७ वैशाख २०८१ शुक्रबार
समाज

विप्लव माओवादीको निसानामा जनप्रतिनिधि

जुम्ला – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा जुम्लाले जनप्रतिनिधिलाई निसाना बनाउने भएको छ। विकासमा आएको बजेट दुरुपयोग गर्नुका साथै अनियमितताको नेतृत्व गरेको भन्दै जनप्रतिनिधि विप्लवको पहिलो निसानामा परेका हुन्।

विप्लव नेतृत्वको नेकपा जुम्लाका इन्चार्ज चन्द्रबिर तिरुवाले अहिले स्थानीय सरकारले गर्ने कार्य जनता विरोधी भएकोले त्यो आफ्नो पार्टीलाई सह्य नहुने बताए। उनले भने,“भ्रष्ट जनप्रतिनिधिको सुची बनाइरहेका छौँ। छिट्टै त्यो सुची सार्वजनिक गरेर कारवाही प्रक्रिया अघि बढाउने छौं।

त्यो कारवाहीले जनतासंगको सम्बन्धलाई अझ बलियो बनाउँदै लाने विश्वास छ।” उनले थपे,“अहिले जनप्रतिनिधिले सामुहिक स्वार्थलाई अघि बढाउन नसकेको र कमिसनको दलदलमा फसेर विकास विरोधी क्रियाकलापमा संलग्न देखिएको पाइएकोले यो कार्य निकै निन्दनिय छ।”

गाउँबस्तीमा पुगेर जनतासँगको साक्षात्कारमा भ्रष्ट जनप्रतिनिधिको सुची तयार भइरहेको बताउँदै उनले अहिलेको वास्तविक लुटेरा भनेकै जनप्रतिनिधि भएको दाबी गरे। उनले जनताको नजरमा आफूहरू जनताको कुशल सहयात्री सावित भइरहेको बताउँदै उनले भने,“जनताको मुक्ति महाअभियानमा सामेल पार्टीलाई लुटेरा समूहको रुपमा घोषित गर्ने सरकार नै भ्रष्टाचारको संरक्षक हो।

यो सरकारले अघि सारेका जनविरोधी कार्यलाई गाउँसम्म पुग्न दिँदैनौं। गाउँमा आफ्नै प्रकारको सत्ता सञ्चालन गर्छौं।” जिल्लामा जनतासंग रहेर जनविरोधी तत्वलाई बढार्ने र जनताको आकांक्षासंग एकाकार भएर अघि बढ्ने रणनीति जिल्ला समिति जुम्लाले अख्तियार गरेको तिरुवाले बताए। 

 

प्रकाशित: १ चैत्र २०७५ ०८:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App