coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

तयारी नगराउँदा निगमलाई ७० लाख घाटा

काठमाडौं - नेपाल वायुसेवा निगमले वाइड बडी एयरबसका लागि तालिममा पठाएका दुई पाइलट परीक्षामै असफल भएका छन्। बोइङ ७३७ का पाइलट राजन मानन्धर र सन्तोष शर्मालाई निगमले वाइड बडी विमान उडाउनको लागि तालिम गर्न सिंगापुर पठाएको थियो।

नेपालमै प्रशिक्षक पाइलटले तालिम गराएर परीक्षा लिएपछि मात्रै तालिममा पठाउनुपर्ने हुन्छ। तर, निगमले तालिम तथा परीक्षाबिनै मानन्धर र शर्मालाई तालिममा पठाउँदा उनीहरु असफल भएर फर्किएका छन्। मानन्धर र शर्मा जनवरी १४ का दिन तालिमको लागि सिंगापुर गएका थिए। परीक्षामा सामेल हुँदै असफल भएपछि उनीहरु फर्किएका हुन्। निगमका सहप्रवक्ता नवराज कोइरालाले तालिममा पठाएका शर्मा र मानन्धर असफल भएको बताए। तर, तयारी नगराएको तथा नजिकको व्यक्ति पठाएको उनले स्वीकारेनन्। ‘खास त्यस्तो तयारी गर्नुपर्ने केही हुन्न, त्यहाँ गएर कक्षा लिने हो,’ कोइरालाले भने, ‘यहाँ तालिम तथा परीक्षा नगरी पठाउँदा उहाँहरु सक्सेस नभएको भने होइन।’ तालिममा पठाउँदा पनि कुनै पक्षपात नभएको उनले दाबी गरे।

स्रोतको दाबी अनुसार निगमकै लापरबाहीको कारण उनीहरु वाइड बडी ३३० विमान उडाउनको लागि गरिने तालिममा असफल भएका हुन्। जसले गर्दा निगमले ७० लाखभन्दा बढी गुमाउनुपरेको छ। यो स्ट्यान्डर्ड तालिम हो। यो तालिम अत्यधिक महँगो हुन्छ। ४० दिनको तालिमको लागि प्रतिव्यक्ति ३५ हजार डलर शुल्क लाग्छ। दुईजना असफल हुँदा निगमले ७० लाख रुपैयाँभन्दा बढी गुमाउनु परेको दाबी स्रोतको छ। निगमका सहप्रवक्ता कोइरालाले भने उक्त तालिमको खर्चबारे आफूलाई जानकारी नभएको बताए।

वाइड बडी खरिद गर्दा एअर बस कम्पनीले पाइलटलाई तालिम लिनको लागि निश्चित कोटा उपलब्ध गराएको थियो। शर्मा र मानन्धरलाई सोही कोटामा तालिम लिन पठाइएको थियो। तालिममा सहभागी भएर असफल भए पनि कोटा काटिने व्यवस्था छ। त्यसो हुँदा निगमले एक व्यक्ति असफल हुँदा ३५ हजार डलर घाटा खानुपर्ने हुन्छ। त्यसैगरी, निगमले एअर बस ३२० को कमान्ड तालिममा पठाएका राजेश कुशवाहा पनि असफल भएका छन्। उनीसँगै गएका सञ्जय वैद्य भनेसफल भएर हाल तालिम लिइरहेका छन्। यो तालिम इन्डोनेसियामा हुन्छ। तालिम निगमले आफ्नै स्रोतबाट गराएको हो। एकजना पाइलटलाई तालिमको व्यवस्था गर्दा १६ देखि २० हजार डलरसम्म खर्च हुने गरेको निगमले जनायो। तालिम शुल्क  अग्रिम बुझाउनुपर्ने हुन्छ। सोही कारणले गर्दा तालिममा सफल नहुँदा निगमलाई घाटा लाग्ने स्रोतको भनाइ छ।

स्रोतको दाबी अनुसार निगमले साना विमानबाट ठूला विमानमा पाइलटलाई पदोन्नति गर्दा ‘राम्रालाई भन्दा हाम्रालाई’ प्राथमिकता दिने गरेको छ। जसले गर्दा पालो कुरेर बसेका पाइलटहरु निराश हुने र जुनियर पाइलटहरु तालिममा सहभागी गराएर पदोन्नति गराउने प्रवृत्ति निगममा छ। त्यसैको परिमाणस्वरुप तालिममा सहभागी पाइलट असफल हुने गरेको स्रोतले बतायो। अर्कोतिर मनलागी ढंगबाट तालिममा पठाउँदा पाइलटबीच विवाद समेत हुने गरेको छ। दुई महिनाअघि मात्रै वाई१२ई जहाजका एक पाइलटलाई एअरबस २३० उडाउने तालिममा पठाएपछि बाँकी पाइलटले विरोध जनाएका थिए। यसैकारण जनवरी ३० देखि थन्किएका वाई१२ई चार थान विमान निगमले अझै उडाउन सकेको छैन।
 

प्रकाशित: १ चैत्र २०७५ ०६:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App