६ वैशाख २०८१ बिहीबार
समाज

विप्लव बन्दको प्रभाव हेटाैंडामा पनि, ट्रकमा आगजनी

मकवानपुर - विप्लव समूहको नेकपाले आह्वान गरेको नेपाल बन्दका कारण प्रदेश ३ को राजधानी हेटौंडा बजार पूर्ण रूपमा बन्द रहेको थियो।

हेटौंडास्थित सरकारी कार्यालय खुले पनि बजार र हेटौंडा औद्योगिक क्षेत्र र बाहिरका अधिकांश उद्योग, शैक्षिक संस्था बन्द रहे। बन्दका कारण लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन नभए पनि मोटरसाइकल, अटो, रिक्सा निर्बाध रुपमा सञ्चालन भएका थिए।

बन्दका कारण बिहीबारबाट हुने हेटौंडा नगरस्तरीय परीक्षा स्थगित गरिएको छ। कक्षा ४, ५, ६, ७ र ९ को नगरस्तरीय परिक्षा स्थगित गरिएको नगरस्तरीय शैक्षिक समन्वय समितिले जनाएको छ।

हेटौंडा उपमहानगरपालिका ९ पशुपतिनगरस्थित पूर्वपश्चिम राजमार्ग नजिकै शंकास्पद वस्तु फेला परेको थियो। सेतो प्लाष्टिकको झोलाले बेरिएको वस्तु भेटिएपछि सेनाको टोलीले परीक्षण गर्दा बम नभएको पाइएको प्रहरीले जनाएको छ।

त्यस्तै, पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडाको वस्तीपुरमा गुडिरहेको ट्रकमा ढुङ्गा प्रहार हुँदा चालक सामान्य घाइते भएका छन्। ना६ख ७३६९ नम्बरको मालबाहक ट्रकलाई लक्ष्य गरी ढुङ्गा प्रहार भएको थियो। उक्त ढुंगा लागेर चालक युवराज सुवेदी सामान्य घाइते भएका मकवानपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए। 

बुधबार बेलुका जिल्लाको उत्तरी क्षेत्र थाहानगर ४ मा ट्रकमा आगजनी गरेका थिए। काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना५ख ७४११ नम्बरको ट्रकको अगाडिको भाग जलेको प्रहरीले जनाएको छ। जनधनको क्षति हुन नदिन र शान्ति, सुरक्षा कायम गर्न भन्दै बजार क्षेत्रमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो।

प्रकाशित: ३० फाल्गुन २०७५ १४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App