७ वैशाख २०८१ शुक्रबार
अर्थ

चीनको खुलापनमा नयाँ फड्को

चेतनाथ आचार्य
बेइजिङ - श्वकै ध्यान तानिरहेको वैदेशिक लगानी ऐनलाई चीनको सर्वोच्च विधायकी संस्था राष्ट्रिय जनकंग्रेसले पारित गरेको छ। शुक्रबार बेइजिङस्थित जनबृहत् सभाभवनमा राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान सुले वैदेशिक लगानी ऐनलाई पारित गरियोस् भनी सभासमक्ष प्रस्ताव पेस गरेका थिए। राष्ट्रिय जनकंग्रेसका दुई हजार नौ सय ७० भन्दा बढी प्रतिनिधिले ताली बजाएर सो ऐन पारित गरे। सो ऐन पारित भएपछि चीनले सुधार र खुलापनलाई सम्पूर्ण रूपमा कार्यान्वयन गर्दै जाने अठोट र दृढ विचार पनि प्रस्ट पारेको छ।

बन्द समाज अँगाल्दै आएको चीनले सन् १९७८ देखि खुला हुने नीति अँगालेको थियो। खुलापनको नीति अँगालेको ४० वर्षपछि विदेशी लगानीलाई सहज बनाउन पारित गरिएको ऐन चीनको खुलापनमा नयाँ फड्को बन्न पुगेको छ। १३औं राष्ट्रिय जनकंग्रेसको दोस्रो अधिवेशनले चीनको बजेट, नागरिक अधिकार, सामाजिक विकास, रक्षा बजेटलगायत थुप्रै विषय पारित गरे पनि सबैभन्दा चर्चाको विषयचाहिँ विदेशी लगानी ऐन नै रह्यो। अधिवेशन सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा पनि अधिकांश विदेशी पत्रकारहरूले यही विषयमा प्रधानमन्त्री ली खछ्याङलाई प्रश्न सोधेका थिए।

सन् २०१८ मा विश्व अन्तर्राष्ट्रिय लगानी १९ प्रतिशतले घटे पनि चीनले भने ७ प्रतिशत बढी विदेशी लगानी भिœयाएको थियो। चिनियाँ वाणिज्य मन्त्रालयले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार जनवरीमा चीनले भिœयाएकोे विदेशी पुँजी सन् २०१८ को जनवरीको भन्दा साढे ४ प्रतिशतले वृद्धि भएको छ। चीनमा अमेरिकी लगानी १२४ दशमलव ६ प्रतिशत र हल्यान्डको लगानी ९५ दशमलव ६ प्रतिशतले बढेको छ। चीन र अमेरिकाबीच व्यापारिक द्वन्द्व बढिरहेको अवस्थामा पनि चीनमा अमेरिकी लगानी उल्लेख्य रूपमा बढ्दै आएको छ। अधिक उपभोक्ता, सस्तो श्रम, स्थिर सामाजिक व्यवस्था, उपभाक्ताको क्रयशक्तिमा निरन्तर वृद्धि आदि कारणले चीनमा लगानी गर्न चाहनेहरू लोभिँदै आएका छन्। यस परिवेशमा चीनले पारित गरेको नयाँ ऐनले चीनमा थप विदेशी लगानी भित्रिने वातावरण सुनिश्चित गरेको छ।

शुक्रबार पारित ऐनमार्फत वैदेशिक लगानी प्रवद्र्धन, उचित अधिकार तथा फाइदाको सुरक्षा, वैधानिकीकरण, अन्तर्राष्ट्रिय तथा सुविधाजनक व्यापारिक वातावरण निर्माणका लागि नयाँ चरणको उच्च गुणस्तरीय खुलापनको प्रत्याभूति दिने कुरा समेटिएको छ। चिनियाँ तथा विदेशी पुँजीबाट संयुक्त रूपमा सञ्चालित व्यवसाय नियम, विदेशी पुँजीद्वारा सञ्चालित व्यवसाय नियम र चीन तथा विदेशको सहयोगमा सञ्चालित व्यवसाय नियम उक्त ऐनमा समावेश छन्। यी तीन नियमले चीनमा विदेशी लगानीलाई अझै स्पष्ट रूपमा वैधानिकता प्रदान गरेको छ। चीनमा विगत ४० वर्षयता विदेशी व्यवसायीहरूले कुल नौ लाख ५० हजार व्यवसाय सञ्चालन गरिरहेका छन् र ती व्यवसायमा २० खर्ब अमेरिकी डलरभन्दा बढी लगानी भइसकेको छ।

सन् २०१८ मै राष्ट्रिय जन कांग्रेसले वैदेशिक लगानी कानुनलाई मस्यौदाका रूपमा जनकंग्रेसको स्थायी समितिमा पेस गरेको थियो। चीनले वैदेशिक लगानी ऐन पारित गरेर स्पष्ट रूपमा चीनको राष्ट्रिय वास्तविकता र अन्तर्राष्ट्रिय नियमअनुसार चिनियाँ तथा विदेशी पुँजीको समानता रहने व्यवस्था गरेको छ। अब चीनमा लगानी गर्ने जोसुकै विदेशीले चिनियाँसरह वैधानिक अधिकार प्रयोग गर्न पाउँछन्।

जनकंग्रेसबाट पारित विदेशी लगानीसम्बन्धी ऐनको उद्देश्य वैदेशिक लगानीको प्रवेश, प्रवद्र्धन, सुरक्षा, व्यवस्थाका लागि आधारभूत प्रारूप र नियम निश्चित गर्ने रहेको प्रधानमन्त्री ली खछ्याङले शुक्रबार १३औं राष्ट्रिय जनकंग्रेसको दोस्रो अधिवेशनपछि आयोजित पत्रकार सम्मेलनमा उल्लेख गरे। विदेशी लगानी ऐन पारित भएपछि चीनमा विदेशी व्यवसायको तीव्र गतिले विकास हुने र चीनको नयाँ चरणको उच्च गुणस्तरीय खुलापनको प्रत्याभूति दिने अपेक्षा गरिएको छ। पत्रकार सम्मेलनमा प्रधानमन्त्री लीले बजारको शक्तिलाई उत्साहित गर्ने र बजारको वास्तविकताको रचनात्मकतालाई प्रवद्र्धन गर्ने बताउँदै यसबाट आर्थिक विकास उचित दायरामा राखेर उच्च गुणस्तरीय विकासलाई बढाउन सकिने औंल्याए। चीनको अर्थतन्त्र विश्व अर्थतन्त्रको स्थिरताका लागि महŒवपूर्ण सहारा भइरहने पनि प्रधानमन्त्री लीले उल्लेख गरे।

यो ऐन सन् २०२० को जनवरी १ देखि लागू हुनेछ। सो ऐनले वैदेशिक लगानीका लागि पूर्वाधारको तयारी, प्रवद्र्धन, संरक्षण र व्यवस्थापन आदि विषयबारे एकीकृत रूपमा नियम तोक्नुका साथै वैदेशिक व्यापार लगानीसम्बन्धी चीनको नयाँ ढाँचाको कानुनी व्यवस्थाको आधारभूत प्रारूपलाई पनि निश्चित पारेको छ। ®राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान सूले समापन समारोहलाई सम्बोधन गर्दै ऐनसम्बद्ध धारणालाई व्यवहारमा उतारेर उच्चस्तरीय वैदेशिक खुलापनद्वारा अर्थतन्त्रको उच्च गुणस्तरीय विकासलाई अघि बढाउँदै जाने बताए।

प्रकाशित: २ चैत्र २०७५ ०१:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App