६ वैशाख २०८१ बिहीबार
राजनीति

विप्लव नेकपाको बन्द अराजक

दिलबहादुर छत्याल/अशोकसुजन श्रेष्ठ
धनगढी/मकवानपुर

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले बिहीबार कैलालीको गौरीगंगा नगरपालिका, बडैपुरमा बुधबार राति १ बजे जन्ती बसमा आगो लगाइदिएका छन्। सो पार्टीका कार्यकर्ताले मकवानपुरमा गुडिरहेको ट्रकमा आगो लगाइदिएका छन्।

कैलालीको भजनी नगरपालिकाकाको भजनीमा दुलहीसहित जन्ती पु¥याएर फर्किरहेको म१ख ४४१ नम्बरको बसमा सो पार्टीका कार्यकर्ताले आगो लगाइदिएको प्रहरीले जनाएको छ। बसमा आगो लगाउनुअघि करिब १० जनाको समूहमा रहेका उनीहरूले रोइनाको रुख ढालेर सडक अवरुद्ध पारेका थिए। बस धनगढीबाट दुलहीसहित जन्ती लिएर भजनी गएको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाका अनुसार बसमा ब्यान्डबाजाका १० जना र चालक र सहचालक दुई गरी १२ जना थिए। उनीहरूलाई जबरजस्ती झारेर बसमा आगो लगाइएको उनले बताए। विप्लव नेतृत्वको नेकपाले बिहीबार नेपाल बन्द आह्वान गरेको थियो। जनतालाई तर्साएर नेपाल बन्द गराउन सो पार्टीका कार्यकर्ताले बसमा आगो लगाएको प्रहरीको भनाइ छ। ‘विवाहमा गएका ब्यान्डबाजाका १० तथा चालक र सहचालकलाई ओरालेर म१ख ४४१ नम्बरको बसमा ८–१० जनाको समूहले डिजेल छर्केर आगजनी गरेका हुन्’, प्रहरी उपरीक्षक तिम्सिनाले भने। उनका अनुसार आगो लगाउने विप्लव नेकपाका कार्यकर्ता हुन्। सवारी साधनलाई प्रहरीले स्कर्टिङ गर्ने भने पनि जानकारीबिनै राति बस चलाइएकाले यस्तो घटना भएको उनले बताए।

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बसमा आगो लगाएपछि उनीहरु जंगलतिर भागेको प्रहरीले बताएको छ। भजनीमा जन्ती पु¥याएर बस महेन्द्रनगर फर्किरहेको तिम्सिनाले बताए। ‘आगजनी गर्नेको खोजी भइरहेको छ’, उनले भने।

बसमा आगजनी अराजक काम
जन्त गएर फर्केको बस बाटोमा रोकेर आगजनी गर्नु अराजक काम भएको मानवअधिकारकर्मीले बताएका छन। इन्सेकका क्षेत्रीय संयोजक खडक राज जोशीले रातिमा यात्रु ओरालेर बसमा आगजनी गर्नु अराजक काम भएको बताए। ‘यो ज्यादती होे,’ उनले भने,‘जसका विरुद्ध आन्दोलन र बन्द हो, उसैलाई महसुस हुने गतिविधि गर्नुप-यो, अरुलाई दुःख दिने काम गर्नुभएन।’

सुदूरपश्चिम प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले पनि बसमा आगो लगाउनु अराजक भएको बताए। ‘आन्दोलन गरेर, जुलुस निकालेर दबाब दिन सकिन्छ। व्यक्तिगत सम्पत्तिमा आगगनी गर्नु, सर्वसाधारणलाई दुःख दिनु राम्रो होइन’, उनले भने, ‘यस्तो कामको जति निन्दा गरे पनि कम हुन्छ।’ यसैगरी विवेकशील साझा पार्टीका सुदूरपश्चिम प्रदेश सहसंयोजक दिनेश भण्डारीले बसमा आगजनी गर्नेलगायत सर्वसधारणलाई दुःख दिने काम अराजक भएको बताए।

‘गाईको लडाइँ बाच्छाको मिच्याइँ जस्तै सर्वसधारणलाई मारमा पार्ने काम हुनु भएन’, उनले भने, ‘बन्द गर्ने, अगाजनी, तोडफोड गर्ने काम बन्द गरिनुपर्छ।’ नेकपा सुदूरपश्चिम प्रदेश कमिटी कार्यालयका सचिव दिनेशचन्द्र सुवेदीले पनि विवाहबाट फर्किरहेको बसमा आगजनी गर्ने काम अराजक र निन्दनीय भएको बताए। ‘संविधानले शान्तिपूर्ण रुपमा सभा, सम्मेलन गर्ने अधिकार दिएकै छ’, उनले भने, ‘बन्द, अगाजनी र तोडफोड गर्ने काम अराजक हुन्।’

यसैगरी सो पार्टीका कार्यकर्ताले बिहीबार बन्दको अवज्ञा गरेको भन्दै जिल्लाको साढेपानीमा एउटा ट्रक तोडफोड गरेका छन्। प्रहरीले बन्द आह्वान गर्दै हिँडिरहेका तीनजनालाई गोदावरी नगरपालिकाको गोदावरीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुर दैजीका कोषराज भट्ट, कञ्चनपुर भीमदत्त नगरपालिकाका सुशील चन्द र डोटी बिपीनगरका धनबहादुर बम छन्। ‘पहाडतिरबाट तराई आइपुगेका गाडी जलाइदिन्छौं भनेर रोकिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको हो’, प्रहरी उपरीक्षक तिम्सिनाले भने ।

नेपाल कम्युनिस्ट पार्टी कैलालीका इन्चार्ज विवेक कुमालले भने पक्राउ तीनैजना आफ्नो पार्टीको कुनै पनि संगठनमा आबद्ध नरहेको बताएका छन। उनले जन्ती बसमा आगो लगाउने कार्यमा आफ्नो पार्टीका कार्यकर्ता संलग्न भएनभएको यकिन भइनसकेको बताए।

बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भयो। प्रदेश राजधानी धनगढी, अत्तरियालगायतका बजार पूर्ण रुपमा बन्द रहे। लामो तथा छोटो दूरीका सवारी साधन चलेनन्। शिक्षण संस्था पनि बन्द रहे। विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले बिहीबार बन्दका क्रममा हेटौंडाको बस्तीपुरमा गुडिरहेको ट्रकमा ढुंगाा प्रहार गरेका छन्। ढुंगा प्रहारबाट चालक सामान्य घाइते भएका छन्। ना६ख ७३६९ नम्बरको मालबाहक ट्रकलाई लक्षित गरी ढुंगा प्रहार गर्दा चालक युवराज सुवेदी घाइते भएको मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए। सो पार्टीका कार्यकर्ताले बुधबार बेलुका थाहानगर ४ मा एक ट्रकमा आगो लगाइदिएका थिए। आगजनीबाट काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना५ख ७४११ नम्बरको ट्रकको अगाडिको भाग जलेको प्रहरीले जनाएको छ।

नेपाल बन्दका कारण प्रदेश ३ को राजधानी हेटौंडा बजार पूर्णरुपमा बन्द भयो। हेटौंडास्थित सरकारी कार्यालयहरु खुले पनि बजार र हेटौंडा औद्योगिक क्षेत्र र बाहिरका अधिकांश उद्योग, शैक्षिक संस्था बन्द रहे। लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन नभए पनि मोटरसाइकल, अटो, रिक्सा चलेका थिए।

प्रकाशित: १ चैत्र २०७५ ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App