८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

किम जोङ–नामको हत्या आरोपी भियतनामीलाई रिहा गर्न अस्वीकार

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनका सौतिनी दाइ किम जोङ–नामको हत्या आरोपमा मलेसियाली थुनामा रहेकी भियतनामी महिला डोन थि हौङ (बीचमा)। तस्बिर : एजेन्सी

क्वालालाम्पुर – उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनका सौतिनी दाइ किम जोङ–नामको हत्या गरेको आरोपमा मलेसियाली थुनामा रहेकी भियतनामकी महिला तत्काल रिहा नहुने भएकी छन्।

भियतनामी महिला डोन थि हौङलाई रिहा गर्न आग्रहसहित दर्ता गरिएको निवेदनको जबाफमा अदालतका अधिकारीहरुले रिहा गर्न अस्वीकार गरेका हुन्। सोही मुद्दामा उनीसँगै थुनामा रहेकी अर्की इन्डोनेसियाकी एक महिलालाई गत सोमबार रिहा गरिएको भए पनि भियतनामी महिलालाई भने रिहा नगरिने भएको हो।

भियतनामी महिलालाई रिहा नगर्ने अदालतको घोषणापछि अब सो मुद्दाले निरन्तरता पाउने भएको छ। सन् २०१७ को फेब्रुअरीमा मलेसियाली राजधानी क्वालालाम्पुरस्थित विमानस्थलमा किम जोङ–नामको मुखमा ‘भिएक्स नर्भ एजेन्ट’ भनिने विषालु पदार्थ दलिदिएको आरोपमा हौङ र अर्की इन्डोनेसियाकी महिला सिती अल्स्यानलाई थुनामा राखिएको थियो।

अदालतको निर्णय सुनेपछि अदालत परिसारमा रुँदै हौङ्ले भनिन्, ‘म तनाबमा छु। म निर्दोष छु। मलाई यो घटनाका बारेमा थाहा छैन। मेरा लागि परिवारले प्रार्थना गरिदिऊन्।’ इन्डोनेसियाकी अल्स्यान र भियतनामकी हौङ दुवैले हत्याको आरोप अस्वीकार गर्दै आएका छन्। उनीहरूले एउटा टेलिभिजन प्रयांक कार्यक्रमका लागि आफूहरू त्यहाँ गएको दाबी गरेका छन्।  

मकाउ जाने विमान कुरेर क्वालालाम्पुर विमानस्थलमा बसेका बेला किममाथि आक्रमण भएको थियो। आक्रमणको २० मिनेटमै उनको मृत्यु भएको थियो। क्वालालाम्पुर विमानस्थलको सिसिटीभी दृश्यमा एक महिला किमतिर गएको र विमानस्थलको प्रस्थान क्षेत्रमा दुई महिला गएको देखिएको छ। त्यसपछि उनीहरूमध्ये एक जनाले किमको अनुहारमा हात राखेको र दुवै जना तत्कालै त्यहाँबाट भागेको दृश्य भिडियोमा देखिएको छ।

प्रकाशित: १ चैत्र २०७५ ०४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App