coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

सहयोगको याचना

धादिङ, तिप्लिङकी रोमी सेठी र दिलबहादुर दुधराज (१९) यति बेला थापाथलीको सुकुमबासी बस्तीमा दलमर्दन कामीको छाप्रोमा छन्। सानो छाप्रो, छाप्रोको एउटा कोठामा बच्चा भुलाउँदै गरेको जोडी सहयोगको आशमा छन्। काखमा १ किलो, ३ सय ग्रामको बच्चा लिएर सहयोगको अपेक्षामा रहेका यी जोडीसँग घर फर्किन समेन पैसा छैन। एक वर्ष ४ महिना अगाडि बा–आमाले भनेर विवाह बन्धनमा बाधिएका उनीहरू यति बेला सानी छोरी बचाउन सहयोगी मनको प्रतीक्षारत छन्। 

दिलबहादुरले गाउँमा खेतीपातीसँगै आरनको काम गर्थे। ३ दाजु भए पनि सबैले आफ्नो गरी खाएको र उनी बा–आमासँग बस्ने गरेको बताए। घरमा बा–आमालाई एक्लैले सहयोग गर्न गाह्रो भएपछि उहाँहरूकै सल्लाह अनुसार विवाह गरेको उनी बताउँछन्। घरमा मिलेर काम सघाउने र बा– आमालाई पालेका उनी अहिले आफू र श्रीमतीलाई कसरी पाल्ने भनेर सोचेर बस्न बाध्य छन्।

‘हातमा कुनै सीप छैन, यत्रो दिनसम्म केही काम गरेर भए पनि छोरीलाई लुगा किन्ने, सुत्केरी श्रीमतीलाई खानेकुरा ख्वाउँनथे,’ उनले भने। धादिङबाट हिँडेर तीन दिनमा पुगिने उनको गाउँमा उपचार सम्भव नभएपछि स्थानीय अस्पतालका डाक्टरले काठमाडौं लैजाने सल्लाह दिएपछि काठमाडौं आएको उनले बताए। धादिङबाट पहिलो पटक काठमाडौं आएका दुधराज भन्छन्, ‘तीन दिनसम्म पैदल हिडेर मात्र घर पुगिन्छ, यस्तो बिरामी त्यसमाथि सुत्केरी श्रीमती लिएर कसरी जानु ?’  

बिरामी श्रीमती लिएर दाजुसँग आएका उनी अहिले छोरी र आमालाई राख्ने र खाना खुवाउने पिरलोमा छन्। केही दिन सुकुम्बासी बस्तीमा बस्न र खान दिएपछि अहिलेसम्म काठमाडौंमा टिकेको उनी बताउँछन्। ‘घरबाट काठमाडौं आएको त मलाई सपना जस्तै लागेको छ,’ उनले भने। अस्पतालमा बस्दा सबैसँग मागेर खाना खाएको उनले दुखेसो पोेखे। अस्पतालबाट डिस्चार्ज भएपछि बस्ने बास र खाने गाँसको टुंगो नभएपछि सुकुम्बासी बस्तीका नरेन्द्र सिवाकोटी र दलमर्दन कामीले सहयोग गरेको उनले बताए। केही दिन ज्यामी काम गर्न पाए भने छोरी र श्रीमती ठिक भएपछि घर जाने उनी बताउँछन्। ‘घरमा बूढा बा–आमा छन्, आमाले आँखा देख्दिनन्, बाउँ बुढा छन्, घरमा के कसो गरेका होलान्,’ भक्कानिँदै उनले भने। 

धादिङका यी दम्पति काठमाडौं आएको २९ दिन भइसक्यो। सानै उमेरमा प्रेसरले ग्रस्थ भएकी रोमी, शरिर फुलेर बेहोस भएपछि स्थानीय अस्पतालमा उपचार गर्न नसक्ने बताएपछि काठमाडौं ल्याइएको हो। धादिङ स्वास्थ्य चौकीका डाक्टरले गम्भीर केस छ, उपचार गर्न सकिँदैन भनेपछि स्थानीय सहयोगबाट हेलिकप्टरमा राखेर थापाथली प्रसूतिगृह ल्याएको दिलबहादुर बताउँछन्। 

सानो उमेर त्यसमाथि पोषण तत्वको कमी भएकी रोमीले छ महिना एक दिनकी छोरीलाई जन्म दिएकी हुन्। बच्चा निकै कम्जोर भएकाले रोमीलाई रातदिन बच्चाको पिर लाग्छ। आर्थिक अभाबका कारण पोसिलो खानेकुरा खान नपाएपछि बच्चालाई समेत स्याहार गर्न नसकेको उनी बताउँछिन्। स्तनपान गराउँदै रोमी भन्छिन्, ‘बिहान बेलुकी चिसो छ, दिनमा चिसो बतास चल्छ यो छोरीलाई लगाइदिने लुगा छैन, राम्रोसँग दुध पनि आउँदैन, शरीर कमजोर भएकाले बच्चा पनि कमजोर छ, पोसिलो खान मन छ के गर्नु पैसा छैन।’

घरसम्म जाने खर्च जुटाउन सके घर फर्किने दिलबहादुर बताउँछन्। श्रीमती बिरामी भएपछि थापाथली प्रसूति गृहमा उपचार गराइरहेको उनी बताउँछन्। आफू जसरी अलपत्र भएर बस्न कसैलाई नपरोस् भन्दै दिलबहादुर भन्छन्, ‘सहयोगी मनलाई जति सकिन्छ त्यति सहयोगको लागि ९८६९५२७५६९ फोन गरी हामीलाई हाम्रो घर जान सहयोग गरिदिनु होला।’ 

 

प्रकाशित: १ चैत्र २०७५ ०५:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App