coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पद्मकन्या क्याम्पसमा महिला प्रमुख हुनुपर्ने माग

काठमाडौं – त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पद्मकन्या क्याम्पसको प्रमुख नियुक्तिमा विभेद भएको आरोपमा विश्वविद्यालयका महिला प्रध्यापक, महिला कर्मचारी तथा छात्राहरु आन्दोलनमा उत्रेका छन्। उपकुलपतिको दबाबमा सर्च कमिटिले वरिष्ठता र योग्यतालाई बेवास्ता गर्दै नियम मिचेर आफू निकटका प्राध्यापकलाई च्यापेर उनको नाम सिफारिस गरेपछि महिला शिक्षक, कर्मचारी तथा छात्रा आन्दोलनमा उत्रेका पद्मकन्याकी प्राडा मनसा थापा ठकुराठीले बताइन्।

आन्दोलनको क्रममा बिहीबार रजिष्ट्रार र रेक्टरको कार्यकक्षमा तालाबन्दी गरिएको छ भने गत सोमबार नै उपकुलपति कार्यलय तथा पद्मकन्या क्याम्पस प्रमुखको कार्यालय र प्रशासनमा तालाबन्दी गरिएको छ। पद्मकन्या कलेज प्रमुख सर्च कमिटीले पहिलो नम्बरमा उपकुलपतिकै इशारामा प्राध्यापक धनप्रसाद पण्डित, दोस्रो नम्बरमा उपप्रध्यापक सुरेश आचार्य र तेस्रो नम्बरमा सह प्राडा जया प्रधानको नाम सिफारिस गरिएपछि महिला शिक्षक तथा छात्रा आक्रोषित बनेका हुन्। ‘सिफारिस गरिएकामध्ये योग्यता, क्षमता तथा वरियताको आधारमा जया म्याम एक नम्बरमा पर्नु हुन्छ। उहाँ आइएदेखि स्नातकोत्तर तहसम्म स्वर्ण पदक विजेता हुुनुहुन्छ,’ प्राडा ठकुराठीले भनिन्, ‘सर्च कमिटिले विभन्न समयमा कारबाहीका लागि सिफारिसमा परेका व्यक्तिलाई समेत कलेज प्रमुखमा सिफारिस गरेको देख्दा हामी अचम्म परेका छौं। २०७२ को संविधानले समेत राज्यको हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरिसकिएको छ। त्रिविमा धेरै सक्षम महिला प्रध्यापक छन्। तर पनि उपकुलपतिले धनप्रसाद पण्डितलाई नै च्यापेर प्रमुख बनाउन लाग्नु भएकाले हामी आन्दोलनमा उत्रेका हौं।’

पद्मकन्या पूर्व स्ववीयु उपसभापति तुलसा पन्तले देशको एक मात्र छात्राहरु पढाउने कलेजमा समेत महिला प्रमुख नियुक्त हुनुपर्ने बताइन्। ‘त्रिविको ६१ आंगिक क्यामसमध्ये रत्नराज्य र नर्सिङ क्याम्पस महाराजगञ्जमा मात्र महिला प्रमुख छन्,’ पन्तले भनिन्, ‘२० वटा कलेजमा महिला प्रमुख हुनुपर्नेमा २ वटामा मात्र महिला र अरु सबैमा पुरुष नै प्रमुख हुन महिलामाथिको विभेद हो। त्रिविले ३३ प्रतिशत महिला प्रमुख नगरे त्रिविको विरुद्ध हामी अदालत जानेछौं।’

‘त्रिवि नियमअनुसार सेवा अवधि ४ वर्षभन्दा घटीलाई कलेज प्रमुख बनाउने व्यवस्था छैन। प्रस्तावित पण्डितको सेवा अवधि ३ वर्ष ४ महिाना मात्र छ,’ उपप्राध्यापक विमला नेपालले भनिन्, ‘पटकपटक कारबाहीका लागी त्रिविले नै पत्र काटेको र सेवा अवधि कम भएकालाई प्रमुख बनाए पठनपाठन नै पार्नेछौं।’ उनले थपिन्, ‘त्रिविमा मर्यादा क्रम र वरिष्ठता मिचियो भने त्यो असह्य हुन्छ।’ कलेजको सञ्चालक समितिमा ३६ सदस्यमध्ये ६ जना मात्र महिला रहेको बताउँदै उनले सो समिति समेत भंग गर्नुपर्ने बताइन्। उनले उपकुलपतिको दमन र बौद्धिक क्षेत्रमा महिलामाथि भइरहेको शोषणविरुद्दको आन्दोलनबारे विश्वविद्यालयको कुलपति एवं प्रधानमन्त्रीलाई समेत शुक्राबार जानकारी गराइने बताइन्। ‘हामी महिला शिक्षक, कर्मचारी तथा विद्यार्थीहरु ४ दिनदेखि आन्दोलनमा छौं तर पनि उपकुलपतिले हाम्रो मागलाई बेवास्ता गर्दै आउनु भएको छ,’ उनले भनिन्, ‘अब त्रिविका आंगिक कलेजमध्ये ३३ प्रतिशतमा महिला प्रमुख नियुक्ति हुनुपर्ने हाम्रो माग हो।’ छात्राहरुको पठनपाठन गराउँदै आएको पद्मकन्या कलेजको स्थापना कालमा अंगुरबाबा जोशी कलेज प्रमुख भएकी थिइन्। सो पश्चात कलेजमा ८ जना महिला प्रमुख भइसकेका छन्

प्रकाशित: १ चैत्र २०७५ ०३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App