आवरण - वैदेशिक रोजगारीमा महिला

रेमिट्यान्ससँगै भित्रिन्छन् शिशु

शनिबार, ०२ चैत २०७५, ०७ : ०७ रुद्र खड्का

काठमाडौं - पछिल्लो सन्तान हुर्कंदै गरेको देख्दा झापाकी ककुमारी (परिवर्तित नाम) को मन पटक्कै खुसी हुँदैन। बच्चाको अनुहार हेर्दै जाँदा जब विगत सम्झिन्छिन्, उनको तनाव झनै बढ्छ। घरपरिवार र आफन्तले स्वीकृति नदिँदानदिँदै वैदेशिक रोजगारीमा गएकाले कतिपय बेला गल्ती गरिएको पनि लाग्छ उनलाई। वैदेशिक रोजगारीमा जान उनको रहर त कहाँ हो र ?

१० कक्षासम्म अध्ययन गरेकी उनको सकेसम्म स्वदेशमै केही गरौं भन्ने चाहना थियो। स्वदेशमा बस्दा चाहना पूरा हुन नसकेपछि ६ वर्षअघि उनको सहारा बनेको थियो वैदेशिक रोजगारी। त्यही वैदेशिक रोजगारी ककुमारीका लागि ‘ताँवाको माछो भुङ्ग्रोमा...’ परे जस्तै भएको छ। त्यो पनि दुईचार वर्षलाई होइन, जिन्दगीभरिलाई।

आर्थिक अवस्था सुधार गर्न भन्दै विदेश गएकी २७ वर्षीया ककुमारीको वैदेशिक रोजगारीले आर्थिक अवस्था सुधार गर्नुको साटो साहुले जबरजस्ती करणी गरी जन्मेको सन्तानलाई कसरी हुर्काउने भन्ने समस्या थपिएको छ। वैदेशिक रोजगारीमा जानुअघि नै उनका दुई सन्तान भइसकेका थिए।

‘वैदेशिक रोजगारीलाई सुरक्षित गर्न सरोकार राख्ने निकाय गम्भीर नहुँदा महिला जोखिममा पर्ने क्रम रोकिएन ।’

सुखद भविष्य खोज्दै रोजगारीका लागि साउदी अरेबिया गएकी ककुमारीलाई त्यहाँ पुगेको तेस्रो महिनादेखि नै साहुले जबरजस्ती करणी गर्न थालेका थिए। ‘साहुले एकपटक जबरजस्ती करणी गरेपछि घर नफर्कुन्जेल त्यो क्रम जारी रह्यो,’ नागरिकसँगको भेटमा उनले भनिन्, ‘त्यहाँ उसले जे भन्छ, त्यसलाई अस्वीकार गर्नसक्ने अवस्थामा म थिइनँ।’ साउदी पुगेको एक वर्ष पुग्नै लाग्दा पेटमा गर्भ बढिरहेको थाहा पाएपछि साहुले घर निकाला गरेको र पछि सहयोगी संस्थाको सहयोगले स्वदेश फर्कन पाएको उनको भनाइ छ। स्वदेश फर्केपछि पनि उनलाई सहज भएन। साउदीमा साहुले जबरजस्ती करणी गरेका कारण घर फर्काइएकी उनलाई त्यसपछि लोग्नले पनि निकाला गरेका छन्। लोग्नेले निकाला गरेपछि विदेशी बाबुबाट जन्मिएकी छोरी लिएर उनी माइती पुगिन्। अहिले ज्यालादारी कामले गुजारा चलिरहेको छ।

झापा, मेचीनगरकी खकुमारी पनि कोही नयाँ मान्छे भेट्नेबित्तिकै प्रश्न गर्छिन्– पिताले नसकारेका सन्तानको जन्मदर्ता हुन्छ कि हुँदैन, नागरिकता प्राप्त गर्न सक्छ कि सक्दैन रु २०७१ मा कुबेत गएकी खकुमारीका लागि वैदेशिक रोजगारी असफलमात्र भएन, अर्को संकट जन्माएको छ। जुन समस्याले गर्दा पछिल्लो चार वर्षदेखि दैनिकजसो उनका आँखाबाट आँसु निस्कने गरेका छन्। आँखाबाट निरन्तर बगिरहने आँसु कसरी रोक्न सकिएला, अहिलेसम्म उनले भेउ पाउन सकेकी छैनन्।

गाउँमा रहँदा पतिसँगको सम्बन्ध बिग्रेपछि दुई छोरीको पढाइ र आफ्नो गुजाराका लागि कुबेत गएकी खकुमारीलाई घरमालिकको छोराले जबरजस्ती करणी गर्दा साढे दुई वर्षअघि विदेशमै छोरी जन्मिएकी थिइन्। ‘कुबेत गएको केही हप्तामै घरमा कोही नभएको मौका छोपी साहुको २० वर्षीय छोराले बलात्कार ग¥यो,’ उनले भनिन्, ‘बलात्कारबाट गर्भ बसेछ।’ साहुको छोराले चारपटकसम्म बलात्कार गर्दा सहेकी उनले पटकपटक सोही क्रियाकलाप भोग्न थालेपछि बाध्य भएर घर छाडेको बताइन्।

‘त्यो घर छाड्दा पेटमा तीन महिनाको गर्भ भइसकेछ,’ उनले भनिन्, ‘त्यति बेलासम्म चार पटक बलात्कृत भए पनि गर्भ रहेको भने यकिन भइसकेको थिएन।’ साहुको छोराको अत्याचारबाट मुक्ति पाउन काम गरिरहेको घर छाडेर अर्को घरमा काम गर्न पुगेकी उनले बलात्कृत भएको चार महिनापछि मात्र सबै कुरा थाहा पाएको बताइन्।

चार महिनापछि पेटमा गर्भ रहेको यकिन भयो अनि उनले गर्भ तुहाउने औषधि खाइन्। ‘टाउको दुःखेको बहानामा गर्भ निकाल्ने औषधि खाएँ’, उनले भनिन् करिब दुई महिना गर्भ निकाल्ने औषधि खाएपछि गीताले समस्या समाधान भएको ठानेको बताइन्। ‘भगवानको खेल भनौं कि परिस्थिति नै, दोस्रो घरमा काम गरिरहँदा त्यो परिवार कुबेतबाट काम विशेषले साउदी जाने भयो। मलाई चाहिँ साउदी जान इच्छा भएन’, उनले भनिन्। साउदी नजाने भएपछि नेपाली दलालले खोलेको सम्पर्क कार्यालयमा पुगेको उनले बताइन्।

सोही सम्पर्क कार्यालयबाट तेस्रोपटक काम खोज्दै गर्दा छोरी जन्मिएको उनको भनाइ छ। ‘पहिलो र दोस्रो मालिककोमा घरेलु काम गर्दा नौ महिना पुगिसकेको थियो,’ खकुमारीले भनिन्, ‘बलात्कार भएको नौ महिना भए पनि औषधी सेवन गरेकाले गर्भपतन भएको अनुमान गरेकी थिएँ। तर मेरो अनुमान गलत भयो। बलात्कार भएको नौ महिनामा छोरी जन्मी।’ दलालकै सम्पर्क कार्यालयमा छोरी जन्मिएपछि गीतालाई नर्स र डाक्टरको टोलीले अस्पताल पु¥याएको थियो। केही दिन अस्पताल र केही दिन नेपाली दूतावासको आश्रयमा बसेपछि उनी घर फर्केकी थिइन्। ‘जीवनमा कहिलेकाहीं कल्पना गरेभन्दा निकै फरक अवस्था आउँदोरहेछ,’ उनले भनिन्, ‘न मैले चाहेर गर्भ बोकेकी हुँ। न छोरी जन्माउने र नेपाल ल्याउने इच्छा नै थियो। तर सबै मैले नचाहँदा नचाहँदै भयो, त्यसको पीडा भोग्दैछु।’

यतिखेर खकुमारीलाई विभिन्न परिस्थिति भोग्दै घरसम्म ल्याइपु-याएकी छोरीलाई जन्मदर्ता गरी कसरी लालनपालन गर्ने भन्ने चिन्ताले सताइरहेको छ। उनले दुई वर्ष कुबेतमा बस्दा चारपाँच महिनाको मात्र पारिश्रमिक पाएको बताइन्। ‘न वैदेशिक रोजगारीबाट कमाउन सकें न घरमा छोरी र आफ्नो गुजारा गर्न सक्ने उपाय नै छ,’ उनले भनिन्, ‘श्रीमान्सँग पनि राम्रो सम्बन्ध छैन।’ उनले गाउँमै मजदुरी गरेर यसअघिका दुई र कुबेती नागरिकबाट जन्मिएकी छोरीको समेत गुजारा चलाइरहेको बताइन्।

वैदेशिक रोजगारीमा गएर जीवन सुधार गर्ने लक्ष्य लिए पनि नसोचेको नतिजा बेहोर्ने अर्की महिला हुन्– दोलखाका गकुमारी। संयुक्त अरब इमिरेट्सको दुबईमा काम गर्दा त्यहाँ भेटिएका एक नेपाली युवकसँग शारीरिक सम्पर्क राख्दा उनी गर्भवती भएकी हुन्। घरेलु कामदारको रूपमा साढे तीन वर्षअघि दुबई गएकी उनले अघिल्लो वर्ष त्यहीं शिशु जन्माएकी थिइन्। दुबईमै शिशु जन्मेपछि ती युवा भने यतिखेर सम्पर्कविहीन छन्। उनलाई ती युवाको घरठेगानासमेत थाहा छैन। राम्रोसँग परिचय हुन नपाउँदै ती युवासँग यौन सम्पर्क राखेपछि जन्मिएको शिशुलाई अब कसरी हुर्काउने, बढाउने र खर्चको जोहो गर्ने भन्ने समस्या उनका अगाडि छ। वैदेशिक रोजगारीमा जानुअघि नै दुई छोराछोरीलाई जन्म दिइसकेकी गकुमारीलाई पहिले नै जन्मिसकेका सन्तानलाई हुर्काउने जिम्मेवारी पनि छँदैछ।

उनका लागि यतिखेरको मुख्य समस्या पहिलाका दुई र पछिल्लो सन्तानको अध्ययनको व्यवस्था कसरी मिलाउने भन्ने हो। आर्थिक अवस्था कमजोर भएका कारण वैदेशिक रोजगारीमा गएकी गकुमारीले त्यहाँ गर्भवती हुँदा र बच्चा जन्माउनुपरेकाले कमाउन पनि सकिनन्। आफू वैदेशिक रोजगारीमा रहँदा काठमाडौंमा रिक्सा चलाइरहेका पतिको मृत्यु भएपछि गाउँ फर्केकी उनले छोरीको पिता आफ्नै लोग्ने भएको बताउँदै हिँडे पनि आफैंलाई भने ढाट्न सकेकी छैनन्। समाजलाई छोरीको पिताको रूपमा मृत्यु भइसकेको लोग्ने बताउनुपर्दा उनलाई निकै आत्मगलानि पनि हुन्छ। छोरीको जन्मबारे यथार्थ खुलाउने हो भने समाजले झनै अत्याचार गर्ला भन्ने उनको आशंका छ। वैदेशिक रोजगारीमा जानुअघि जन्मिएका दुई छोरा, आफू र विदेशमा जन्मिएकी छोरीको भविष्यका लागि विदेशमा गर्भवती हुनुपरेको घटना लुकाउने गरेको उनी बताउँछिन्।

सुनौलो जीवन बिताउने अभिलाशामा वैदेशिक रोजगारीमा जाने महिला विदेश पुगेपछि मानसिक, आर्थिक मात्र नभई शारीरिक शोषणमा समेत पर्ने गरेको पाइएको छ। शारीरिक शोषणमा परेका कतिपय महिलाले सन्तान जन्माउनुपर्दा त्यस्ता सन्तानलाई कसरी हुर्काउने भन्ने समस्याले विकराल रूप लिने खतरा बढेको छ।

वैदेशिक रोजगारीमा गएका महिला समस्यामा परी फर्कंदा सेल्टर तथा परामर्श सेवा दिने गरेको पौरखी नेपालकी सचिव सत्रकुमारी गुरुङ वैदेशिक रोजगारीलाई सुरक्षित गर्न सरोकार राख्ने निकाय गम्भीर नहुँदा महिला जोखिममा पर्ने क्रम नरोकिएको बताउँछिन्। सन् २००९ यता पौरखीले वैदेशिक रोजगारीको क्रममा पीडित भएका दुई हजार पाँच सय महिलालाई आश्रय प्रदान गरेको छ। गुरुङका अनुसार तीमध्ये २३ जना विदेशमा जन्मिएका शिशुसँगै फर्केका हुन् भने ४६ जना गर्भवती भएर फर्केका थिए। विदेशमा गर्भवती भएर र सन्तानसँगै फर्केका अधिकांशको अवस्था दयनीय छ। उनीहरुलाई दैनिक गुजारामा समस्या परिरहेको छ।

‘वैदेशिक रोजगारीको क्रममा पीडित हुने महिलाको संख्याको तुलनामा पौरखीले दिने सेल्टर र सहयोग समुद्रको एक थोपा पानीजस्तै हो,’ गुरुङले भनिन्। वैदेशिक रोजगारीको क्रममा पीडित हुनेमध्ये कतिपयले घटना लुकाउने, कतिपयले आफन्तकोमा आश्रय लिने गरेका छन्। श्रमविज्ञ गणेश गुरुङ वैदेशिक रोजगारीमा जानेलाई पर्याप्त प्रशिक्षण दिन नसकेका कारण समस्या बढिरहेको बताउँछन्। ‘वैदेशिक रोजगार बोर्डसँग पाँच अर्ब रुपैयाँ हाराहारीको कोष छ,’ उनले भने, ‘कामदारबाट संकलन भएको त्यो रकम उनीहरुको तालिम र हितमा खर्च हुनुपर्छ।’ दुई वर्षअघि व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्देशनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले महिलालाई खाडी मुलुकमा घरेलु काममा जान रोक लगाएको थियो। तर पनि चोर बाटो हुँदै विदेश पस्ने गर्दा झनै जोखिम बढेको भुक्तभोगीको भनाइ छ।

वैदेशिक रोजगारीमा गएका महिला र विदेशी बाबुबाट जन्मेका उनीहरुका सन्तान समाजमा समायोजन गर्न निकै कठिन छ। पौरखीकी सचिव गुरुङले कानुनले लिंगको आधारमा विभेद गर्न नहुने व्यवस्था गरे पनि सरकारले विभेद गर्दा महिला थप पीडामा परेको बताइन्। ‘महिलालाई स्वतन्त्रतापूर्वक आवागमनमा रोक लगाइँदा खुलारूपमा जानकारी लिन गाह्रो भएको र चोर बाटो प्रयोग गर्नुपर्दा जोखिम बढिरहेको हो,’ उनले भनिन्। तत्कालीन श्रम समितिले श्रम सम्झौता नगरी गन्तव्य मुलुकमा महिलालाई घरेलु कामदारको रूपमा नपठाउन निर्देशन दिएको थियो। यो निर्देशनपछि पनि सरकारले रोजगारीका लागि महिला जाने गन्तव्य मुलुकसँग श्रम सम्झौता गर्न सकेको छैन।

सरकारले म्यानपावरमार्फत विश्वका एक सय १० देश ९हाल दुई बन्द० र व्यक्तिगत तवरले एक सय ७२ देशका लागि श्रम स्वीकृति दिने गरेको छ। तर श्रम सम्झौता भने आठ देशसँग मात्र भएको छ। श्रम सम्झौता नहुँदा गन्तव्य मुलुकका सरकारले नेपाली श्रमिकलाई कानुनी रूपमा नचिन्ने र समस्यामा पर्दा बेवास्ता गर्ने गरेको यस क्षेत्रका विज्ञ बताउँछन्। श्रम विज्ञ तथा अधिवक्ता सोम लुइँटेल विदेशी बाबुबाट जन्मेका सन्तानलाई नेपाली नागरिकता प्राप्त गर्न गाह्रो हुने भएकाले भविष्यमा आउने समस्याप्रति बेलैमा गम्भीर हुनुपर्ने बताउँछन्। उनले गन्तव्य मुलुकमै पुगेर विदेशी बाबुबाट जन्मेका सन्तानको नाता कायम गर्नेदेखि लिएर सचेतना दिनेसम्मका काममा ढिला गर्न नहुने सुझाव दिए।वैदेशिक रोजगारीका क्रममा अवैध शारीरिक सम्बन्धका कारण सन्तान जन्माएका अधिकांश महिलाले शारीरिक सम्बन्ध राख्नेसँग क्षतिपूर्ति लिन सकेका छैनन्। यसो हुनुमा जनचेतना अभाव र आर्थिक संकट मुख्य कारण मानिएको छ।

‘बालबालिका राज्यविहीन अवस्थामा छन्’

मञ्जु गुरुङ
अध्यक्ष, पौरखी

विद्यमान कानुनले वैदेशिक रोजगारीका क्रममा जन्मेका बालबालिकाले नागरिकता प्राप्त गर्नेबारे केही बोलेको छैन। आमाको नामबाट नागरिकता पाउने भनिए पनि त्यसका लागि बालबालिका नेपालमै जन्मेको हुनुपर्ने कानुनी प्रावधान छ।

विदेशमा जन्मेका बालबालिकाले नागरिकता पाउन सक्ने कानुन नभएका कारण ती बालबालिका राज्यविहीन अवस्थामा छन्। उनीहरुको अधिकारबारे ध्यान दिनुप¥यो। त्यस्तै वैदेशिक रोजगारीको क्रममा महिला पीडित हुनुको अर्को कारण उनीहरूको सहज आवागमनमा रोक लगाइनु हो। पछिल्लो दुई वर्षयता खाडी मुलुकमा महिलालाई घरेलु कामका लागि जान रोक लगाइएको छ।

वैधानिक तवरले जान रोकिएपछि कैयन महिलाले चोर बाटो समात्नुपर्दा त्यसले झनै जोखिम बढाएको छ। जसले विदेश जाँदा गैरकानुनी बाटो समातेका छन्, त्यस्ता महिला पीडित हुँदा कानुनी उपचार खोज्ने सम्भावना झन् कम हुन्छ। महिलालाई लगाइएको प्रतिबन्ध फुकुवा गर्दैमा सबै समस्या समाधान भइहाल्छ भन्नेचाहिँ होइन। प्रतिबन्ध फुकुुवाले महिलालाई वैदेशिक रोजगारीबारे बुझ्न, जान्न सहज हुन्छ। त्यस्तै सरकारले वैदेशिक रोजगारीमा जाने महिलालाई सशक्तीकरण गर्न त्यत्तिकै आवश्यक छ। वैदेशिक रोजगारीमा किन जाने भन्नेबारे बुझाउन सकियो भने महिलामाथि हुने जोखिम निकै कम हुन्छ। साथै महिला रोजगारीमा जाने मुलुकसँग सरकारले महिलामैत्री श्रम सम्झौता गर्नुपर्छ। श्रम समझदारी नभएका मुुलुकमा चोर बाटो हुँदै जानुपर्दा महिला बढी समस्यामा परेका हुन्। त्यसरी गएका महिलालाई विदेशमा जसले जे पनि गर्न सक्छन्।

नेपाली महिलाका लागि अर्को समस्या समाजले हेर्ने दृष्टिकोण हो। महिला भनेका अर्काको संरक्षणमा रहने, बुद्धि नभएका हुन् भन्ने मानसिकता त्याग्नुपर्छ। अनि मात्र महिलामाथि हुने विभेद अन्त्य हुन्छ र महिलाको आत्मबल बढ्छ। महिलामाथि हुने जोखिम कम गर्न सशक्तीकरण नै महत्वपूर्ण उपाय हो भन्नबारे सबैको ध्यान जान जरुरी छ। सशक्त र सक्षम महिला संसारको जुन कुनामा पुगे पनि समस्यामा पर्दैनन्।







यसमा तपाईको मत


अन्य समाचार

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL)
संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL) संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (SAIL)द्वारा एक कार्यक्रम बीच सम्मानित भएको छ । यही मे...

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्वेश्यका साथ् राष्ट्रीय स्तरको "ख" वर्गको ओम डेभलपमेन्ट बैंक लिमिटेड "क"...

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोनको ब्याट्रीलाई धेरै वर्षको प्रयोग पछि पनि राम्रो टिक्ने कसरी बनाउने ? ...