भएकाले यात्रामा चितुवा, मृग, वनबिरालो, खरायो, कालिज लगायत जीवजन्तुसँग भेट हुन सक्छ।

दलचोकीमा प्रकृतिप्रेमी समूहले निरोग आनन्दधाम (२,१६५ मिटर) बनाएको छ। समूहले उचित आहार, विहार र विचारको अभ्यासबाट आनन्दित रहने व्यवहारिक ज्ञान बाँड्न बनाइएको आनन्दधाम सात रोपनीमा फैलेको छ।  एकैपटक सय जनाले आवासीय रूपमा ध्यान, योग र अभ्यास गर्न पाउँछन्।

गाउँमा १२ वैशाख अगाडि होमस्टे सुविधा थियो। अहिले होटल छन्। फेरि सामुदायिक होमस्टेले चलाएर पर्यटकलाई खाने र बस्ने व्यवस्था मिलाउने स्थानीय रामप्रसाद तिमल्सिना बताउँछन्। काठमाडौंबाट मात्र २१ किमी दक्षिणमा अवस्थित दलचोकीलाई काठमाडौंको भेडेटार भन्न सकिन्छ। त्यहाँ गर्मी छल्न र विकेण्ड मनाउन सकिन्छ।  

कसरी पुग्ने– लगनखेलबाट लेले जाने गाडीमा टीकाभैरव झर्ने। टीकाभैरवबाट नल्लु खोला, सानो भैंसे, सैनिक व्यारेक, निरोग आनन्दधाम हुँदै दलचोकी टप (२,३००मिटर)। अनि त्यहाँबाट मनकामना मन्दिर, गोठ भन्ज्याङ, बासुकी, शिखर्पा हुँदै टीकाभैरवसम्म पदयात्रा। हाइकिङ दूरी १६ किलोमिटर। मोटरबाटो दलचोकीसम्मै पुग्छ।

चारघरे–देवीचौर
काठमाडौंको पुरा दृष्य, छर्लङ हिमाल र नीलो आकाश देखिन्छ देवीचौर (२,१०० मिटर)बाट।   उहिल्यै त्यहाँ गाई चराउने ठूलो चौर थियो। एक दिन गोठालाले गाइले चौरको शीलामा दूध चढाएको देखे। त्यो देखेपछि त्यहाँ देवीको बास रहेछ भनेर गोठाला र गाउँलेहरूले पूज्न थाले।

देवीको पूजापाठ गरिने चौर भएकाले देवीचौर भन्न थालियो। हाल मन्दिर भएको ठाउँमा पहिला गोठ थियो। स्वस्थानी ब्रतकथा अनुसार देवीचौरको देउरालीमा देवीको अंगपतन भएपछि दूधेश्वरी महादेव उत्पन्न भए। यो ठाउँलाई शक्ति पिठ मानेर पूजा गरिन्छ। माघमा मेला लाग्छ। प्रचारको कमीले बाहिरका तिर्थालु कमै पुग्छन्।  त्यसैगरी डुकुछाप र देवीचौरको सीमामा पर्ने कटुवाल दह राम्रो पर्यटकीयस्थल हो। दहको पानीले नुहाएमा चर्म रोग निको हुने जनविश्वास छ। दहमा हरेक नयाँ वर्षका दिन मेला लाग्छ। त्यहाँ स्वर्गद्वारी मन्दिर प्रतिस्थापन गरिएको छ। स्वर्गद्वारी, कटुवाल दह र दूधेश्वरीको एकीकृत प्रचार गर्न सके धार्मिक पर्यटन फस्टाउन सक्छ। साथै पिकनिकस्पट बनाउन सके बिदाका दिनमा गुल्जार हुन सक्छ।

गाउँमा गुप्तेश्वर गुफा छ। त्यसको अध्ययन गरी प्रचार गर्नु पर्छ। सल्लाघारी जंगल बीचको स्वर्गद्वारीसम्मै मोटर बाटो खनिएको छ। यहाँको सुन्तोली डाँडाबाट प्याराग्लाइडिङ गराउन सकिन्छ। तामाङ जातिको बाहुल्य रहेको देवीचौरमा ब्राम्हण लगायत अरू जातिको बसोबास छ। गाउँमा बौद्ध चैत्य छन्। दक्षिणकाली मन्दिर सामुन्नेमा छ देवीचौर। कसरी पुग्ने–लगनखेलबाट चारघरेसम्म गाडीमा। चारघरेबाट छम्पी, बुरुङचुली हुँदै देवीचौर र देवीचौरबाट बुरुङचुलीसम्म पदयात्रा। पदयात्रा दूरी १२ किमी। समय ५ घन्टा।

गिम्दी–चमेरे गुफा
मगर जातिको बाहुल्यता रहेको गिम्दी दक्षिण ललितपुरको अन्तिम गाविस हो। मगर भाषामा सोली आकारलाई गिम्दी भनिन्छ। सोली आकारको गाउँ। गाउँका प्रायः युवा रोजगारीका लागि विदेसिएका छन्। गाउँ सुन्दर छ। कृषिमा निर्भर छन् गाउँले। यहाँको चमेरे गुफा मुख्य पर्यटकीय गन्तव्य हो। गाउँबाट एक घण्टामा, कालेश्वर मन्दिरबाट आधा घण्टामै पुगिन्छ गिम्दीको गुफा। गुफाभित्र ठूलो चोक छ। त्यहाँ मन्दिर, गणेश, हात्तीका सुँढ, गाईका थुन आदि आकृति देखिन्छ। तर प्रचारप्रसारको कमीले गुफा चर्चित छैन। यसको राम्रो प्रचार गर्न सके पोखराको चमेरे गुफामाझै चहलपहल हुन्छ। गाउँमा साना खाजा पसल छन्। बास बस्न गोटीखेलमै पुग्नु पर्छ।

कसरी पुग्ने–गोटीखेलसम्म गाडीमा। त्यहाँबाट कालेश्वर हुँदै गिम्दी र गिम्दीबाट गोटीखेलमै बास बस्ने। अथवा गिम्दीसम्म गाडीमा र गाउँबाट एक घण्टा हिँडेर फर्कने। गोटीखेल–कालेश्वर ६ किमि र कालेश्वर गिम्दी २ किमी। जम्मा पदयात्रा १६ किमी। समय ७ घण्टा। गोटीखेलमा बास।

दल्चोकी–शंखु
तोरी लिन र छोरी दिन शंखु मानिखेल जानु भन्ने भनाइ छ। त्यसैले शंखु कृषिका हिसाबले निकै अगाडि छ। गरागरा बनाएका खेतबाली अनि गाउँले जीवन हेर्दै हिँड्न सकिन्छ। अहिले शंखुमा चारैतिर पहेंलपुर तोरी फूलेको छ।  गाउँका युवाले एग्रो फार्म बनाएर अर्गानिक तरकारी र कुखुरापालन गर्दै छन्। शंखुमा मिश्रित जातिको बसोबास छ। बाटोको राम्र्रौ सुविधा छ। शंखुको मानेचौरमा रहेका होटल व्यवस्थित गर्न सके तामाङ जीवन शैली हेर्दै बस्न आउनेको भिड लाग्छ।

दक्षिण ललितपुरको मध्य पहाडी क्षेत्रमा पर्ने शंखु थाली आकारको छ। गुरुङ भाषामा थालीलाई शंखु भनिन्छ। थाली जस्तो भएको हुनाले शंखु भनिएको। शंखुमा होमस्टे गराएर पदयात्रा प्याकेज बनाउन गाउँबासी लागिपरेका छन्।
कसरी पुग्ने–शंखुसम्मै गाडी बाटो छ। पदयात्रा दलचोकीबाट सुरु गरेर शंखु पुग्ने र शंखुबाट फर्कन सकिन्छ। शंखु–दलचोकी १० किमि। पुरै बाटो ठाडो उकालो र ठाडै ओरालो छ। समय ५ घण्टा।     
गाउँमै पसिना
राजकुमार चौलागाइँ
उद्यमी

सबै ठाउँको आ–आफ्नै विशेषता हुन्छ। त्यही विशेषता चिनेर काम गरेमा आफ्नै ठाउँमा सुन फलाउन सक्छौ। गाउँमा धेरै संभावना छन्। तर हामी आफ्नो गाउँठाउँमा केही नहेरी रोजगरीके लागि विदेश जान्छौं। त्यस्तै अवस्था छ दक्षिण ललितपुरको पनि। त्यसैले हामीले आफ्नै गाउँ शंखुमा एग्रोफार्म बनाएका छौं। फार्ममा अर्गानिक तरकारी र कुखुरापालन गरेका छौ। साथै होमस्टे दर्ता गरेर पदमार्ग र पर्यटन विकास गर्ने योजनामा छौं।

प्रकाशित: २ चैत्र २०७५ ०७:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App