८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

मिर्गौला नियमित हेरचाह गरे बच्छ नत्र बिग्रन्छ

आफ्नो मिर्गौला बिग्रिरहेको छ भन्ने कुरा सुरुमै त्यत्तिकै थाहा हुँदैन। जतिबेला थाहा हुन्छ त्यतिबेला मिर्गौला धेरै बिग्रिसकेको हुन्छ। र, जसको उपचार अत्यन्त कठिन बनिसकेको हुन्छ। तसर्थ रोग लाग्नुभन्दा पहिल्यै मिर्गौला जोगाउनेतर्फ ध्यान दिनु उचित हुने चिकित्सकहरूको सुझाव छ।

पछिल्लो समय आधुनिक जीवनशैलीका कारण धेरै मानिसको मिर्गौला कम उमेरमै फेल हुने(बिग्रिने) गरेको विश्व तथ्यांकले देखाउँछ। ‘सहरी आरामदायी जीवनशैली, फास्ट फुडको अत्यधिक प्रयोगले पनि मिर्गौला बिग्रिने गरेको देखिन्छ,’ काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल मिर्गौला विभागका प्रमुख डा. दिव्या सिंंह शाहले भनिन्। मधुमेह र उच्च रक्तचापसम्बन्धी रोगहरू बढ्नाले पनि मिर्गौला फेल हुनेको संख्या बढिरहेको उनले बताइन्।

मिर्गौला बिग्रिने बढ्दो दरलाई नियन्त्रण गरी स्वस्थ जीवनका लागि जनचेतना जगाउने हेतुले हरेक वर्ष विश्वभर मिर्गौला दिवस मनाउने गरिन्छ। यसै क्रममा यस वर्ष पनि ‘हरेक मानिस जहाँ भए पनि स्वस्थ मिर्गौला’ मूल नाराका साथ गत बिहीबार नेपालसहित विश्वभर १४औं मिर्गौला दिवस मनाइयो। उक्त नाराको अर्थ हो– हरेक मानिस जुनसुकै ठाउँमा रहे पनि मिर्गौला स्वस्थ हुनुपर्छ।  

मिर्गौलाले प्रतिमिनेट १ सय २५ मिलिलिटर रगत सफा गर्छ। जब मिर्गौलामा समस्या आउँछ तब यसको कार्यक्षमतामा ह्रास आएर प्रतिमिनेट पाँच मिलीलिटरभन्दा कम रगत मात्र सफा गर्न थाल्छ। यो नै मिर्गौला फेल भएको अवस्था हो। मिर्गौलाको कार्यक्षमता घट्दै घट्दै यो अवस्था आउन पाँचदेखि १० वर्षसम्म लाग्छ। तर कुनै रोगका कारणले तत्कालै या हप्ता दिनभित्रै पनि मिर्गौला फेल हुन सक्ने चिकित्सक बताउँछन्।

दिवसका अवसरमा नेपालमा पनि मिर्गौला बचाऊ अभियन्ता तथा चिकित्सकहरूले मिर्गौला बिग्रिने क्रम बढिरहेकाले यसप्रति सेचत हुन सबैलाई आह्वान गरे। तथ्यांकअनुसार नेपालमा हरेक वर्ष मिर्गौलाका तीन हजार नयाँ बिरामी देखापर्ने गरेका छन्। कुल जनसंख्याको १० प्रतिशत मानिसमा मिर्गौलासम्बन्धी कुनै न कुनै रोग देखिन्छ भने तीमध्ये १० प्रतिशत रोगीको मिर्गौला फेल भएको अवस्था छ। यस हिसाबले तीन लाख जनाको मिर्गौला पूरै बिग्रेको देखिन्छ। हाल देशभर ४ हजार ५ सय जनाले मिर्गौला डायलासिस गराइरहेका छन् भने बाँकी त्यत्तिकै घरमा बसिरहेका छन्। वैदेशिक रोजगारीमा गएकाहरूमध्ये हरेक साता एक जना मिर्गौला बिगे्रर घर फर्किरहेका छन्।

नेपालमा मिर्गौला बिग्रिने दर बढेपछि अस्पतालहरूले बर्सेनि विभिन्न अभियान चलाउने गरेका छन्। यस्तै सरकारले उक्त समस्या सम्बोधन गर्न मिर्गौला प्रत्यारोपणका लागि प्रतिव्यक्ति पाँच लाख रुपैयाँ सहयोग दिने गरेको छ।

तर मिर्गौला रोग नियन्त्रणका लागि सरकारको यो नीति तथा कार्यक्रम उपयुक्त नभएको राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्रका प्रमुख डा। क्रषिकुमार काफ्ले बताउँछन्। नेपालजस्तो विपन्न मुलुकले भविष्यमा खर्च धान्न नसक्ने उनको भनाइ छ। यसरी रोग लागिसकेपछि उपचारमा अर्बौं खर्च गर्नुको साटो मिर्गौला बिग्रिनै नदिने जनचेतनामा सरकारले खर्च गर्नु उचित हुने डा। काफ्लेको सुझाव छ। ‘अब सरकारले मिर्गौला रोग लाग्नाको कारणबारे जनचेतना जगाउनमा ध्यान दिनु पर्छ,’उनले भने।

के हो मिर्गौला फेल (बिग्रिनु) हुनु भनेको?
चिकित्सकका अनुसार विभिन्न रोगका कारण मिर्र्गौलाले गर्ने नियमित काममा कमी अर्थात् ह्रास आउँदै जाने अवस्था नै मिर्गौला फेल हुनु हो। मिर्गौला एक्कासि नभई रोग लागेको वर्षौंपछि फेल हुन्छ। विभिन्न कारणले रोग लागी तुरुन्तै या विस्तारै मिर्गौलाको नियमित प्रक्रिया तथा काममा अवरोध आउने अवस्था आउनु भनेको मिर्गौलाले काम गर्न छाड्दै गएको संकेत हो। यस्तो अवस्थामा आँखाको डिल सुन्निने, थकाइ लाग्ने, खाना खाएपछि वान्ता हुन खोज्ने, पिसाबमा फिँज आउने, पेट तथा खुट्टा सुन्निने, रक्तचाप बढ्नेजस्ता लक्षण देखिन्छन्। तर कतिपय अवस्थामा यी कुनै पनि लक्षण नदेखिन पनि सक्छ। जब मिर्गौलाको नियमित काममा धेरै नै ह्रास आउँछ तब मात्र लक्षण देखिन सक्छ।

मिर्गौलाले प्रतिमिनेट १ सय २५ मिलिलिटर रगत सफा गर्छ। जब मिर्गौलामा समस्या आउँछ तब यसको क्षमतामा ह्रास आएर  प्रतिमिनेट पाँच मिलीलिटरभन्दा कम रगत मात्र सफा गर्न सक्छ। यो नै मिर्गौला फेल भएको अवस्था हो। मिर्गौलाको कार्यक्षमता घट्दै घट्दै यो अवस्था आउन पाँचदेखि १० वर्षसम्म लाग्छ। तर कुनै रोगका कारणले तत्कालै या हप्ता दिनभित्रै पनि मिर्गौला फेल हुन सक्ने चिकित्सक बताउँछन्।

मिर्गौैला फेल हुनाका कारण
चिकित्सकका अनुसार नेपालमा मिर्गौला बिग्रिनुका कारण विभिन्न छन्। मिर्गौलाको जालीमा लाग्ने रोग ग्लोमोनेफ्राइटिस, उच्च रक्तचाप तथा मधुमेह, शरीरमा पोटासियमको मात्रा कम हुनु, वंशाणुगत तथा अन्य रोगका कारण तुरुन्तै मिर्गौला फेल हुने हुन्छ। यी कारणमध्ये नेपालमा सबैभन्दा बढी ग्लोमोनेफ्राइटिसका कारण मिर्गौला बिग्रन गरेको चिकित्सकहरू बताउँछन्।

चिकित्सकका अनुसार विकसित देशमा मधुमेह र रक्तचापका कारण पनि मिर्गौला बिग्रिन्छ तर नेपालमा ग्लोमोनेफ्राइटिस ९मिर्गौलाको रगत छान्ने जालीमा लाग्ने रोग०का कारण मिर्गौला बिग्रिने समस्या बढी  छ। अन्य कारणहरू भने अन्य देशहरूको जस्तै मिल्दा–जुल्दा छन्।

ग्लोमोनेफ्राइटिस (रगत छान्ने जालीमा रोग लाग्नु)
बाथरोग, वंशाणुगत रोग, केही मिर्गौला भित्रैबाट निस्किने रोग अटोयुमिन, रोग प्रतिरोधात्मक क्षमतामा आउने गडबडीले शरीरलाई नै आक्रमण गर्ने रोगका कारण जालीलाई नष्ट गर्छन्। यी रोगले रगत छान्ने जाली खियाउने या नष्ट गर्ने काम गर्छन्। नेपालमा ग्लोमोनेफ्राइटिस  मिर्गौला बिगार्ने प्रमुख कारण हो। जालीमा खराबी आएमा पिसाबमा प्रोटिन र रगत देखिन्छ। सुरुमै पत्ता लागे यो रोग पूरै निको हुन्छ। यस्तो अवस्थामा औषधि सेवन गरेर तथा स्वस्थ जीवनशैली अपनाएर मिर्गौला बचाउन सकिन्छ।

मधुमेह तथा उच्च रक्तचाप
विश्वभरिको स्थिति हेर्दा उच्च रक्तचाप र मधुमेहका कारण मिर्गौला बिग्रिनेको संख्या बढी देखिन्छ। यस विषयमा नेपालमा छुट्टै अध्ययन भएको छैन। मिर्गौला बिग्रिँदा पनि उच्च रक्तचाप देखिन्छ। त्यसकारण यो पत्ता लगाउन सकिँदैन। जब मिर्गौला फेल हुन्छ तब मात्र चिकित्सककहाँ जाने चलन छ।
मिर्गौला ढिला गरी बिगार्ने कारणमध्ये मधुमेह तथा उच्च रक्तचाप हो। यी रोगका कारण मिर्गौला पूरै बिग्रिन दशकौं लाग्छ। कसैमा ३५ वर्षको उमेरमा उच्च रक्तचाप देखियो भने अर्को ३५ वर्षसम्म मिर्गौलाले काम गर्छ। तर मिर्गौलाको कार्यक्षमता ह्रास हुँदै गएको हुन्छ। यस्तो अवस्थामा उच्च रक्तचाप नियन्त्रणमा राखेर मिर्गौलाको आयु लम्ब्याउन सकिन्छ। चिकित्सकको सल्लाहबमोजिम नियमित औषधि सेवन गरेर उच्च रक्तचाप नियन्त्रणमा राख्नुपर्छ।

छिटो मिर्गौला बिग्रिने अवस्था
यो मिर्गौलालाई बाह्य या आन्तरिक रोगले आक्रमण गर्ने अवस्था हो। आज ठीक अवस्थामा रहेको मिर्गौला केही दिनमै काम नगर्ने अवस्था हो। झाडापखाला, हैजा, जलवियोजन, शरीरमा संक्रमणबाट सेफसिस भएमा, शरीरमा नुनको मात्रा सकिएमा, निमोनिया, मुटु तथा कलेजो बिग्रिएमा, खानामा विषादी तथा रसायन प्रयोग भएमा, दुखाइ कम गर्ने औषधि प्रयोग गरेमा, अरिंगालले टोकेमा, प्रसूतिका क्रममा बढी रक्तश्राव भएमा मिर्गौलाले एक्कासि काम  गर्न छाड्छ।
चिकित्सकका अनुसार अकस्मात बिगे्रका मिर्गौला उपचारपछि ९० प्रतिशत निको हुन्छ। बाह्य तथा आन्तरिक आक्रमणले मिर्गौैला बिग्रेको अवस्थामा हेमोडायलाइसिस आवश्यक पर्छ।

नेपालमा छिटो मिर्गौला बिग्रिनेको संख्या पनि उत्तिकै छ। यसबाहेक शरीरमा प्रोटिनको मात्रा बढी हुनु पनि मिर्गौला छिटो बिग्रिने कारण हो। दैनिक खसी, बंगुर, राँगाजस्ता जनावरको मासु खाने चलन बढेको छ। यसले शरीरमा प्रोटिनको मात्रा बढी हुन्छ। यसरी प्रोटिनको मात्रा बढी भएमा मिर्गौलामा पत्थरी बन्छ। उक्त पत्थरीको समयमै उपचार भएन भने मिर्गौला बिग्रिन्छ।

यसबाहेक शरीरमा पोटासियमको मात्रा बढी हुँदा पनि मिर्गौला फेल हुन्छ। पोटासियमको मात्रा बढी भयो भने मुटुमा अवरोध सिर्जना हुन्छ। मुटुमा अवरोध भयो भने मिर्गौलामा असर गर्छ। यसकारण कम पोटासियम भएका फलफूलहरू नासपाती, भुइँकटहर, अम्बा, मेवा, स्याउ खानु उचित हुने चिकित्सक बताउँछन्। वंशाणुगत कारणले पनि मिर्गौला बिग्रिन्छ। वंशाणुगत रूपमा आउने पोलिस्टिक ९मिर्गौलामा पानी फोका हुने रोग०ले पनि मिर्गौला बिग्रिन्छ। बुबा वा आमामा पोलिस्टिक छ भने बच्चाहरूमा यो हुने ५० प्रतिशत सम्भावना हुन्छ। यो पनि उपचारले नियन्त्रण गर्न सकिन्छ।

मिर्गौला उपचारको अवस्था
नेपालले दश वर्षयता मिर्गौला उपचारमा फड्को मारेको छ। सन् २००८ मा त्रिवि शिक्षण ९टिचिङ० अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण भएपछि स्वदेशमै मिर्गौला प्रत्यारोपण सम्भव भएको हो। हाल वीर अस्पताल, धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा पनि मिर्गौला प्रत्यारोपण सेवा छ। निजीतर्फ ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा पनि यो सेवा छ। हाल देशभर ५६ वटा उपचार केन्द्रमा हेमोडायलाइसिस सेवा उपलब्ध छ।
धनगढी,सुर्खेत,जनकपुर,वीरगन्ज,तनहुँ,बाग्लुङ,भैरहवा,बुटवल,पाल्पा,पोखरा, विराटनगर, झापा लगायतका स्थानमा हेमोडायलाइसिस सेवा सुरु भइसकेको छ। अहिले धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा मात्र सातामै ६ वटा मिर्गौला प्रत्यारोपण हुन्छ। यहाँ हालसमम ६ सयको हाराहारीमा मिर्गौला प्रत्यारोपण भइसकेको केन्द्रले जनाएको छ। यस्तै त्रिवि शिक्षण अस्पतालमा ५ सय ६५ जनाको मिर्गौला प्रत्यारोपण भइसकेको तथ्यांक छ। मिर्गौला प्रत्यारोपणका लागि सरकारले पाँच लाख रुपैयाँ सहयोग दिँदै आएको छ भने हेमोडायलाइसिस सेवा पनि निःशुल्क गरेको छ।

मिर्गौला बिग्रन नदिन के गर्ने ?
–वर्षमा कम्तीमा एकपटक मिर्गौला जाँच गराउने
– नियमित व्यायाम गर्ने
– मिर्गौलामा कुनै रोग छ भने समयमै उपचार गराउने
– रक्तचाप तथा मधुमेह छ भने नियन्त्रणमा राख्ने
– उच्च प्रोटिन तथा पोटासियम भएका खानेकुरा नखाने
– नुन कम खाने र पानी पर्याप्त पिउने
–दुखाइ कम गर्ने औषधि जथाभाबी नखाने
–मोटोपन हुन नदिने तथा तौल नियन्त्रणमा राख्ने
–कुनै दीर्घरोग छ भने समयमै उपचार गराउने  
–धूमपान–मद्यपान नगर्ने
–बढी चिल्लो चिज तथा फास्टफुड नखाने

मिर्गौला बिग्रेका लक्षण
–पिसाब फेर्न गाह्रो हुनु
– पिसाबमा रगत देखिनु
– पिसाब कम लाग्नु तथा फिँज आउनु
– हात–खुट्टा तथा पेट सुन्निनु
–रक्तचाप बढ्नु
– रक्तअल्पता जस्तो हुनु
– थकाइ लाग्नु तथा कमजोरी हुनु
– वाकवाकी लाग्नु

प्रकाशित: २ चैत्र २०७५ ०२:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App