६ वैशाख २०८१ बिहीबार
अर्थ

व्यापार घाटा बढ्यो

काठमाडाैं- चालू आर्थिक वर्षको सात महीनामा कूल वस्तु व्यापार घाटा २७ दशमलव एक प्रतिशतले वृद्धि भएको छ। व्यापार घाटा बढेर रु सात खर्ब ८० अर्ब १७ करोड पुगेको छ। 

नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महीनाको विवरणमा व्यापार घाटा बढेको उल्लेख गरेको छ। सो अवधिमा कूल वस्तु आयात २६ प्रतिशतले बढेर रु आठ खर्ब ३३ अर्ब २७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८ दशमलव नौ प्रतिशतले बढेको थियो। 

आधारमा भारतबाट भएको आयात २४ दशमलव आठ प्रतिशत, चीनबाट ३६ दशमलव छ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २३ दुई प्रतिशतले बढेको छ। पेट्रोलियम पदार्थ, एमएस बिलेट, हवाईजहाज तथा पार्टपुर्जा, तयारी पोशाक, अन्य मेशिनरी तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ भने दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारीलगायतका वस्तुको आयात घटेको छ। 

बैंकका अनुसार चालू आवको सात महीनामा कूल वस्तु निर्यात ११ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु ५३ अर्ब आठ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२ दशमलव नौ प्रतिशतले वृद्धि भएको थियो। 

यस्तै भारततर्फ २१ दशमलव एक प्रतिशत र अन्य मुलुकतर्फ एक दशमलव चार प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ३१ दशमलव एक प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, दलहन, जडीबुटी, ऊनी गलैँचा, जुटका सामानलगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, छाला, रोजिन, जुत्ता तथा चप्पल, आयुर्वेदिक औषधिलगायतका वस्तुको निर्यात घटेको छ। 

निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालयबाहेकका भन्सार नाकाबाट भएको निर्यातमा वृद्धि भएको छ। त्यसैगरी, कञ्चनपुर भन्सार कार्यालयबाट भएको आयात घटेको छ भने अन्य सबै नाकाबाट भएको आयातमा वृद्धि भएको छ। 

शोधान्तर स्थिति ४९ अर्ब घाटामा 

बैंकको विवरणअनुसार चालू आवको सात महीनामा शोधान्तर स्थिति रु ४९ अर्ब ३२ करोडले घाटामा रहेको छ। चालू खाता घाटा विस्तार भई रु एक खर्ब ६६ अर्ब २४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु एक खर्ब ४२ अर्ब नौ करोड रहेको थियो। 

अमेरिकी डलरमा अघिल्लो वर्षको सात महीनामा रु एक अर्ब ३८ करोड रहेको चालू खाता घाटा समीक्षा अवधिमा रु एक अर्ब ४६ करोड पुगेको छ। समीक्षा अवधिमा शोधनान्तर स्थिति रु ४९ अर्ब ३२ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु १८ अर्ब २८ करोडले घाटामा थियो। अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको सात महीनासम्ममा १७ करोड ९१ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ४३ करोड ३० लाखले घाटामा रहेको छ। 

समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर रु सात अर्ब ४३ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु पाँच अर्ब १५ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु १० अर्ब ६४ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु १४ अर्ब ३४ करोड रहेको थियो। 

कूल विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु ११ खर्ब दुई अर्ब ५९ करोड रहेकोमा गत माघ मसान्तमा घटेर रु १० खर्ब ७८ अर्ब ३६ करोड कायम भएको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा रु १० अर्ब आठ करोड रहेकोमा गत माघ मसान्तमा रु नौ अर्ब ४९ करोड रहेको छ। कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु नौ खर्ब ८९ अर्ब ४० करोड रहेकोमा गत माघ मसान्तमा रु नौ खर्ब ३७ अर्ब ३५ करोड रहेको छ। 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु एक खर्ब तीन अर्ब १९ करोड रहेकोमा गत माघ मसान्तमा रु एक खर्ब ४१ अर्ब पुगेको छ। गत माघ मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ। रासस

प्रकाशित: १ चैत्र २०७५ १४:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App