मरुभूमी बन्दैछ उपत्यका

शुक्रबार, ०१ चैत २०७५, १० : ३६ शिवहरि घिमिरे  | @shivsamir

1046


बाहिरी समुदायको तीव्र बसाइँसराई र अव्यवस्थित सहरीकरणका कारण आधा शताब्दी नबित्दै काठमाडौं उपत्यका मरुभूमी बन्दैछ। ४०–४५ वर्ष अघिसम्म ७० प्रतिशतभन्दा बढी खुला देखिने उपत्यका अहिले कंक्रिट भवनले ढाकिने अवस्थामा छ। यही कारण बितेका ३०–४० वर्षको अवधिका उपत्यकाले धेरैजसो हरियाली र खुलापन गुमाएको अनुमान विज्ञहरूको छ। सहरी विकासविद् तथा पूर्वाधारविद् सुरेशराज आचार्यले उपत्यकाभित्र सहर आश्चर्यजनक किसिमबाट कंक्रिटका भवन भरिँदै गएको जानकारी दिए। उनले उपत्यकामा हरियाली र खुला ठाउँ अत्यन्तै थोरै रहेको बताए।

‘काठमाडौं धनी मान्छे बस्ने सुकुम्बासी बस्ती बन्दै गएको छ, यसलाई हामीलाई कुनै पनि हालतमा राम्रो गर्दैन,’ उनले भने, ‘नगरपालिकाले पनि यसलाई नियन्त्रण गर्न सकेनन्, सहरवासी सबैको ध्यान भौतिक सम्पन्नताको मापक नै कंक्रिटको भवन हो भन्ने बन्यो, त्यसैले सहर पूरै मरुभूमि जस्तै बन्न पुगेको हो।’ उनका अनुसार संसारका अरु मुलुकको अभ्यासलाई हेर्दा पनि प्रमुख अवयव हरियालीलाई नै मानिएको हुन्छ। हामीकहाँ विकास निर्माणका काम गर्दैगर्दा दीर्घकालीन सोच अबलम्वन नगर्दा र हरियालीलाई प्राथमिकतामा नराख्दा सहरको पर्यावरणीय अवस्था बिग्रदै गएको हो।

‘विदेशी मुलुकले भवन बनाउनु भन्दा अगावै भवनको बाहिरी पक्षमा ध्यान दिन्छन्, हामीकहाँ टल्कने भवन भएपछि, हावापानी, हरियाली, धुवाँधुलो जे भएपनि मलतब राखिँदैन,’ उनले थपे, ‘अहिले पनि उपत्यकाभित्रका केही नयाँ बस्तीहरुमा सहरीकरणको काम सुरु भइरहेको छ, कम्तीमा अब बन्ने बस्तीलाई सबैतर्फबाट ध्यान दिएर विकास गरियोस्, सहरी सुन्दरता र सहरीपन भत्कन नदिइयोस्।’ जथाभावी प्राकृतिक स्रोतको दोहन र पर्यावरण बचाउने सन्दर्भमा सरकारी निकायले खासै चासो नदिँदा यस्तो समस्या आएको उनको निष्कर्ष छ।

‘४०–४५ वर्षअघिसम्म ७० प्रतिशतभन्दा बढी खुला देखिने उपत्यका अहिले कंक्रिट भवनले ढाकिने अवस्थामा छ। यही कारण बितेका ३०–४० वर्षको अवधिमा उपत्यकाले धेरैजसो हरियाली र खुलापन गुमाएको अनुमान विज्ञहरूको छ।’

सहरी विकास मन्त्रालयले हालै उपत्यकाको चार कुनामा एक लाख ३० हजार रोपनी जग्गामा स्मार्ट सिटी बनाउने योजना पनि अघि सारिसकेको छ। सरकारको कतिपय कदमले उपत्यकाको वरिपरि रहेको जंगल र जमिन पनि मासिने गरेका छन्। यस्तै नियति रहिरहे अबको केही वर्षमै उपत्यका बस्नै नमिल्ने सहरको रूपमा परिणत हुने वातावरणविद् भूषण तुलाधरले जानकारी दिए।

‘उपत्यकाको पर्यावरणले विस्तारै आफ्नो पुरानो मौलिकपन गुमाउँदै यस्तो असर सिधै मानव जीवनमा नै पर्ने देखिन्छ,’ उनले भने, ‘उपत्यकाको गुमेको हरियाली फर्काउन नयाँ बिरुवा मात्रै रोपेर हुँदैन, तिनको संरक्षण पनि गरिनुपर्छ, अहिले भइरहेको सहरीकरणको क्रममा हरियाली बचाउन सकिएन भने उपत्यका पूरै मरुभूमीकरण हुन्छ, यसको असर घुम्दै–फिर्दै मावन स्वास्थ्यमै देखिन्छ।’ उनका अनुसार उपत्यकाभित्र बग्ने बाग्मती–विष्णुमती, मनहरा, भाटाखुशी, हनुमन्ते, टुकुचा, बल्खु, सपनातीर्थसहित १३ नदी छन्।

सन् १९७६ मा केभिन केलीले खिँचेका काठमाडौंको तस्बिर।    स्रोतः फ्ल्यासब्याक डटकम

यी नदी पनि राज्यकै बेवास्ता र कमजोरीका कारण संकटमा पर्दैछन्। केही नदी सुकिसकेका छन् भने केहीमा मात्रै ढल मिसावट भएको पानी बग्ने गरेको छ। नदीहरूलाई पहिलेकै प्राकृतिक बहावमा ल्याउन सके यहाँको पर्यावरण पनि राम्रो हुने वातावरणविद् तुलाधरको भनाइ छ। उनले उपत्यकाभित्र मानव सभ्यताको इतिहास बोकेका नदी भएकाले त्यसतर्फ राज्यका हरेक निकायको चासो पुग्नुपर्नेमा जोड दिए। ‘उपत्यकाको वरिपरि रहेका जग्गा र जंगल पनि नष्ट हुन थालेका छन्, नदीले ओगटेको जग्गामा घर बनाउँदा वर्षात्को बेला नदीले अर्को विपत्ति निम्त्याउन सक्छ,’ उनले भने, ‘त्यसकारण यसबारे समयमै संयमित भएर अघि बढ्न जरुरी छ।’

उपत्यका २ सय ५० वर्ग माइल क्षेत्रभित्र रहेको छ। ज्ञानभूमि, तपोभूमि र देवभूमिका रूपमा रहेको यो उपत्यकालाई अव्यवस्थित बसोबास र विकासका नाममा गरिएको विनासले मरुभूमिमा परिणत गर्न लागिएको उपत्यकालाई कंक्रिट सहर हुनबाट जोगाउने विषयमा वकालत गर्दै आएका पदम श्रेष्ठले बताए। उनले यसबार सरोकारवाला निकायले चासो दिनुपर्ने बताए। 

संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीले पनि उपत्यकाले पुरानो सुन्दरता गुमाइसकेको बताए। उनले आजभन्दा ४०–५० वर्ष पहिलेको उपत्यकालेसम्म आउँदा मौलिक कुरा धेरै गुमाएको जानकारी दिए। ‘५० वर्षअघि उपत्यकाको जीवनशैली लगभग ग्रामीण नै थियो, अहिलेका जस्ता अग्ला भवन थिएनन्। हाल सिमेन्टका घर ठडिएका ठाउँमा उतिबेला धान, मकै, कोदो, फापर, तोरीलगायत अन्न उब्जाउ हुन्थ्यो। मानिस उता गएर बसे पनि ठाउँहरू खाली थिए, ठुल्ठूला चौर थिए,’ पुरानो उपत्यकालाई स्मृति गर्दै जोशीले भने, ‘पुरानो काठमाडौं सम्झँदा रुन मन लाग्छ। समय परिवर्तनसँगै पुराना बस्ती मासिए, ती सहरीकरण गर्दागर्दै पनि हामीले एकरूपता दिन सकेको भए राम्रो हुन्थ्यो। तर, नीति निर्माता तहमा हुनेले सहरको भविष्य नै सोचेनन् जसका कारण उपत्यकाले पुरानो मौलिकता र खुलापन गुमायो।’ 

उनका अनुसार अहिले गगन चुम्ने भवन बनेका कारण उत्तर र पूर्वका सेता हिमाल देखिने हिमालका दृश्य ढाकिएका छन्। जताततैका खुला चउर, पुराना शैलीका बुट्टेदार झ्याल भएका घर, स्वच्छ हावापानी, मूल, इनार र खोलाको चिसो पानी, विषादी प्रयोग नभएको अर्गाण्निक खेतीपाती उपत्यकाले गुमाइसकेको छ। जोशीको भनाइमा २००५ सालतिर उपत्यकामा जम्मा ५ लाखको हाराहारी जनसंख्या थियो। त्यति जनसंख्या हुँदा काठमाडौंको सुन्दर देखिन्थ्यो। देशको राजधानी र सबैखाले सेवा सुविधा भएका कारण उपत्यका बाहिरका मानिसको बाक्लो बसाइँसराइका कारण उपत्यका मरुभूमिमा परिणत भएको मान्न सकिन्छ।

‘म युवा अस्थामा छँदा रानीपोखरीदेखि त्रिपुरेश्वरसम्म एउटै चौर थियो। सुन्धारा क्षेत्रमा तीन वटा ढुंगेधारा थिए। ढुंगेधारामा पल्टनेहरू लुगा धुने तथा नुहाउने गर्थे,’ उनले विगतलाई सम्झँदै भने, ‘अहिले दशरथ रंगशाला भएको ठाउँमा पहिले दुई वटा कमलका पोखरी र खरीका बोट थिए। काठमाडौंको छाउनी, कालोपुल, लैनचौर, सुन्धारा क्षेत्रमा यहाँका स्थानीयले गाई चराउँथे। अहिले सबैको नामो निशाना छैन। पुरानो सहरको सुन्दरता पूरै गुम्यो। काठमाडौं सहर अस्तव्यस्त र मरुभूमिको सहर जस्तै बन्न पुग्यो।’ जोशीले पुरानो उपत्यकालाई अब फर्काउन नसकिने भए तापनि  अहिले भइरहेको विकास निर्माणका क्रममा हरियाली नमास्न र मौलिकता जोगाउन आग्रह गरे।  






यसमा तपाईको मत


अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

Ncell Footer Ad